जोनसन एन्ड जोनसन खोपको १५ लाख डोज आइपुग्यो

मेचीकाली संवाददाता

२८ असार २०७८, सोमबार
559 shares

काठमाडौं । अमेरिकाले उपलब्ध गराएको जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा काठमाडौं आइपुगेको छ । केहीबेरअघि खोप काठमाण्डौ आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराइएको खोप औपचारिक कार्यक्रम गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्दैछ ।

यो खोप एक मात्रा मात्रै लगाउँदा पुग्छ । यसअघि चीनबाट खरिद गरिएको ८ लाख मात्रा भेरोसेल खोप आइसकेको छ । चीनबाटै थप आठ लाख खोप आउँदो शुक्रवारसम्म ल्याउने तयारी छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट आउँदै गरेको जोनसोन खोप के कसरी वितरण गर्ने भनेर सरकारले निर्णय गरिसकेको छैन ।

यसअघि निर्धारण गरिएको प्राथमिकताको आधारमा ६० वर्षमुनि उमेर समूहकालाई भेरोसेल खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । अमेरिकाबाट नेपालले पाउने जोनसन एन्ड जोनसनको खोप भने वैदेशिक रोजगारीमा जान सुनिश्चित भएका कामदार, शिक्षकसहित अग्रपङ्क्तिमा खटिने पेसाकर्मी र ५० देखि ५५ वर्षको उमेरसमूहलाई दिन प्रस्ताव गरिएको छ ।

यसबारे केही दिनभित्रै निर्णय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।