हैजा फैलिएको क्षेत्रमा खोप लगाइने

मेचीकाली संवाददाता

१ मंसिर २०७८, बुधबार
909 shares

कपिलवस्तु । कपिलवस्तुमा फैलिएको हैजालाई रोकथाम गर्न जिल्लामा मंसिर ५ गतेदेखि हैजाविरुद्धको खोप लगाउन अभियान सञ्चालन गरिँदै छ । भविष्यमा हुने प्रकोपको जोखिम कम गर्न तथा रोकथाम गर्न जिल्लाको हैजा प्रभावित क्षेत्रहरुमा हैजाविरुद्धको ओरल कोलेरा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकारसंगको अन्तत्र्रिmया कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले हैजाबाट सुरक्षित हुन र सम्भावित मृत्युलाई रोक्नका लागि मंसिर ५ गतेबाट जिल्लाको यशोधरा गाउँपालिकाबाट ओरल कोलेरा खोप लगाउन सुरु गरिने बताए । अन्य ४ स्थानीयतहहरु कृष्णनगर, महाराजगञ्ज, शिवजराज नगरपालिका र विजयनगर गाउँपालिकामा मंसिर ७ गतेदेखि १२ गतेसम्म खोप अभियान सञ्चालन हुने प्रमुख पाण्डेले बताए ।

जिल्लाका ५ स्थानीयतहका लागि २ लाख ५२ हजार ३ सय ६३ ओरल कोलेरा खोप आउन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेले बताए । कृष्णनगर नगरपालिकाकालाई ६० हजार ७ सय ४३, महारागञ्ज नगरपालिकालाई ५३ हजार १ सय ५६, शिवराज नगरपालिकालाई ६४ हजार ७ सय ४८, बिजयनगर गाउँपालिकालाई ३५ हजार ९ सय ३ र यशोधरा गाउँपालिकालाई ३७ हजार ७ सय ८३ जनालाई खोप लगाइने छ ।
पाँच स्थानीयतहका ९० प्रतिशत नागरिकहरुलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिए । रोग फैलिन नदिनका लागि खोप सञ्चालन गरिने सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थामा आबद्ध प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी अगुवाहरु, शिक्षकहरु, युवा सञ्जालहरु, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम् सेविकाहरु र संचारकर्मीहरुको सकारात्मक भूमिका रहन आवश्यक रहेको छ ।

यो खोपको प्रभावकारिता ६५ प्रतिशत रहेको छ । खोपसंगै सरसफाइका क्रियाकलापहरुलाई नियमित गर्नुपर्दछ । खोपको प्रभावकारिता ५ वर्षसम्म रहने भएको हुँदा ढुक्कसंग सबैले खोप लिई रोगबाट सुरक्षित रहनसमेत जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हैजाका कारण जिल्लामा ६ जनाले ज्यान गुमाएका छन् ।