नेपालमा पनि ओमिक्रोनको संक्रमण पुष्टि

मेचीकाली संवाददाता

२० मंसिर २०७८, सोमबार
726 shares

बुटवल । नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंसिर ३ गते त्रिभुवन विमानस्थलमा आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय वृद्धमा ओमिक्रोन देखिएको हो । दुबै जना विदेशी नागरिक हुन् । उनीहरू दुबै जना अहिले आइसोलेसनमा छन् उनीहरूको सम्पर्कमा आएका ६६ जनाको पिसिआर परीक्षण गर्दा कसैलाई पनि संक्रमण देखिएको छैन ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिएन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ । यो भेरिएन्ट अत्यधिक उत्परिवर्तित भएको भनिएपनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे बैज्ञानिकहरू अझैसम्म स्पष्ट भइसकेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरूले यसबाट नआत्तिन तर सचेत रहन आग्रह गरेका छन् ।

विश्वका धेरै देशहरूले दक्षिण अफ्रिकासहित ओमिक्रोन भेटिएका देशहरूमा यात्रा प्रतिबन्ध लगाएका छन् । नेपालले पनि दक्षिण अफ्रिकाबाट नेपाल आउन रोक लगाएको छ । नेपालमा ३५ प्रतिशतले एक मात्रा र २८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् ।