सर्वोच्चको आदेश विरूद्ध युवासंघको बुटवलमा प्रदर्शन

मेचीकाली संवाददाता

२८ असार २०७८, सोमबार
576 shares

बुटवल । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको आदेशको विरोधमा युवा संघ नेपालले बुटवलमा प्रदर्शन गरेको छ । उनीहरूले अदातलको आदेश मान्दैनौं, गैर संवैधानिक परमादेश खारेज गर्न माग गर भन्दै राजमार्ग चौराहामा प्रदर्शनमा उत्रिएका हुन् ।

सो अवसरमा बोल्दै युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमन पुरीले देशलाई अस्थिरतातर्फ धकेल्ने गरी सर्वोच्चको आदेश आएको भन्दै स्वीकार्य नभएको बताए । त्यस्तै अनेरास्ववीयूका रुपन्देहीका संयोजक साजन भण्डारीले देश फेरि अस्थिरताको दुस्चक्रमा फस्ने खतरा भएको भन्दै आदेश गलत भएको बताए ।

युवा संघ जिल्ला संयोजक मनोज गौचनले सर्वोच्चको फैसला मान्य नहुने भन्दै त्यसको विरोधमा प्रदर्शनमा उत्रिएको बताए । ‘गैरसंवैधानिक परमादेश’ खारेज गर्न माग गर्दै ओली समर्थकले प्रदर्शन गरेका थिए । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनःस्थापित भएको छ ।