लेडिज तथा जेन्स ज्याकेट सिलाउने निशुल्क तालिम सम्पन्न

मेचीकाली संवाददाता

३० असार २०७८, बुधबार
837 shares

पार्बती आचार्य
कपिलबस्तु असार २९
महिलाहरुलाई लेडिज तथा जेन्स ज्याकेट सिलाउने निशुल्क तालिम सम्पन्न भएको छ । आर्थिक बर्ष ०७७÷०७८ को महिला लक्षित कार्यक्रम बिपन्न , एकल महिला शसक्तिकरण तथा प्रबन्धक कार्यक्रम अन्तरर्गत बाणगंगा नगरपालिका वडा नं. ४ मा १५ दिने तालिमको समापन गरिएको छ । उपभोक्ता समिती वडा नं. ४ को समन्वय तथा बाणगंगा नगरपालिका वडा नं. ४ को वडा कार्यालयको आयोजना रहेको कार्यक्रममा वडाका २५ जना बिपन्न तथा एकल महिलाहरुले ज्याकेट बनाउने तालिम लिएका हुन ।


महिलाहरुलाई शसक्तिकरण बनाउन वडाले हरेक बर्ष फरक किसिमका तालिमहरु संचालन गर्दै आएको छ । बिगतका बर्षहरुमा महिलाहरुको लागि क्रिष्टलका चुरा , पोते , जुत्ता , डलकुशन र सिलाईकटाईको तालिम संचालन गरेको वडाले अहिले भने ज्याकेटको तालिम संचालन गरेको हो । आर्थिक अभावका कारण महिलाहरुले हिंसा खेप्न नपरोस र तालिम पश्चात ब्यबसाय संचालन गर्न सक्नेछन् भन्ने उद्देश्यले तालिम संचालन गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथी तथा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले तालिममा सिकेको सिपलाई ब्यबहारमा ल्याई ब्यबसायी बन्न सहभागिहरुलाई आग्रह गरे । उनले सिप र शिक्षाको उत्तिकै महत्व भएको हुँदा महिलाहरुले क्षमतालाई अगाडी बढाउन सके बिभिन्न हिंसा खेप्न नपर्ने बताए ।


यस्तै कार्यक्रमका बिशिष्ट अतिथी तथा उपभोक्ता समन्वय समितीका संयोजक रुपा गुरुङ् राईले सिप संगै सामाग्रीहरुको समेत ब्यबस्थापन हुन आबश्यक भएको बताईन् । गार्बेनको ब्यबस्था गरेर ब्यबसायीहरुले उत्पादन गरेका सामाग्रीहरुले बजार पाउन सक्यो भने मात्र नगरका बिपन्न एकल महिलाहरु सक्षम हुने बताईन् । उनले पन्ध्र दिनको सिपले मात्र नपुग्ने भएको हुँदा दक्ष ब्यबसायी बनाउन वडाले थप तालिमको ब्यबस्था गर्न वडा अध्यक्ष तथा मेयर समक्ष आग्रह गरिन् ।
महिला तथा बालबालिका शाखा प्रमुख शुशिला पन्तले तालिमले एउटा बाटो मात्र देखाउने भएको हुँदा तालिम पश्चात ब्यबसायी बन्छु भन्ने हिम्मत लिए ब्यबसायलाई अगाडी बढाउन सकिने बताईन् । ब्यबसाय गर्दा डिजाईन अनुसारका सामाग्रीहरु उत्पादन गरे कहिल्यै घाटा खेप्न नपर्ने उनले बताईन् ।
बुद्धदर्पण दैनिकका सम्पादक पार्बती पाण्डेले सिपले महिलालाई आत्म निर्भर बनाउने भएको हुँदा सिपलाई निरन्तरता दिनुपर्ने बताईन् । यस्तै ईन्सेक जिल्ला प्रतिनिधी पार्बती आचार्यले वडा नं. ४ ले प्रत्येक बर्ष संचालन गर्ने फरक किसिमका तालिमले महिलाहरुलाई उद्यमी बन्ने उर्जा दिएको बताईन् । उनले ब्यबसायीहरुले उत्पादन गरेका हरेक सामाग्रीहरुको ब्यबस्थापनका लागि नगरमा महिला गार्बेन संचालन गर्न सके अन्य महिलाहरुले समेत रोजगारी प्राप्त गर्न सक्ने बताईन् ।
यसैगरी गजेहडा टोल बिकास संस्थाका अध्यक्ष भोजराज आचार्य र ठाकुरापुर टोल बिकास संस्थाका पुर्ब अध्यक्ष कमल पराजुली लगाएतले तालिमका सहभागिहरुलाई शुभकामना दिंदै सिकेको सिपलाई ब्यबहारमा उतार्न आग्रह गरे ।
सहभागिको तर्फबाट रेखा थारुले सिपसंग संगै साधनको पनि उत्तिकै आबश्यकता भएको बताईन् । वडाले हरेक बर्ष महिलाहरुलाई शसक्तिकरण बनाउन बिभिन्न तालिमहरु संचालन गरी सिप दिएकोमा धन्यबाद दिंदै माछा मार्न सिकाए पछि बल्छीको ब्यबस्था नगरी दिएमा तालिम अधुरो हुने बताईन् । उनले वडा अध्यक्ष र मेयर लाई पन्ध्र दिनको तालिमले नपुग्ने भएको हुँदा तालिम थप गरी पुर्ण गरिदिन अनुरोध गरिन् ।


यस्तै महिला उद्यमी सहभागि राधिका क्षेत्रीले तालिमको अनुभव सुनाउँदै वडाले आफूलाई सिप दिएर आत्म निर्भर बनाएको बताईन् । क्रिष्टल चुरा , पोते , जुत्ता , डलकुशन बनाउने लगाएतका तालिमबाट धेरै अनुभव सुनाउँदै एउटा मात्र डिजाईले बजार भाउ नदिंदा उत्पादन गरेका सामाग्रीहरुबाट घाटा समेत सहन परेको अनुभव सुनाईन् ।
तालिममा सहभागिहरुलाई नगर प्रमुख मंगल प्रसाद थारु द्वारा प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उद्यमी ५ जना ब्यबसायीहरुलाई पुरस्कार स्वरुप जुत्ता सिलाउने १ वटा मेसिन हस्तान्तरण गरिएको छ । सो तालिममा २५ जना महिलाहरुलाई प्रशिक्षक मनिता नेपाली सह प्रशिक्षक कृष्ण बहादुर सुनारले सिप सिकाएका थिए ।
कार्यक्रम वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षता , वडा महिला ददित सदस्य अस्मिता नेपालीको स्वागत तथा महिला वडा सदस्य ईन्दीरा पन्तको संचालनमा तालिमको समापन कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा वडा सदस्य चित्र बहादुर खाण , ऋषीराम थारु, ७ वटै टोल बिकास समितीका बर्तमान र निबर्तमान पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।