लमही अस्पतालमा डिजिटल एक्सरे सेवा शुरु

मेचीकाली संवाददाता

५ श्रावण २०७८, मंगलवार
826 shares

कपिलबस्तु साउन ५

दाङ्ग जिल्लाको लमही अस्पतालमा आइतवार देखि डिजिटल एक्सरे ( डिआर ) संचालनमा आएको छ । यो डिजिटल एक्सरे (डिआर) प्रविधि देउखुरी क्षेत्रमै पहिलो हो । यस अघि अस्पतालमा डिजिटल एक्सरे नहुँदा बिरामीले निजि मेडिकलमा गएर महँगो शुल्क तिरेर सेवा लिनु पर्दथ्यो ।
देउखुरी क्षेत्रमै एक भरपर्दो अस्पताल नहुँदा यहाँका बिरामीले सास्ती भोग्दै आउनु परेको छ । डिजिटल एक्सरे संचालनमा आएपछि अन्यत्र जानु पर्ने बाध्यता भने टरेको छ । डिजिटल एक्सरे मेसिनको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी र उपप्रमुख देवका बेलबासेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


पछिल्लो समय यता लमही अस्पतालको सेवाले बिस्तारै गति लिन थालेको छ । जनप्रतिनिधि आउनुपुर्व लथालिङ्ग अवस्थामा रहेको अस्पताल अहिले फेरी व्यवस्थित हुन् थालेको हो । लथालिङ्ग अवस्थामा रहेको अस्पताललाई व्यवस्थित गर्न समय लाग्छ, अनेकन समस्या नआएका होइनन् तरपनि हामीले हिम्मत गरेर बिस्तारै अस्पतालका समस्यालाई समाधान गर्दै लागेका छौं” नगर प्रमुख केसीले भने ।
आवश्यक सामाग्रीको बन्दोबस्त गरेपछि फुल्ली अटोमेटिक बायकेमेस्ट्री एनालाइजर द्वारा सुगर, क्याल्सियम, एल्बोमिन , युरिक एसिड, युरिया लगायत चेकजाँच सेवा शुरु हुने भएको छ । भने इलेक्ट्रोलाईट एनालाइजर द्वारा सोडियम, पोटासियम र क्लोराइड जस्ता चेकजाँच शुरु हुने अस्पतालका प्रमुख डाक्टर रन्जिता महतोले बताईन् । फुल्ली अटोमेटिक बायकेमेस्ट्री एनालाइजर द्वारा आधा घण्टामा कम्तिमा पनि ४० देखि ४५ जना सम्मका बिरामीको चेकजाँच गर्न सकिने प्रमुख डा. महतोले बताईन ।


अहिले अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम, पोष्ट मार्टम, घाउ जाँच, जवर्जस्ती करणी, मादक पदार्थ सेवन चेकजाँच, शारीरिक परिक्षण लगायतका सेवा प्रवाह भैरहेका छन । कर्मचारी अभावमा बेसहारा लमही अस्पतालमा करारमा कर्मचारी राखेर सेवा दिने काम भएको अस्पतालका प्रमुख डा. महतोले जानकारी दिईन । डिजिटल एक्सरेका फाइदा भनेको रिपोर्ट स्पस्ट आउछ, छिटो छरितो काम हुन्छ, समयको बचत हुन्छ, सादा एक्सरे भन्दा भरपर्दो हुन्छ, बिरामीको उपचार पद्दतिमा मद्दत पुग्ने लगाएतका धेरै फाइदा छन ।
त्यसै गरि करारमा काम गरिरहेका कर्मचारीको तलब बृद्दी भएको छ भने अस्पताल प्रशासनले अख्तियारी पाएको छ । लामो समय सम्म चासोको रुपमा हेरिएको सर्प दंश उपचार सेवा समेत शुरु भएको छ भने अस्पतालको भौतिक संरचनाको रंग रोगन गरेर चिटिक्क पार्ने काम भएको छ ।
लमही अस्पताललाई सुधार गर्नु पर्ने थुप्रै कमीकमजोरी छन ति कमजोरीलाई क्रमश समाधान गर्दै लैजाने छौं लमही नगरपालिकाका उपप्रमुख देवका बेलबासेले भनिन् । अस्पताललाई सुधार गरेर राम्रो सेवा दिनु पर्छ भनेर व्यवस्थापनको पाटोलाई बलियो बनाउंदै लगेको उप प्रमुख बेल्बासेको भनाई छ ।