

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । अस्पतालको उद्घाटन गर्दै शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालले ठूलो योगदान गरेकोमा धन्यवाद दिए ।
गाउँपालिकाको राजधानी मानपकडीमा सञ्चालनमा आएको आँखा उपचार केन्द्रले अबका केही दिनमै चारवटा गाउँपालिकाको सेन्टर बनाएर आँखा उपचार केन्द्रमा विरामीहरुको अप्रेसन र विरामीहरुलाई भर्ना गर्ने व्यवस्था छिटो सुरु गर्ने प्रतिबद्धता जनाए । आगामी दिनमा स्थानीयवासीहरु आँखाको उपचारका लागि टाढा धाउनु नपर्ने अध्यक्ष चौधरीले बताए ।

नेत्र ज्योती संघ केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी शाखाका सभापति सागरप्रताप राणाले नेत्र ज्योति संघअन्तर्गतको रणअम्बिका आँखा अस्पतालको व्यवस्थापन समिति र शुद्धोधन गाउँपालिकाको सहयोगमा आँखा उपचार केन्द्रको सुरुवात भएकोमा सहयोग गर्ने सबैलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्दै आँखाको समस्याले बुटवल र भैरहवा धाउने बाध्यताता हटाउँदै ४ जना स्वास्थ्यकर्मिले निरन्तर सेवा दिने बताए ।
कार्यक्रम नेत्र ज्योती संघ केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी शाखाका सभापति सागरप्रताप राणको अध्यक्षता, शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता, शुध्दोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईको विशिष्ट आतिथ्यता तथा अस्पताल व्यवस्थापन समिती सदस्य गणेश क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यस्तै मंगलबार निःशुल्क आँखा शिविर सञ्चालन गरिएकोमा सयौं सेवाग्राहीले लाभ लिएका छन् । २५० जना आँखाका रोगिहरुको परीक्षण गर्दा ४० जनामा मोतियाविन्दुको समस्या देखिएको र उनिहरुको शल्यक्रियाका लागि भैरहवा स्थित रणअम्बिका शाह आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ ।