आँखा अस्पतालको सेवा लिनेमा पुरुष भन्दा महिला धेरै

मेचीकाली संवाददाता

६ माघ २०७८, बिहीबार
731 shares

सुनिल आचार्य
कपिलवस्तु । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । अस्पतालले चालु आ.ब. ०७८÷०७९ को साउनदेखि पुस महिनासम्म सम्पन्न गरेका समग्र गतिविधीहरुको समिक्षा सम्पन्न गरिएको हो ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजमा भएको समिक्षा कार्यक्रममा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पतालले ६ महिनाको अवधिमा सम्पन्न गरेका विविध प्रशासनिक प्रगति प्रतिवेदन प्रस्तुत् गरेका थिए । त्यसैगरी अस्पतालका ओपिडी ईन्चार्ज तथा बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले अस्पतालले बिगत ६ महिनामा सम्पन्न गरेका क्लिनिकल गतिबिधिहरुको बारेमा प्रकाश पारेका थिए
अस्पतालले ६ महिनाको अवधिमा ३७ हजार ओपिडी हेर्ने लक्ष्य राखेकोमा २९ हजार ४ सय ५३ अर्थात् ७९.६० प्रतिशत लक्ष्य हासिल गरेको छ । भने शल्यक्रिया तर्फ हातद्धारा गरिने मोतिबिन्दुको शल्यक्रिया २ हजार २ सय गर्ने लक्ष्य राखिएकोमा १ हजार ७ सय ६८ अर्थात् ८०.३६ प्रतिशत लक्ष्य हासिल गरेको छ । यस्तै अत्याधुनिक फेको प्रविधिीबाट गरिने मोतिबिन्दुको शल्यक्रिया २ हजार २ सय ५० गर्ने लक्ष्य राखिएकोमा जम्मा १ हजार ३ सय ७९ अर्थात् ६१.२८ प्रतिशत लक्ष्य हासिल गरिएको छ ।

ओपिडी तथा शल्यक्रिया सेवा लिने तथ्यांकलाई विश्लेषण गर्दा दुबै सेवा लिनेमा पुरुषभन्दा महिला बढी रहेको अस्पतालले जनाएको छ । ओपिडी सेवा लिनेमा महिला ५२ प्रतिशत छन् भने पुरुष ४८ प्रतिशत तथा शल्यक्रिया सेवा लिनेमा महिला ५१ प्रतिशत र पुरुष ४९ प्रतिशत रहेको बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी दिए । सोही अवधिमा अस्पतालले १ सय ९२ लाई मेजर तथा माइनर सर्जरी सेवा उपलब्ध गराएको छ जसमध्ये १९ जनाले निःशुल्क सेवा पाएका छन् ।

त्यसैगरी यो ६ महिनाको अवधिमा अस्पतालले बिभिन्न दातृ निकायको सहयोगमा १ हजार ६ सय २६ जना मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरेको छ । अस्पतालले महाराजगंज नगरपालिकामा सम्पन्न गरेको निःशुल्क आँखा शिवीरमा १ सय ९० जना र बिजयनगर गाउँपालिकामा सम्पन्न गरको निःशुल्क आँखा शिबिरमा १ सय १८ गरी जम्मा ३ सय ८ जना मोतिबिन्दुको निःुशुल्क शल्यक्रिया गरेको हो । महाराजगंजमा संचालित शिवीरलाई ‘देब एण्ड केरी (म्ब्प् डाक) फाउण्डेशन’ ले आर्थिक सहयोग उपलब्ध गराएको थियो भने बिजयनरमा संचालित शिविरलाई ‘तेज कोहली एण्ड रुइत फाउन्डेशन’ ले आर्थिक सहयोग गरेको थियो ।

यता अस्पतालमै सेवा लिन आउने बिरामीहरुलाई समेत अस्पतालले निःशुल्क शल्यक्रियाको सेवा दिन थालेको छ । जस अनुसार यस ६ महिनाको अवधिमा मात्र १ हजार ३ सय १८ जना मोतिबिन्दुको अस्पतालमै निःशुल्क शल्यक्रिया गरिएको छ । जसमध्ये नर्बे देशको दातृ निकाय ‘आई केयर फाउन्डेशन’ को सहयोगमा ३ सय ८३ जना मोतिबिन्दुको शल्यक्रिया गरिएको छ भने अर्को दातृ निकाय ‘तेज कोहली एण्ड रुइत फाउन्डेशन’ को सहयोगमा ९ सय ३५ जना मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । पैसाको अभावले कुनै पनि बिरामी दृष्टिविहीन हुन नपरोस् भन्ने हेतुले अस्पतालले यस्तो निती लिएको अस्पताल प्रशासक जसराज बिश्वकर्माले जानकारी दिए ।

बाह्य कार्यक्रम अन्तर्गत बिजयनगर गाउँपालिका २ र बुद्धभुमी नगरपालिकामा २ गरी ४ वटा विद्यालयमा विद्यालय आँखा जाँच कार्यक्रम समेत सम्पन्न गरिएको छ । त्यसैगरी बुद्धभुमी नगरपालिकाका आमा समूहका १८ जना,शिक्षक २८ जना, धामीझाँक्री ९ जना तथा बिजयनगर गाउँपालिकाका २४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिक आँखा उपचार तालिम प्रदान गरेको छ । यही समयावधिभित्रै अस्पतालले कपिलबस्तुको गोरुसिङ्गेमा २२ जना पत्राकारहरुको लागि समेत एकदिने प्राथमिक आँखा उपचार तालिम प्रदान गरेको थियो ।

समिक्षा कार्यक्रममा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख प्रशासक शम्सेर थापाले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित ३ वटा आँखा अस्पताल र उपचार केन्द्रहरुले सन् २०२१ मा हासिल गरेको उपलब्धिको बारेमा जानकारी दिएका थिए । त्यसैगरी अस्पतालका लेखापाल जेनिशा थापाले अस्पतालको आम्दानी तथा खर्चको बारेमा प्रष्ट पारेकी थिईन् ।

कार्यक्रम छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालका प्रशासनिक समितीका संयोजक शारदा चौधरीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ, दाङ शाखाका सचिव सुरेन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा चिफ मेडिक डाइरेक्टर डा.सुलक्ष्मी कटुवाल, नेत्र बिषेशज्ञ डा.आरती काराखेती, डा.शिलु थापा तथा बिभिन्न बिभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो । भने उक्त कार्यक्रम सूचना अधिकारी बालाराम खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।