माओवादी नेता पाण्डेको हत्यामा संलग्न ११ जना कारागार चलान

मेचीकाली संवाददाता

९ श्रावण २०७८, शनिबार
647 shares

पार्बती आचार्य
कपिलवस्तु । माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेको हत्याको आरोपमा पक्राउ परेका ११ जना नै पुर्पक्षका लागि कारागार चलान भएका छन् । हत्याको आरोपमा पक्राउ परेका पाण्डेकी श्रीमती महिमासहित ११ जना नै बिहीवार कारागार चलान भएका छन् । जिल्ला न्यायधिश बसन्तजंग थापाको इजलासले आरोपीहरु प्रतिबादीहरुलाई पुर्पक्षकालागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले बताए ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओमप्रकाश यादव, मृतक पाण्डेकी श्रीमती महिमा, नगरपालिका वडा नम्बर २ का साकिर अली पखिया, रमजाान शाह, नगरपालिका वडा नम्बर १ का पुर्णबीर पाल्पाली र सद्दाम हुसेन पुर्पक्षकालागि कारागार चलान भएका छन् । यस्तै बरगदवाका प्रविण गुप्ता, यशोधरा गाँउपालिका–४ का ज्ञानेन्द्रकुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिद टोलका नरसत अलि कारागार चलान भएका छन् । उनीहरुमाथि हातहतियारसहित र उक्त हातहतियार खरिद बिक्री, ओसार पसार गर्ने कार्यमा संलग्न, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र संगठित अपराध मुद्दा दर्ता गरी अदालतमा पेश गरिएको थियो ।

माओवादी नेता पाण्डेलाई जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा गोली प्रहार पछि घाईते पाण्डेयको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको थियो । अप्रेसनपश्चात उनलाई थप उपचारका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको अनुरोधमा गृह मन्त्रालयमार्फत भेन्टिलेटरसहित नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि जेठ १० गते काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा जेठ १० गते नै मृत्यु भएको थियो । पाण्डेसहित तीन जना मोटरसाइकलमा सवार भई तौलिहवा फर्किँदै गर्दा उनीहरुमाथि गोली प्रहार भएको थियो । सो सम्बन्धमा प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीको नेतृत्वमा Mike Whiskey नामको अप्रेशन टोली खडा गरी घटनाको अनुन्धान गरेको थियो । ओमप्रकाश पाण्डेय र मृतककी श्रीमती महिमा पाण्डेयबीच बिगत ५ वर्षदेखिको अनैतिक सम्बन्धका कारण नै घटना भएको प्रहरीको अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

मृतककी श्रीमतीकै योजना अनुसार ओम प्रकाश यादवले एक लाख सुपारी दिएर पाण्डेयलाई हत्या गर्न लगाएका थिए । टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओमप्रकाश यादव र उनले लुकाई राखेको पेस्तोल एक थान, सो को म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद गरेको थियो । त्यसैगरी हत्यामा संलग्न कपिलवस्तु नगरपालिका २ बस्ने साकिर अलिपखिया र निजले प्रयोग गरेको कटुवा पेस्तोल र गोली २ थान तथा कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र निजले घटना स्थलमा प्रयोग गरेको स्वचालित पेस्तोल सोको म्याग्जिन तथा ८ राउण्ड गोली प्रहरीले बरामद गरेको हो ।

प्रहरीले साकिर अलिपखियाले हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल आफ्नो घरमा लुकाउने कपिलवस्तु नगरपालिका १ का पुर्णबिर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको थियो । त्यस्तै प्रहरीले पाण्डेय हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग पु¥याएका ६ जनालाई नै नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।
प्रहरी नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोही वडाको बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाँउपालिका ४ का ज्ञानेन्द्रकुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिद टोलका नरसत अली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।