लुम्बिनी प्रदेशका स्थानिय तह अन्तरगत लमही अस्पताल दोस्रो स्थानमा

मेचीकाली संवाददाता

४ फाल्गुन २०७८, बुधबार
707 shares

पार्वती आचार्य
कपिलवस्तु । लुम्बिनी प्रदेशका स्थानिय तह अन्तरगत न्युनतम सेवा मापदण्डको सुचकको आधारमा दाङको लमही अस्पताल दोस्रो स्थानमा पर्न सफल भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले आयोजना गरेको प्रदेशमा अस्पतालहरुको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा प्रस्तुत तथ्यांकले यस्तो देखाएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको मुल्यांकनमा लमही अस्पतालले ४५ प्रतिशत अंक प्राप्त गरेको छ ।

त्यस्तै नवलपरासीको चिसापानी अस्पताल पहिलो भएको छ उक्त अस्पतालले ५३ प्रतिशत अंक प्राप्त गरेको छ । कपिलवस्तुको शिवराज अस्पतालले ४४ प्रतिशत अंक प्राप्त गरि तेस्रो स्थानमा र कपिलवस्तुको बाणगंगा स्थित पिपरा अस्पतालले ३८ प्रतिशत अंक प्राप्त गरि प्रदेश निर्देशनालयले गरेको मुल्यांकनमा चौथो स्थानमा परेको तथ्यांकमा उल्लेख गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले लमही अस्पताल एउटा हब अस्पतालको रुपमा रहेकाले अघिल्लो बर्षको तुलनामा यहाँको सर्वेक्षण नतिजा बढेको बताए । उनले कुन सुचकको मापन कम छ त्यसको बारेमा दैनिक सबैले छलफल गरेर काम गरि सुचकमा सुधार ल्याउन निर्देशन दिएका छन् । विभिन्न सुचकहरुमा सुधार गर्दै लमही अस्पताल दोस्रो स्थानमा पर्न सफल भएको मन्त्री थारुको भनाई छ ।

यसैगरी स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने न्युनतम सेवा मापदण्डमा सुशासन तथा व्यवस्थापन, उपचारात्मक सेवा व्यवस्थापन सेवा सुबिधा लगाएतका आधारमा मापन गरिएको गुल्मी अस्पतालका बरिष्ठ मेडिकल सुपरिटेन्डेन डा.उत्तम पाच्याले जानकारी दिए ।
कार्यक्रममा लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रंजिता महतोले हाल सम्म लमही अस्पतालमा भएका भौतिक संरचना, मानव संसाधन, औजारहरुको व्यवस्थापन, आधुनिक प्रबिधि द्वारा चेकजाँच, सर्पदंश उपचार केन्द्र, अन्तरंग सेवाको बिस्तार गरिएको बताईन् । यस्तै मेडिकोलिगल सेवा, स्वास्थ्य बिमा, डिआर एक्सरेको ब्यवस्थापन, अल्टा«साउण्ड सेवा संचालन गरिएको डा. महतोले जानकारी दिईन् ।
न्युतम सेवा मापदण्डको सुचकलाई आधार मानेर कार्य संचालन गर्दै आएको र यि सुचकहरुका मापदण्डहरुलाई पुरा गर्न सबैको साथ सहयोगको आवश्यकता रहेको छ । सबैको साथ सहयोग रहयो भने यस लमही अस्पताललाई स्थानियतह अन्तरर्गत मात्र नभएर प्रदेश र केन्द्रमै उत्कृष्ट अस्पतालको रुपमा स्थापना गर्ने लक्ष्य रहेको डा. महतोले जानकारी दिईन् ।

कार्यक्रममा लमही नगरपालिकाका मेयर तथा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कुल बहादुर केसीले अस्पतालको विकासका लागि आफु सदैव लागि रहेको र आगामी दिनहरुमा गुणस्तरीय सेवा प्रदान गर्न अस्पतालको दिर्घकालिन विकासमा जोड दिने बताए ।
कार्यक्रममा लमही नगरपालिकाका उपमेयर, अस्पताल संचालन तथा व्यबस्थापनका उपाध्यक्ष देबका बेल्बासे, लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी, प्रदेश जन स्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक रोसन लाल चौधरी, अस्पताल संचालन तथा व्यबस्थापनका सदस्यहरु, निक्साईमन ईन्स्यीच्युटका बिमल चन्द पुन, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु लगाएत बिभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम अस्पताल प्रशासन शाखाका रमेश चन्दको सञ्चालनमा सम्पन्न भएको थियो ।