

नेत्र गैरे
पाल्पा । बगनासकाली गाउँपालिका –५ दर्लमडाँडाले पूर्ण सरसफाई वडा घोषणा गरेकोछ । यसै अवसरमा स्वास्थ्य चौकीको उद्घाटन समेत गरिएको छ ।

घोषणा कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले देशमा संघीय व्यवस्थाको शुरुमा स्थानिय तहको निर्वाचन पछि जनताका अति आवस्यक आवस्यकता पुरा गर्न र गराउन आफुहरु काम गरेको बताए । उनले आफुहरु निर्वाचित भैसके पछि पूर्वाधार निर्माणका साथै फुस रहित घर बनाउन सफल भएको र खानेपानी समस्या समाधान गर्न तल्लीन रहेको बताए ।
गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले जनतालाई आर्थिक, सामाजिक रुपमा सक्षम बनाउदै पुर्वाधार बिकासमा आफुहरु जुटेको बताईन । जनतालाई आधारभूत स्वास्थ्य सेवाका साथै गुणस्तरिय स्वास्थ्य सेवा अहिलेको आवस्यकता रहेको र त्यसको व्यवस्थापनगर्न आफुहरु लागि परेको उनको भनाइ थियो ।

नयाँ स्वास्थ्य चौकी २०७३ सालबाट करिव १ करोड ३८ लाखको लागतमा निर्माण सम्पन्न भै काम शुरु गरिएको स्वास्थ्य चौकी प्रमुख रेश्मीराज न्यौपानेले बताए । कार्यक्रममा बगनासकाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनाल, स्वास्थ्य शाखा प्रमुख मनीराम अधिकारी सामाजिक स्रोत बिकास केन्द्रका प्रमुख चोपलाल गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बगनासकाली गाउँपालिका वडा नम्बर ५ मा ४६३ घरधुरी रहेकोमा १ हजार ५ सय २७ महिला र १ हजार ३ सय ४७ पुरुष गरि जम्मा २ हजार ८ सय ७४ जनसंख्या रहेको पाइन्छ ।