कपिलवस्तुमा साउन १३ र १४ गते जोन्सन एण्ड जोन्सन खोप लगाइने

मेचीकाली संवाददाता

१२ श्रावण २०७८, मंगलवार
993 shares

सुनिल आचार्य
कपिलवस्तु, साउन १२ । कपिलवस्तुमा साउन १३ र १४ गते जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ । जिल्ला कोभिड-१९ खोप समन्वय समितिको साउन १० गते बसेको बैठकले साउन १३ र १४ गते २ दिन खोप लगाउने निर्णय भएको हो ।

जिल्ला कोभिड–१९ खोप समन्वय समितिको निर्णयानुसार ५०–५४ वर्ष उमेर समूहका व्यक्तिहरु, अपांगता परिचयपत्र भएका व्यक्तिहरु (क र ख), विदेश जानु पर्ने व्यक्तिहरु र यस अघि प्राथमिकतामा परेर खोप नपाएका व्यक्तिहरुको लागि प्रत्येक वडाका स्वास्थ्य चौकीहरु, प्राथमिक स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरुबाट खोप सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

यशोधरा गाउँपालिका, शुद्दोधन गाउँपालिका र मायादेवी गाउँपालिकामा १० गते देखि १४ गतेसम्म नियमित खोप कार्यक्रम चल्ने भएकोले उक्त पालिकाहरुमा जोन्सन एण्ड जोन्सन खोप साउन १५ र १६ गते लगाईने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले जानकारी दिए ।