चौराहा–गोलपार्क सडकखण्ड तत्काल बनाउन माग गर्दै राष्ट्रिय युवा संघद्वारा डेलिगेशन

सीडीओ, परियोजना कार्यालय र ठेकेदारको ध्यानाकर्षण

मेचीकाली संवाददाता

१२ श्रावण २०७८, मंगलवार
836 shares

बुटवल, साउन १२ । बुटवल–बेलहिया व्यापारिक मार्ग अन्तर्गतको चौराहा–चिडियाखोला सडकखण्डको तत्काल मर्मतसम्भार र विस्तार गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले सम्बन्धित कार्यालयहरुको ध्यानाकर्षण गराएको छ । बुटवलको चौराहा–गोलपार्क खण्डमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण हिंडडुलमा समेत समस्या उत्पन्न भएको छ । खाल्डाखुल्डी तत्काल पुरेर हिंड्नयोग्य बनाउन माग गर्दै राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, व्यापारिक मार्ग परियोजना कार्यालय र निर्माण कम्पनीको सम्पर्क कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचनको नेतृत्वमा युवा संघका केन्द्रीय सदस्यहरु, जिल्ला सदस्य तथा सल्लाहकार, खेलकुद महासंघका सचिवालयस सदस्य सहित अगुवा युवाहरुको टोली ती कार्यालयमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै युवा संघले निर्माणकम्पनीको लापरबाही र ढिलासुस्तीबाट आमसर्वसाधारणमा सास्ती पुगेको भन्दै ठेकेदार उपर तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गरेको छ । यस्तै व्यापारिक मार्ग परियोजना कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल मर्मत सम्भारका काम अगाडि बढाउन र लामो समयदेखि रोकिएको विस्तारको कामलाई पनि तत्कालै अगाडि बढाउन प्रभावकारी निर्देशन दिन माग गरिएको अध्यक्ष गौचनले जानकारी दिए ।

यस्तै निर्माण कम्पनीको पड्सरी स्थित सम्पर्क कार्यालयमा पुगेर राष्ट्रिय युवा संघले तत्काल मर्मत सम्भार विस्तारका कामलाई अगाडि बढाउन ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षण अनुसार काम तत्कालै नबढाए ठेकेदारलाई आफुहरुले नै समातेर कानुनी कारबाहीका लागि प्रशासनमा बुझाउने संघको चेतावनी छ ।

उक्त सडक खण्डको ठेक्का ‘द कंचनजंघा विरुवा जेभी काठमाडौं’ले पाएको थियो । पटक पटक म्याद थप्दासमेत उक्त कम्पनीले काम अगाडि बढाएको छैन । सडक निर्माणको काममा निर्माण व्यवसायीको भूमिका बदनियतपूर्ण भएको संघले आशंका गरेको छ । अति संवेदनशिल तथा सम्रग बुटवललाई नै कुरुप बनाएको यस सडकको निर्माण कार्यमा निर्माण व्यवसायीले गरेको अटेरीपना र ढिलासुस्तीलाई अब सहेर नबस्ने संघको चेतावनी छ ।

सीडीओ, व्यापारिक मार्ग र ठेकेदारलाई ध्यानाकर्षण
जिल्लामा भए गरेका सम्पूर्ण काम कारवाहीहरुको नियमन गर्ने निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालय भएकाले प्रजिअलाई आवश्यक निर्देशन र अटेरी गर्नेलाई कानुनी कारबाही गर्न माग गरिएको छ । सीडीओमार्फत व्यापारिक मार्ग विस्तार परियोजना र निर्माण व्यवसायीका विरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन माग गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष गौचनले बताए ।

सडकमा परेका खाल्डाखुल्डीलाई पुर्ने, सडकको रिसोलिङ्ग गर्नेे र राजमार्गमा दैनिकी सरसफाईका कामहरु अनिवार्यरुपमा गर्ने व्यवस्था मिलाउने काममा सम्बन्धित निकायलाई आवश्यक निर्देशन प्रदान गर्ने तथा कार्यान्वयन प्रक्रियामा समेत सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षण गराइएको उनले बताए ।

व्यापारिक मार्ग परियोजना कार्यालयलाई कार्यालयमार्फत तत्काल मर्मत सम्भारका काम थाल्न आग्रह गरिएको छ भने ठेकेदारलाई तत्काल काम सुरु नगरे युवा संघले नै नियन्त्रणमा लिएर सीडीओ कार्यालयमा बुझाउने भन्दै ध्यानाकर्षण गराइएको छ । निर्माण कार्यको जिम्मा पाएको कम्पनीका प्रमुख भने अहिले सम्पर्कमा छैनन । उनलाई जिल्ला प्रशासन कार्यालयले खोजि गरिरहेको छ । उनको कार्यालयमा रहेका प्राविधकि अमित पटेकलाई युवा संघले उक्त पत्र बुझाएको थियो ।

तोकिएको समयसिमा भित्रै गुणस्तरिय सडक निर्माण गर्ने र सरसफाईयुक्त तथा धुवाधुलोमुक्त वातावरण सिर्जना गर्ने काममा ढिलासुस्ती र लापरवाही देखाएको खण्डमा हामी निर्माण व्यवसायी कम्पनीको विरुद्ध सशक्त प्रतिकारमा उत्रने चेतावनी समेत दिइएको अध्यक्ष गौचनले बताए ।

मर्मत नहुँदा सहर नै कुरुप बन्दै
नेपालको मध्य भागमा रहेको लुम्बिनी प्रदेशको मुकाम बुटवल तिव्र गतिमा विकास भईरहेको नेपालको एक प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको छ । मानव जातिको पूर्खा रामपिथेकसको सभ्यता, तिनाउ–तिलोत्तमा–रोहिणी नदीको सभ्यता, बुद्ध सभ्यताको उद्गम भूमि, प्राचिन व्यवसायको केन्द्र र तत्कालिन इष्ट इण्डिया कम्पनीका (बेलायती) सेनालाई परास्त गर्ने जितगढी युद्धको बिरगाथा बोकेको बुटवल नेपालको एक ऐतिहासिक, सांस्कृतिक, धार्मिक र आर्थिक केन्द्र्रको रुपमा रहेको छ । तर बिडम्बना, बुटवलको बीचभागमा रहेको पूर्व पश्चिम राजमार्ग र उत्तर दक्षिण सिर्दाथ राजमार्गको संगमस्थलको रुपमा परिचित राजमार्ग चौराहा देखी गोलपार्क सम्मको सडक खण्डको हालत बेहाल छ ।

गोलपार्क देखी बेलहिया नाका सम्मको यस व्यापारिक मार्ग विस्तार आयोजना अन्र्तगत बाँकी खण्डको काम सम्पन्न भएपनि राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडकखण्ड वर्षौसम्म निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रर्वद्धनमा समेत ठूलो अवरोध सिर्जना भएको छ । यहाँको पर्यावरण, यहाँको हरियाली र वातावरणमा समेत ठूलो क्षति पुगेको छ ।

बुटवलको यो खण्डको बाटो भएर हड्ने लाखौं यात्रीहरु, बुटवलमा आउने हजारौं पाहुना तथा पर्यटकहरुको अगाडि हामी बुटवलबासी तथा बुटवललाई माया गर्नेहरु लज्जित भएको नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बुटवलका युवा मेघराज भट्टराईले बताए । उनले यस सडक खण्डमा उड्ने धुवाँधुलोले यहाँ गुड्ने सवारी साधन र हिड्ने मानिसको शरिर मात्र होइन, सारा बुटवल नै धुलाम्मे बनाएको बताए ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य केशब रोकाले बालबच्चा, जेष्ठ नागरिक, गर्भवती र अस्वस्थ नागरिकहरुलाई यो सडक खण्डमा हिडाँउने अवस्था नै नरहेको बताए । यो खण्डले दैनिक दुर्घटनाहरु निम्त्याएको छ र मानिसले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना गरिएको छ । यो एक प्रकारको अपराध हो भन्ने युवा संघको बुझाई रहेको छ रोकाको भनाइ छ ।

किन भइरहेको छ ढिलाई ?
पछिल्ला केही समययता लगातार पानी परेको र मनसुन समयमै सुरु भएर सुरुकै दिनदेखि झरी लागेकाले निर्माणका काम केही प्रभावित भएका छन् । यद्यपि घाम लागेको बेला र झरी नपरेको बेलामा समेत यहाँका खाल्डाखुल्डी पुर्ने र विस्तारका काम अगाडि बढेका छैनन् । ४–५ वर्षसम्म सडकक्षेत्राधिकार भित्रका संरचनाहरु हटाउने लडाईमा र सडकक्षेत्राधिकार कायम गरिसकेपछि फेरि यो वा त्यो बहानामा यसको निर्माण कार्यमा किन ढिलाई गरिएको छ ?

समयमै काम नहुने र सास्ती जनताले पाउने अवस्था भएकाले आफुहरु सम्बन्धित कार्यालयहरुमा ध्यानाकर्षणका लागि गएको राष्ट्रिय युवा संघका जिल्ला नेता विकासजंज बस्नेतले बताए । बारम्बार निर्माण व्यवसायीको म्याद थप्दै जाने र निर्माण व्यवसायीले भने काम नगर्दै जाने अवस्था कहिले सम्म ? किन बारम्बार अटेर गरिरहेको छ निर्माण व्यवसायीले ? किन सम्बन्धित सरोकारवालाहरुले निमार्ण कार्यको कार्यान्वयन गराउन सकिरहेका छैनन् ? उनले प्रश्न गरे ।

नागरिकको जीवनसंग, नागरिकको स्वास्थ्यसंग, बुटवलको गौरव र सुन्दरतासंग खेलवाड गरिएको विषय हाम्रा लागि असह्य भएको युवा संघको ठहर छ । यो परियोजना कार्यान्वयन गर्ने इकाई व्यापारिक मार्ग विस्तार आयोजना र निर्माण व्यवसायी कम्पनी द कंचनजंघा विरुवा जेभी काठमाडौंबाट भएको ढिलासुस्ती, गैरजिम्मेवारीपना र लाचारीपनाको विरुद्ध खबरदारी गरिएको र यसलाई पनि अटेरी गर्ने कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई सघाउन आफुहरु तयार रहेको संघले जनाएको छ ।