मानव स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई एमाले पाल्पाको ध्यानाकर्षण

मेचीकाली संवाददाता

३० फाल्गुन २०७८, सोमबार
769 shares


नेत्र गैरे
पाल्पा । नेकपा एमाले पाल्पाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा सुविधाको लापर्वाही भएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै ज्ञापन पत्र पठाएको पार्टीले जनाएको छ ।

नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्र राज घिमिरको समन्वयमा केन्द्रीय पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरे, लुम्बिनी प्रदेश सचिवालय सदस्य नारायण आचार्य, नेकपा एमाले पाल्पाका कार्यालय सचिव दिपक विश्वकर्मा, जिल्ला सचिवालय सदस्य विष्णु भण्डारी लगायतका नेता तथा कार्यकर्ताको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तलाई ज्ञापन पत्र बुझाएको हो ।

स्वास्थ्य जनताको मौलिक हक हो । मानव स्वास्थ्यमा खेलवाड नगर्न ज्ञापनपत्र मार्फत सचेत गराएको छ । जनताको स्वास्थ्य उपचार राज्यको दायित्व अन्तर्गत पर्दछ भन्ने मान्यता अनुरुपनै पूर्ववर्ती सरकारले स्वास्थ्य बिमाको प्रवन्ध गरेको छ । वर्तमान सरकार जनताले स्वास्थ्य बिमा मार्फत प्राप्त गर्ने सुविधा कटौती गर्न उद्धत हँुदै गइरहेको एमाले पाल्पाको दाबी रहेको छ ।

अस्पतालमा उपचार गर्न जाँदा पेश गर्नुपर्ने विमा सिफारिस लिन समेत झन्झटिलो भएको छ । लामो समय लाईनमा बस्नु पर्दा बिरामी झन गम्भीर हुने स्थिति छ । स्वस्थ मानिस फेरी आफै पनि विरामी पर्ने अवस्था रहेकाले तोकिएका जुनसुकै अस्पतालमा उपचारको व्यवस्था मिलाउन माग गरिएको छ ।

उपचारको प्रतिक्षा गरेका बिरामीहरुले थप पीडा भोग्नुपरेको र स्वास्थ्य सुविधालाई बिरामीमैत्री बनाउनु पर्ने भन्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको अध्यक्ष धनेन्द्र राज घिमिरेले बताए ।

तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा दैनिक २०० जना भन्दा बढी विरामीहरुको उपचार नगर्ने, पाल्पा मिसन अस्पतालमा दैनिक १०० जना भन्दा बढी बिरामीले स्वास्थ्य विमाको सुविधाबाट उपचार पाएका छैनन् । निश्चित कोटा पुग्यो भन्दै बिरामीहरुलाई उपचार नै नगरी घर फिर्ता पठाउने गरिएको समाचारले हामीलाई स्तब्ध तुल्याएको छ । ज्ञापन पत्रमा उल्लेख छ ।

सिफारिस प्राप्त गर्न भोग्नु परेको झन्झटिलो व्यवस्था र सिफारिस पाईसकेपछि सम्बन्धित अस्पताल पुगेर फर्कनु पर्ने समस्या तत्काल अन्त्य गर्न र सबै नागरिकले आफ्नो बिमा सुविधाको उपभोग गर्न पाउने हकको अविलम्ब सुनिश्चित गर्न नेपाल सरकारसंग नेकपा एमाले पाल्पाले जोडदार माग गर्दछ । अन्यथा न्यायप्रेमी जनताको पक्षमा सघर्ष गर्न बाध्य हुनेछौं । त्यसले ल्याउने परिणामप्रति सरकार आफै जिम्मेवार हुने ज्ञापन पत्रमार्फत चेतावनी दिइएको छ ।