एक वर्षमा १० हजार ५९४ नागरिकता वितरण

मेचीकाली संवाददाता

१२ श्रावण २०७८, मंगलवार
789 shares

सुनिल आचार्य
कपिलवस्तु, साउन १२ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले १० हजार ५ सय ९४ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । आर्थिक बर्ष २०७७÷०७८ मा जम्मा १० हजार ५ सय ९४ वटा नागरिकता वितरण गरिएको हो । यस्तै सो अवधिमा प्रतिलिपी नागरिकता २ हजार ७ सय ५० जनाको बनाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । पछिल्लो समयमा सरकारले बाल पोषण भत्ता उपलब्ध गराउने भएपछि आमाको नागरिकता अनिबार्य चाहिने भएको हुँदा ठूलो संख्यामा नागरिकता वितरण भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

प्रशासन कार्यालयमा नागरिकताका बनाउन आउनेहरुको भीड लाग्दा कर्मचारी अभावले सेवा दिन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । कर्मचारीले ओभरटाइम डियुटी गरेर भएपनि आएका नागरिकलाई नफर्काउने गरेको उनको भनाइ छ । पिपरा र चन्द्रौटा ईलाका प्रशासन कार्यालयबाट समेत नागरिकता बनाउने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेपालीले बताए ।

यस्तै जिल्ला प्रशासन कार्यालयमा आर्थिक वर्ष ०७७÷०७८ मा १ सय २५ मुद्धा दर्ता भएका छन् । भने सो अवधीमा १ सय ५० मुद्धा फैसला भएका छन् । १ सय २५ दर्ता भएकोमा अघिल्लो आर्थिक वर्षमा फैसला नभएका मुद्धाको फैसला समेत ०७७÷०७८ मा भएकाले दर्ता थोरै फैसला धेरै देखिएको हो । पीडीतले आशा र भरोसा लिएर मुद्धा दर्ता गर्न प्रशासनमा आउने भएकाले सिघ्र न्याय दिनु पर्छ भन्ने हिसावले मुद्धाको सबै पक्ष तिब्र विधीवाट बुझेर फैसला गर्ने गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । प्रशासनको फैसला कार्यान्वयनमा गएको हिसावले समेत सन्तोषजनक अवस्था रहेको उनको भनाई छ ।

४ हजार ३ सय १८ वटा राहदानी सिफारिस र ६ हजार २ सय ८७ राष्ट्रिय परिचय पत्र बितरण गरिएको छ । ४ सय ५७ वटा ठाडो निबेदन, ६ सय २५ सिफारिस र नयाँ संस्था ५३ वटा दर्ता भएका छन । यस्तै गत आर्थिक बर्ष प्रशासन कार्यालयमा २ करोड १६ लाख १० हजार ९ सय ५१ रुपैयाँ राजस्वक संकलन भएको छ ।