अब्बल बन्दै गुल्मी अस्पताल

मेचीकाली संवाददाता

१२ चैत्र २०७८, शनिबार
818 shares

टोपलाल अर्याल
गुल्मी । गुल्मी अस्पतालले प्रयोगशालाको सेवालाई सुदृढीकरण गर्दै विशिष्टिकृत परीक्षण सुविधाहरु सञ्चालनमा ल्याएको छ । प्रयोगशाला आधुनिक चिकित्साशास्त्रको मेरुदण्ड हो । गुल्मी अस्पतालबाट थाइराइडको एन्टीबडी परीक्षण, विभिन्न भिटामिनको मात्रा परीक्षण, टयुमर मार्कर परीक्षण, मधुमेहमा गरिने परीक्षण, हर्मोनहरुको परीक्षण, रगत जमेको वा नजमेको पत्ता लगाउन गरिने परीक्षण सुरु गरिएको गुल्मी अस्पतालका ल्याब इन्जार्ज लक्ष्मण पन्थीले जानकारी दिए ।

त्यस्तै अस्पतालले मुटु रोग तथा कलेजो रोग पत्ता लगाउन गरिने विशेष परीक्षण, रत्तअल्पताको प्रकार छुट्याउनेलगायतका ३५ प्रकारका नयाँ परिक्षणको सुविधा थपेको छ । साथै निश्चित समयको लागि ब्लड बैंकमा रगत सञ्चय गरेर राख्न सक्ने सुविधासमेत उपलब्ध रहेको पन्थीले बताए । बिरामीको बढ्दो चापसंगै गुल्मी अस्पताललाई आफ्नो सेवा व्यावस्थपानमा साधन, स्रोत, पूर्वाधार र जनशक्तिको चुनौति रहेको छ । उनले सबै अप्ठ्याराकाबिच पनि अस्पतालले सेवाको गुणस्तरीयता कमी हुन नदिएको बताए ।

गुल्मी अस्पताल प्रयोगशालाले प्राविधिक, प्रविधि र प्रवन्धनको सही संयोजन गर्दै प्रयोगशालाको आधुनिकीकरण र गुणस्तरीयतामा विशेष जोड दिइएको छ । प्रयोगशाला परीक्षणमा सम्भव भए सम्म म्यानुयल विधिको प्रयोगलाई निरुत्साहित गर्दै स्वचालित विधिको उपयोगमा ल्याइएको छ । ‘कुनैपनि स्वास्थ्य प्रयोशालाबाट जारी गरिएको रिपोर्ट सही, तथ्यगत, विश्वसनीय र सान्दर्भिक हुनु अत्यन्त जरुरी छ । प्रयोगशालाले गुणस्तरलाई ग्यारेन्टी गर्न सक्ने प्रणालीको विकास एवं अनुशरण गरेको हुनुपर्दछ,’पन्थीले भने,‘बिरामीको ज्यान जाने वा बच्ने भन्ने परीक्षण रिपोर्टमा भरपर्छ ।’ प्रयोगशालालाई राष्ट्रिय वाह्य गुणस्तर मूल्याङ्कन योजनामा आबद्धता गरिएको छ ।

प्रयोगशाला रिपोर्टको गुणस्तर अति उत्तम
गुल्मी अस्पतालमा प्रयोगशालाको गुणस्तर सुनिश्चितता प्रयोजनार्थ प्रयोगशालामा आन्तरिक गुणस्तर नियन्त्रण अभ्यासको विकास गरिएको छ । गुल्मी अस्पतालले प्रयोगशाला सेवाको गुणस्तर सुनिश्चितताका सम्बन्धमा गुणस्तर मापन गर्दा अतिउत्तम नतिजा हासिल गरेको छ ।
गुणस्तर नियन्त्रण प्रयोजनार्थ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला NEQAS शाखाबाट वितरण गरिएको ४९ लटको क्वालिटी कन्ट्रोल स्याम्पल परीक्षण गर्दा रिपोर्टको गुणस्तर अतिउत्तम आएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । प्रयोगशालाले नमुना संकलन, परीक्षण, भण्डारण, परीक्षण विधि र ढुवानीलगायत प्रकृयाको लागि राष्ट्रियस्तरमा निर्धारण गरिएको कार्य सञ्चालन निर्देशिका समय सापेक्ष तथा प्रयोगशाला सापेक्ष अद्यावधिक गरी सोअनुरुप कार्य गर्ने गराउने गरेको पच्याले जानकारी दिए ।

दैनिक सरदर तीन सयलाई सेवा
जिल्ला अस्पतालबाट दैनिक सरदर तीन सय जनाले विभिन्न सेवा लिने गरेका छन् । पहिले दैनिक सरदर डेढ सयले सेवा पाउँथे । सरकारले स्वास्थ्य बिमा सञ्चालन गरेपछि सेवा लिनेको संख्या दोब्बर भएको अस्पतालका प्रमुख डाक्टर पच्याले बताए । गत फागुन महिनामा तीन हजार नौ सय ७८ महिला र दुई हजार चार सय २४ पुरुषले अस्पतालबाट विभिन्न प्रकारका सेवा लिएका छन् । जसमा सबैभन्दा बढी २९ देखि ५९वर्ष उमेर समूहका नागरिक छन् ।

२९ देखि ५९ बर्ष उमेर समूहमध्ये दुई हजार छ सय ४० महिला र एक हजार ७१ जना पुरुष रहेको गुल्मी अस्पतालका मेडिकल रेकर्डर बाबुराम पोख्रेलले जानकारी दिए । स्वास्थ्य बिमाबाट चार हजार दुई सय, ओसिएमसिबाट सात र सामाजिक सेवा एकाइबाट ३१ ले पूर्ण छुट र ५६ जनाले आंशिक छुट पाएको पोख्रेलले बताए । फागुन महिनाका ७९ प्रसूतिमध्ये २४ वटा जटिल शल्यक्रियामार्फत भएका छन् ।

त्यस्तै १३ पुरुष र चार महिला गरेर १७ जनाको पोष्टमार्टम गरिएको छ । मेडिकल रेर्कडर पोख्रेलका अनुसार गुल्मी अस्पतालका अनुसार फागुन महिनामा मात्रै दुई हजार एक सय ७८ जनाले प्रयोगशालाबाट विभिन्न परीक्षण गराएका छन् । गत वर्ष ७७ हजार दुई सय ७६ जनाले प्रयोगशाला सेवा लिएका छन् । आर्थिक वर्ष ०७६÷०७७ मा ३४ हजार ४४ ले सेवा लिएका थिए ।

भिड कम गर्न टोकन प्रणाली
सेवाग्राहीको भिड कम गर्न गुल्मी अस्पतालमा ‘टोकन प्रणाली’ सुरु भएको छ । स्वास्थ्य बिमा लागू भएपछि अस्पतालमा दैनिक सरदर तीन सय जना स्वास्थ्य सेवा लिने गरेका छन् । साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपर्ने र सेवाग्राहीको भिड बढेकाले पाँच लाखको लागतमा मेसिन खरिद गरेर ‘टोकन प्रणाली’ सुरु भएको हो ।

टोकन प्रणालीको सुरुवात गर्दै अस्पतालका नवनियुक्त अध्यक्ष भरत पाण्डेयले अस्पतालको बहिरंग विभागमा आएका बिरामीले टिकट काट्न लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्न टोकन प्रणाली सुरु गरिरएको बताए । पाण्डेयले सपथ लिएकै दिनबाट ‘टोकन प्रणाली’ सुरु गरिएको छ ।