लुम्बिनी प्रादेशिक अस्पतालको ५ अर्बको ठेक्का रद्द

मेचीकाली संवाददाता

१४ चैत्र २०७८, सोमबार
673 shares

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गर्न गरिएको टेन्डर आह्वान रद्द भएको छ । ५ अर्ब रूपैयाँमा बन्न लागेको सुविधासम्पन्न अस्पताल भवनको टेन्डर रद्द भएको हो । प्रदेश पूर्वाधार विकास प्राधिकरण दाङका इन्जिनियर गिरीराज पौडेलले सार्वजनिक खरिद ऐनको दफा २६ अनुसार टेन्डर रद्द गर्नुपर्ने अवस्था आएको जानकारी दिए । ‘अरू कुरा पछि गरौँला अहिले तपाईं टेन्डर रद्द भएको मात्र बुझ्नुहोस्,’ इन्जिनियर पौडेलले भने ।

प्रदेश गौरवको आयोजनाअन्तर्गत बन्न लागेको अस्पतालको सुविधासम्पन्न भवनका लागि सीमित कम्पनीले मात्र सहभागी हुन पाउने गरी टेन्डर गरिएपछि आर्थिक अनियमितताको आशंका गरिएको थियो । प्रदेश पूर्वाधार विकास प्राधिकरण दाङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले रसुवा कन्सट्रक्सन र शर्मा एण्ड कम्पनीलाई ठेक्का दिलाउने गरी टेन्डर आह्वान गरेको निर्माण व्यवसायीहरूले आरोप लगाएका थिए ।

गत फागुन ८ गते पूर्वाधार प्राधिकरणले टेन्डर आह्वान गरेको थियो । प्रदेश सरकारले बनाएको गुरुयोजना अनुसार एक हजार २०० शैयाको १० तले अस्पताल भवनको माथि हेलिप्याडसमेत रहनेछ । हेलिप्याडबाट सीधै इमर्जेन्सीमा झर्ने लिफ्टसमेत बन्नेछ ।
१२ सय शैयाको १० तले भवन निर्माणको लागि गत फागुन ८ गते र चैत २ गते गरी दुई पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम सोमबारको निर्णय अनुसार रद्द गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए ।

टेण्डरमा आर्थिक चलखेलका लागि दुई निर्माण कम्पनीबाहेक अरूले प्रतिस्पर्धा गर्नै नपाउने गरी सरकारले स्पेसिफिकेसन बनाएर ‘सेटिङ’ मिलाइएको आरोप थियो । स्पेसिफिकेसनको मापदण्डले जेआईईसी–रसुवा–शर्मा जेभीबाहेक अरु सहभागी हुन नपाउने अवस्था थियो । टेन्डर पनि रमेश शर्माको जेडआईईसी–शर्मा र रसुवाका कांग्रेस सांसद मोहन आचार्यको रसुवा जेभी मात्र टेण्डरमा सहभागी भएका थिए । धेरै कम्पनीबीच प्रतिस्पर्धा हुन नसक्दा ५ अर्ब भन्दा बढीको ठेक्कामा राज्यलाई डेढ अर्ब रुपैयाँ नोक्सान हुने देखिएकाले आफ्नो एकल निर्णयमा टेण्डर रद्द गराएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए ।

‘सात अर्बको टेण्डरमा प्रतिस्पर्धालाई खुम्च्याउँदा राज्यलाई ठूलो नोक्सानी हुने देखिएपछि आफ्नो पद र सुरक्षालाई दाउमा राखेर एकल निर्णयमा टेण्डर रद्द गराएको हुँ’– घिमिरेले भने । टेण्डर रद्द गराउन खोजेपछि आफूमाथि धेरैतिरबाट ठूलो दबाव आएको घिमिरेले बताए ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत टेण्डरका स्पेसिफिकेसनप्रति चासो देखाउंदै प्रादेशिक पूर्वाधार विकास प्राधिकरणलाई पत्र काटेको थियो । उक्त कार्यालयले ठेक्कामा ६ वटा त्रुटि फेला पारेको थियो । विवादित टेण्डरबारे उच्च अदालत दाङमा मुद्दा परेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरीहरु परेका थिए ।

निजी क्षेत्रका डबल बेसमेन्ट अस्पताल बनाएका निर्माण कम्पनीहरुलाई समेत ठेक्का प्रक्रियामा भाग लिन नपाउने गरी बोलपत्र आह्वान भएको ठहर सार्वजनिक खरिद अनुगन कार्यालयले गरेको थियो । १० जना अट्ने लिफ्ट, २ तले अण्डरग्राउण्ड (बेसमेन्ट) निर्माणको अनुभव, ठेकदारले काम गरेको सरकारी अस्पतालको कार्य अनुभव, १ अर्ब ७५ करोडको सर्टिफिकेट लगायतका विषय राखेर अरु कम्पनीहरुलाई प्रतिस्पर्धाबाट बाहिर राख्न खोजिएको ठहर खरिद अनुगन कार्यालयले गरेको थियो ।

निर्माण व्यवसायीहरुले २० देखि ३० प्रतिशतसम्म घटेर काम लिनुपर्ने अवस्था रहेकोमा यो परियोजनामा मिलिमतो गरेर कम्तीमा १० प्रतिशत मात्रै चलखेल हुँदा पनि राज्यको ४५ करोड हिनामिना हुने निर्माण व्यवसायीको दावी छ । निर्माण व्यवसायीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नै यस्तो खालको स्पेसिफिकेसन राख्न लगाएर टेण्डर निकाल्न लगाएको आरोप लगाएका छन् ।

ठेक्का रद्दसँगै सिईओ घिमिरेले दिए राजिनामा
बुटवल, चैत १५ । लुम्बिनी प्रादेशिक अस्पतालको पाँच अर्बको भवन निर्माणको टेन्डर रद्द गरे लगत्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्त राज घिमिरेले राजीनामा दिएका छन । बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको टेण्डर खुलाउँदा मिलमतो देखिएको थियो । ठेक्कामा रमेश शर्माको शर्मा र रसुवा जेभी मात्र सहभागी भएका भएका थिए ।

टेण्डरमा सरकारी अस्पतालमा २ हजार वर्गमिटरभन्दा बढीको २ तले बेसमेन्ट बनाएको हुनुपर्ने, नेपाली कम्पनीले एक्लै प्रतिस्पर्धा गर्ने ६ हजार वर्गमिटरमा २ तले बेसमेन्ट निर्माण गरेको अनुभव हुनुपर्ने, भिन्ली मेडिकेटड फ्लोरिङ काम गरेको हुनुपर्ने, १० जनाभन्दा बढी अट्ने लिफ्ट जडान गरेको योग्यता हुनुपर्ने जस्तो सर्त राखिएको थियो । यसको निर्माण व्यवसायी महासंघले समेत विरोध गरेको थियो ।