कपिलवस्तुमा अर्को सुचना नआउँदा सम्मका लागि लम्बीयो निषेधाज्ञा

मेचीकाली संवाददाता

१३ श्रावण २०७८, बुधबार
1144 shares

पार्बती आचार्य
कपिलवस्तु, साउन १३ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । कपिलवस्तुमा जारी निषेध आदेशलाई अर्को सुचना नआउन्जेल सम्मका लागि निरन्तरता दिने र लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुलाई स्वास्थ्य मापदण्ड पालना गरे नगरेको ट्राफिक प्रहरी मार्फत अनुगमन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले यस भन्दा अगाडी गरिएको निर्णयहरुको कार्यान्वयनका बारेमा समिक्षा समेत गरेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १२ गते जारी गरेको प्रेश बिज्ञप्तीबारे जानकारी गराउँदै कोरोनाको सम्भाबित तेश्रो लहरको चुनौतीपुर्ण अवस्थाको तयारी गर्न अस्पताल, स्वास्थ्य कार्यालय र सम्पुर्ण पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । विद्यालयमा परीक्षा लिन बाहेक कक्षा सञ्चालन गर्न नेपाल सरकारबाट निर्णय नहुँदासम्म नपाइने हुँदा जोखिमको अवस्थामा समेत सचेत हुन अनुरोध गरिएको छ ।

जिल्लामा निषेध आदेशको समिक्षा गर्दै गृहमन्त्रालयको साउन १० गतेको पत्रको बारेमा जानकारी दिंदै आगामी दिनमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा निरन्तर अनुगमन गर्दा पालना नभएको पाईएमा कानुन बमोजिम कारबाही गरिने ब्यहोरा सम्पुर्ण सर्बसाधारणलाई जानकारी गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

बैठकमा जिल्लामा कोभिड–१९ को दोश्रो भेरियन्टबाट ०७७ चैत्र पछि यस जिल्लामा ३ हजार ५ सय २५ जना कोरोना संक्रमित भए । जस मध्ये ३ हजार २ सय ८३ जनाले कोरोनालाई जित्न सफल भएका छन् । भने १ सय ६७ जनाले कोरोनाका कारण ज्यान गुमाए । अहिले जिल्लामा सक्रिय संक्रमित ७५ जना छन् जस मध्ये ५९ जना होम आईसोलेसनमा उपचारत छन् ।

१ जनाको आईसीयुमा उपचार भैरहेको छ भने १५ जनाको अवस्था सामान्य भएको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए । स्थानियतहहरुमा भएका पीसीआर र एनटीजेन परिक्षणका बारेमा जानकारी दिएका थिए । ६ लाख बढी जनसंख्या भएको जिल्लामा खोप लगाउनेको जनसंख्या न्युन भएको हुँदा जोखिमको अवस्था उच्च रहेको छ । खोप अभियान पुरा हुँदा सम्म करिव १ लाख १३ हजार बढी कपिलवस्तु बासीले खोप सेवा पाउने छन् । कुल जनसंख्याको आधारमा खोप लगाउनेको संख्या १७ प्रतिशत हुने जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

कोभिशिल्ड ४८ हजार ५ सय डोज, भेरोसेल ५३ हजार ८० दोज र जान्सेन एण्ड जान्सेन ३२ हजार ८ सय ५० डोज प्राप्त भएको थियो । कोभिशिल्ड प्रथम दोजमा ३६ हजार ४ सय ३० र दोश्रो डोजमा ११ हजार ३ सय १९ जनाले खोप लगाएका थिए । भेरोसेलको प्रथम डोजमा ४३ हजार १ सय २३ र दोश्रो डोजमा ९ हजार ५ सय ३८ जनाले खोप लगाए । यस्तै जान्सेन एण्ड जान्सेन खोप ३२ हजार ८ सय ५० खोप आएकोमा ९ सय ५० जनाले खोप लगाएका छन् । लक्षित समुहलाई प्राथमिकतामा राखेर खोप सेवा सञ्चालन गरिएको छ ।