नवलपरासीमा एक करोडको हरियो केराउ बरामद

मेचीकाली संवाददाता

१४ श्रावण २०७८, बिहीबार
785 shares

हरि शर्मा
परासी, साउन १४ । भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको हरियो केराउ (मटर) जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको छ । बरामद भएका केराउ परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट रहेको प्रहरीले जनाएको छ ।

३ वटा ट्रक र ७ वटा पिकअप भेनबाट लोड गरेर लैजादै गरेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । बरामद भएको केराउको परिमाण ७ सय ३० क्विण्टल छ । परासीहुँदै सीमावर्ती क्षेत्रमा लैजानका लागि भैरहवाबाट बुधबार २३ वटा सवारीसाधनमा केराउ लोड भएको जानकारी पाएपछि निस्केको प्रहरीले परासी क्षेत्रबाट बुधबार ७ वटा पिकअप भेन पक्राउ गरेको हो ।

७ वटा पिकअप भेनमध्ये ६ वटामा बरामद भएका केराउ शिवशंकर इण्टरप्राइजेज भैरहवाबाट नवलपरासीको प्रतापपुरस्थित श्रीराम इण्टरप्राइजेज, अम्बे इन्टरप्राइजेज र सोनु एण्ड मोनु जनरल स्टोरको नाउँमा पठाइएको हो । त्यसैगरी बरामद भएको अर्को १ वटा पिकअप भेनको केराउ परासीस्थित शुभ गणपति ट्रेडर्सबाट पाल्ही गाउँपालिकाको सनईस्थित अखलेस एण्ड ग्रिजजेश ट्रेडर्सका नाउँमा पठाइएको हो । प्रतापपुर क्षेत्रबाट पक्राउ गरिएको ट्रकको केराउ एस एस इम्पेक्स विरगञ्जबाट प्रतापपुरको रखी रोशन जनरल स्टोरका नाउँमा पठाइएको थियो ।

त्यस्तै बर्दघाट क्षेत्रबाट बिहीबार २ वटा ट्रकबाट ४ सय २० क्विण्टल केराउ बरामद भएको छ । बरामद केराउ महाविर इण्टर नेशनल सप्लायर्स विरगञ्जबाट वैष्णोदेवि स्टोर सरावल नवलपरासीको नाउँमा पठाइएको प्रहरीले जनाएको छ । बरामद भएका केराउबारे आवश्यक अनुसन्धान भइरहेको नायब उपरीक्षक लामाले जानकारी दिए ।

पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट केराउ तस्करी बढ्न थालेपछि प्रहरीले विभिन्न स्थानमा चेकिङ्ग प्वाइण्ट राखेर चेकजाँचलाई तिव्रता दिएको प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताए । नेपालमा भन्दा भारतमा महङेमा बिक्री हुने भएकाले जिल्लाबाट केराउ तस्करी हुँदै आएको छ । हप्ता दिनअघि मात्र प्रहरीले २२ लाख बराबरको केराउ बरामद गरेर लिलामका लागि महेशपुर भन्सार कार्यालय पठाएको थियो ।