बाणगंगा जिल्लामै पहिलो बालमैत्री नगर घोषणा

मेचीकाली संवाददाता

१५ श्रावण २०७८, शुक्रबार
1257 shares

पार्बती आचार्य
कपिलवस्तु, साउन १५ । बाणगंगा नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बालमैत्री नगर घोषणा गरिएको हो । नेपालमा नवौँ, प्रदेशमा तेस्रो र जिल्लामा पहिलो नगरपालिकाका रुपमा बाणगंगा नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको हो । नगरपालिकालाई बालमैत्री बनाउन बालमैत्री स्थानिय शासन रणनिति २०६८, कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि २०७० र स्थानिय सरकार संचालन ऐन २०७४ र बालबालिका संरक्षण निति तथा ऐन नियमावलीको आधारमा बालअधिकारका क्षेत्रहरु बालबचाउ, बालसंरक्षण, बाल बिकास र बाल सहभागिताका सुचकहरु पुरा गरि बालमैत्री नगर घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

विगत ३ वर्षदेखि बालमैत्री स्थानीय शासन घोषणाका लागि विभिन्न प्रयासहरु भैरहे पनि कोरोना भाइरसको कारण सोचेजस्तो गरी काम अगाडी बढ्न सकेको थिएन । यद्यपि विभिन्न चुनौतीका बीच ११ वटै वडासहित सिंगो नगरलाई बालमैत्री स्थानीय शासन घोषणा गर्न सफल भएको नगर प्रमुख मंगल प्रसाद थारुले बताए । बालमैत्री स्थानीय शासन घोषणाका लागि चाहिने झण्डै ९८ प्रतिशत सूचना पूरा गरेको नगर प्रमुख थारुले बताए ।

कार्यक्रममा पुर्व कृषि मन्त्री तथा प्रतिनिधी सभा सदस्य चक्रपाणि खनाल वलदेव तथा जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले वालमैत्री नगर घोषणा भएको प्रमाण पत्र नगर प्रमुख मंगल प्रसाद थारुलाई प्रदान गरि घोषणा गरिएको थियो भने ११ वटै वडाका वडा अध्यक्षलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व कृषि मन्त्री तथा प्रतिनिधि सभा सांसद चक्रपाणि खनाल वलदेवले जिल्लामै पहिलो पटक वालमैत्री नगर घोषणा भएको सफलताको शुभकामना व्यक्त गरे । उनले घोषणा मात्र गरेर नहुने भन्दै आगामि दिनमा कार्यान्वयनको पक्ष मजबुत हुनुपर्नेमा जोड दिएका थिए । सम्पुर्ण सुचक पुरा गरि घोषणा गरे पनि आगामि दिनमा चुनौतीपुर्ण रहेकाले यस तर्फ ध्यान दिन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई आग्रह गरे । घोषणा आफैमा पूर्ण नभए थप क्रियाशील बन्ने कामको थालनीका रुपमा बुज्नुपर्ने भन्दै अब नगर बालमैत्री स्थानीय शासनका रुपमा अगाडी बढ्ने विश्वास व्यक्त गरे ।

त्यस्तै विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वालमैत्री नगर घोषणाले वालवालिका माथि हुने हिंसाको अन्त्य हुने अपेक्षा गरिन् । बाटो बनाउनु, बिजुली बत्ती बाल्नु मात्र बिकास होईन बालबालिकाहरुमा पनि लगानी लगाउन आबश्यक भएको घिमिरेले बताईन् । अब नगरपालिकालाई निकै चुनौती थपिएको भन्दै कार्यान्वयनको पक्षलाई दिगोपनका साथ अगाडि बढाउन आग्रह गरिन् ।

यसैगरी पुर्व राजदुत तथा नेपाली कांग्रेसका नेता दिप कुमार उपाध्यायले अब वालवालिका प्रति पनि दायित्व बढेको भन्दै घोषणा मात्र गरेर नहुने भएकाले सबै जनाले सोंच परिवर्तन गर्न आवश्यक रहेको बताए । लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले बाणगंगा नगरपालिका प्रदेशमै तेस्रो नगरको रुपमा र जिल्लामा पहिलो वालमैत्री नगर घोषणा भएकाले यो गौरवको बिषय बनेको बताए । उनले घोषणालाई कार्यान्वयन गर्न सम्पुर्ण नगरवासी लाग्नु पर्ने बताए ।

जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले बालमैत्री नगर घोषणा कार्यक्रममा बोल्दै हरेक काममा बाणगंगा नगरपालिका अगाडी रहेर शतप्रतिशत काम गर्न सफल भएको भन्दै शुभकामना व्यक्त गरे । भौतिक बिकासका कामहरु संगसंगै सामाजिक कार्यहरुलाई पनि अगाडी बढाएको भन्दै प्रशंसा गरे । स्वास्थ्य, कृषि लगायतका बिषयलाई लिएर अगाडी बढेमा सुखी नेपाली र संमृद्ध नेपालको साकार हुने उनले बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, नेपाली कांग्रेस नगर प्रतिनिधि हरिराज घिमिरे, जिल्ला समन्वय समिति उप प्रमुख तारावती चौधरी, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे लगायतले नगरपालिकालाई सफलताको शुभकामना दिंदै कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताए ।

उपप्रमुख चक्रपाणि अर्यालले आगामि दिनमा निरन्तरता दिनका लागि विभिन्न रणनिति बनाएको भन्दै ती योजनाहरुलाई क्रमशः लागु गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै कार्यक्रमका फोकल पर्सन तथा शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले बालमैत्री नगर घोषणाका लागि विभिन्न वडाहरुमा गरिएको क्रियाकलापहरुको जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सन्देशमुलक गीत, नृत्य तथा झांकी प्रस्तुत गरेका थिए । कार्यक्रममा अभियान सफल पार्न महत्वपूर्ण सहयोग गर्ने वडा बाल सञ्जाल, स्वास्थ्यकर्मी लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष तथा नगर प्रबक्ता बिष्णु प्रसाद पौडेलले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक, सामाजिक संघ संस्था, पत्रकार लगायत सम्पु्र्ण नगरवासीको अथक प्रयासले जिल्लामै पहिलो नगरपालिकाको रुपमा अब्बल गराउन सफल भएको भन्दै सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रम मेयर मंगल प्रसाद थारुको अध्यक्षता, उपप्रमुख चक्रपाणी अर्यालको स्वागत मन्तब्य तथा सामाजिक विकास समिति संयोजक भिष्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । भने प्रमुख प्रशासकिय अधिकृत वासुदेव खनाल, सम्पुर्ण वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिकाका सदस्यहरु, कर्मचारी, राजनितिक दल, कपिलवस्तु उद्योग बाणिज्य संघ, नागरिक सामाज, प्रहरी प्रमुख, विद्यालय, वाल सहजकर्ता, वाल संजालका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।