पर्वतको बिहादीमा बन्दै १५ शैयाको अस्पताल

मेचीकाली संवाददाता

१६ श्रावण २०७८, शनिबार
897 shares

ग्रामीण क्षेत्रमा विस्तार हुँदै प्राथमिक स्वास्थ्य सेवा
रोहित पुरी
बिहादी, साउन १६ । पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नम्बर २ वर्राचौरमा १५ शैयाको बर्राचौर प्राथामिक अस्पतालको निर्माण कार्य सुरु भएको छ । गाउँमा सरकारी स्वामित्वको अस्पताल निर्माण हुनेभएपछि यहाँका बासिन्दा खुशी भएका छन् । सामान्य स्वास्थ्य चौकीबाट सेवा लिंदै आएको गाउँमा अब घर नजिकै १५ शैयाको बेडसहितको अस्पताल निर्माण हुनेभएपछि खुशी भएका हुन् ।

बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसाल र वडा नं. २ का अध्यक्ष ओमबहादुर कुवँरले बिहादीमा बन्न लागेको उक्त अस्पतालको संयुक्त रुपमा शिलान्यास गरेका छन् । हालै एक संक्षिप्त समारोहका बीच उक्त स्वास्थ्य संस्था निर्माणकार्यको शुभारम्भ गर्दै पालिका अध्यक्ष भुसालले ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अस्पतालको निर्माण थालिएको बताए । अस्पतालबाट गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान हुने पालिका अध्यक्ष भुसालको विश्वास छ । आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा सञ्चालन हुनेगरि अस्पताल निर्माणको काम सरु गरिएको उनले बताए ।

यसअघिको केपी ओली नेतृत्वको सरकारले मुलुकभरका सबै पालिकामा न्यूनतम १५ देखि २५ शैयासम्मका प्राथमिक अस्पताल निर्माणको ऐतिहासिक कामको थालनी गरेको थियो । सोही आधारमा विहादीको बर्राचौरमा अस्पताल निर्माण हुन लागेको हो । जनस्वास्थ्यको संवेदनशिलतालाई ख्याल गरेर केपी ओली नेतृत्वको सरकारले मुलुकभरका पालिकाहरुमा एकसाथ अस्पताल निर्माणको घोषणा गर्दै बजेटको समेत प्रबन्ध गरेपछि विहादीमा पनि निर्माण हुन लागेको हो ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित ओली नेतृत्वको अघिल्लो सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पताल निर्माणको शुभारम्भ गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्तिको थालनी गरेको थियो । अहिले सोही अनुरुप कहीँ ५, कहीँ १० र कहीँ १५ शैयाका प्राथमिक अस्पताल निर्माण भइरहेका छन् ।

अस्पतालको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष भुसालले तोकिएको समयमै गुणस्तरीय तरिकाले अस्पताल निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले निर्माणका काममा समुदायको पनि उत्तिकै सहयोग, समन्वय र सहकार्य हुने बताए । अध्यक्ष भुसालले गाउँपालिकाले अगाडि सारेका योजनाहरुको सफल कार्यान्वयन भइरहेको र महामारीले प्रभावित भएका कतिपय योजनाहरुको पनि अहिले कार्यान्वयनको चरणमा पुगेको बताए ।

२ नं. वडाका अध्यक्ष कुवँरले निर्माणका क्रममा समुदायबाट आवश्यक सहयोग हुने भन्दै कुनै पनि बहानामा ढिलाई नगरी फटाफट निर्माणकार्यलाई सक्न निर्माण कम्पनीलाई आग्रह गरे । उनले समुदायको सम्पत्तीका रुपमा अस्पतालको निर्माण हुन लागेको भन्दै संरक्षणको काममा पनि समुदाय नै खट्नुपर्ने बताए । ६ महिना अगाडि नै टेन्डर छनोट भैसकेपछि केही समय ढिलोगरी अस्पताल निर्माणकार्यको शिलान्यासमा भएको छ । उक्त कार्यको निर्माण गर्ने जिम्मा भयाली बाबुरत्न जे.वि.कन्स्ट्रक्सन प्रालिले पाएको छ । निर्माण कम्पनीका कोअर्डिनेटर नवराज सिंजालीले १६ महिना भित्रमा काम सम्पन्न हुने प्रतिबद्धता जनाए ।

गिरीले दिए जग्गा
अस्पताल निर्माणका लागि आवश्यक पर्ने सबै जग्गा समाजसेवी डोलिन्द्र गिरीले उपलव्ध गराएका छन् । उनलाई गाउँपलिका अध्यक्ष र वडा अध्यक्षले सम्मानका साथ प्रशंसा पनि गरेका छन् । उनी वडाका जनप्रतिनिधि अर्थात् सदस्यसमेत हुन् । उनले कृषकहरुलाई मर्का नपर्ने गरि समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् ।

अस्पताल शिलान्यास कार्यक्रमको संचालन बर्राचौर स्वास्थ्य चौकी प्रमुख भुपेन्द्रनाथ पौडेलले गरेका थिए । कार्यक्रममा सहभागीहरुले जग्गादातालाई आभार प्रकट गर्नुका साथै निर्माण कम्पनीलाई तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह गरेका थिए । अघिल्लो सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्पतालका भवन निर्माणका लागि चालु आवमा ६ अर्ब १२ करोड २६ लाख निकासा गर्दै बजेटको सुनिश्चितता गरेका थिए । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने स्वास्थ्य मन्त्रालयले अनुमान गरेको थियो ।