रोटरी क्लब अफ सेन्ट्रल बुटवलको छैठौं पद हस्तान्तरण, अध्यक्षमा होमराज बस्याल

मेचीकाली संवाददाता

१७ श्रावण २०७८, आईतवार
975 shares

बुटवल, साउन १७ । बिश्वकै एक मात्र सत प्रतिशत मेजर डोनरहरुले स्थापना गरेको रोटरी क्लब अफ सेन्ट्रल बुटवलको छैठौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२०÷०२१ का अध्यक्ष बाबुराम भट्टराईले वर्ष २०२१÷०२२ का लागि होमराज बस्यालको अध्यक्षतामा नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेका हुन । हरेक वर्षको जुलाई देखि जुन महिना सम्मको एक वर्षे कार्यकाल रहने रोटरीको विधान रहेको छ ।

शनिबार सम्पन्न भएको कार्यक्रममा २०२०÷०२१ का अध्यक्ष बाबुराम भट्टराई, संस्थापक अध्यक्ष एजाज आलम, रोटरी ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजु, रोटरी डिष्ट्रीक ३२९२ का एसिस्टेन्ट गर्भनर राजकुमार गुप्ता लगायतले बस्याललाई कलर, ह्याम्वर तथा ग्यावल हस्तान्तरण गरेका थिए । कार्यक्रममा रोटरी वर्ष २०२१÷०२२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजुले अध्यक्ष बस्याललाई र अध्यक्ष बस्यालले रोटरीका अन्य पदाधिकारीहरुलाई पद तथा गोपिनियताको सपथ खुवाएका थिए ।

पद ग्रहण गर्दै अध्यक्ष बस्यालले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पार्दै सबैको सहयोग आवश्यक हुने बताए । आफ्नो कार्यकाल पनि कोरोना कहरकै बिचमा सुरु भएको उल्लेख गर्दै चुनौतीपूर्ण समयमा कोरोना भाइरसको प्रभाव रोक्ने अभियानसँगै विगतका कामलाई निरन्तरता दिदै आफ्नो कार्यकाल सफल र उदाहरणीय बनाउन सक्दो प्रयास गर्ने बताए । कोरोना महामारीमा स्वार्थभन्दा माथि सेवाको भावनाअनुसार अघि बढ्ने उनले बताए । साथै उनले रोटरी इन्टरनेशनलको विधान तथा विनियमको परिधिभित्र रहेर आफ३नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म मानविय सेवाका काममा सक्दो सहयोग पु¥याउने र क्लबको छविलाई अझ उचाइमा पु¥याउन सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सन् २०२०÷०२१ का अध्यक्ष बाबुराम भट्टराईले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कोरोना महामारीका बीच सुरु भएको आफ्नो कार्यकालमा सबै पदाधिकारी, सदस्यहरुको सहयोगमा विभिन्न सामाजिक कामहरु गर्न सफल भएको बताए । अस्पतालहरुमा विभिन्न उपकरण हस्तान्तरण, डायलाइसिस सेन्टर, विद्यालयमा पिउनेपानी जडान, विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोगसँगै रोटरी, रोट्रयाक्ट, इन्ट्रयाक क्लबहरु स्पोन्सर गर्नुका साथै आफ्नो कार्यकालमा सोचेभन्दा बढी प्रोजेक्ट गर्न सफल भएको बताउँदै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै उनले नव कार्यकालका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

वर्ष २०२१÷०२२ का अध्यक्ष होमराज बस्यालको अध्यक्षता, प्रदेश सभा सदस्य पूर्व मन्त्री लिला गिरीको प्रमुख आतिथ्यता, रोटरी ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजु, तिलोत्तमा नगरपापालिकाका नगर प्रमुख बासुदेव घिमिरेको विशिष्ठ आतिथ्यता तथा एजि राजकुमार गुप्ता, क्लबका पुर्व अध्यक्ष बाबुराम भट्टराई, टंक पोखरेल, रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष प्रतिमा भट्टराई लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य पूर्व मन्त्री लिला गिरीले विकास र समृद्धिका लागि विभिन्न सामाजिक संस्थाहरुको खाँचो रहेको औंल्याए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले समाजको सेवा नै उत्कृष्ट मानवधर्म भएको बताएका छन् । पछिल्लो समय मान्छेहरु कुलतमा फसीरहेको अवस्थामा समाज रुपान्तरणको अभियानमा रोटरीले गरेको योगदानको प्रसंसा गर्दै सामाजिक संघ संस्थाहरु मध्ये रोटरी क्लब अफ सेन्ट्रल बुटवलले सामाजीक क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै आफुलाई अग्रणी संस्थाका रुपमा स्थापीत गर्न सफल भएको बताए । सामुहिक रुपमा जुटेर काम गर्ने हो भने त्यसबाट बढी सफलता पाप्त हुने बताउँदै कोरोना महामारी न्यूनीकरणका लागि रोटरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । नयाँ कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सचेत नागरिकका हिसाबले आफुपनि सामाजिक कार्यमा रोटरीसँगै सहकार्य गरेर कामहरु गर्दै अगाडी बढ्ने उनले प्रतिबद्धता जनाए ।

विशिष्ठ अतिथी रोटरी ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजुले रोटरी क्लवको स्थापनाले समुदायको क्षमता विकास संगै आयआर्जन र उत्पादनका कार्यमा समुदायको उत्साह बढाउने काम भएको बताए । त्यस्तै ठूला प्रोजेक्टहरुमा लगानी गरि समाजमा देखिने गरि काम गर्नुपर्नेमा उनले जोड दिए । यो क्षेत्रमा रहेका अन्य क्लबहरुसँग सहकार्य गरि संयुक्त रुपमा अगाडी बढ्ने हो भने ठुला प्रोजेक्टहरु सहज रुपमा सम्पन्न गर्न सकिने उनले बताए । साथै उनले रोटरी क्लब अफ सेन्ट्रल बुटवलमा अहिले महिला सदस्यहरुको संख्या शुन्य रहेको उल्लेख गर्दै यो वर्ष महिला सदस्यहरुलाई थप गर्न सकेमा अझै उत्कृष्ट हुने बताए । नयाँ कार्यसमितीले आगामी दिनमा गर्ने नयाँ प्रोजेक्टहरुमा सधैं सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धत जनाउँदै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

रोटरी क्लव अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष एजाज आलमले रोटरीको स्थापनाको मुल मर्म नै समाजको हित भएको बताउदै सामाजिक कार्यका लागि नेपालका रोटरीहरुको सक्रियता अझै बढाउनु पर्ने आवश्यकता रहेको बताए । समाज र देशमा रोटरीहरुले महत्वपुर्ण काम गर्दै आइरहेको भएपनि सरकारबाट सहयोग नपाएको गुनासो गरे ।

कार्यक्रममा तिलोत्तमा नगरपापालिकाका नगर प्रमुख बासुदेव घिमिरे, क्लबका पुर्व अध्यक्ष टंक पोखरेल, राजकुमार गुप्ता, रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष प्रतिमा भट्टराई, रोटरी क्लब अफ लमहीका अध्यक्ष रवीलाल आचार्य, हिमाल गैरे, गौतम रौनियार लगायतले आ–आफ्नोे धारणा राख्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन वर्ष २०२०÷०२१ का सचिव गंगा प्रसाद ढकालले गरेका थिए । साथै उनले वर्ष २०२१÷२०२२ का सचिव सुरज प्रसाद पाण्डेलाई माईन्युड हस्तान्तरण गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो भने स्टार अफ दि इयरको उपाधी वर्ष २०२०÷०२१ का सचिव गंगा प्रसाद ढकालले प्राप्त गरेका थिए ।

रोटरी क्लव अफ सेन्ट्रल बुटवल नेपालमा सबैभन्दा बढी सदस्यता शुल्क भएको पहिलो र सबैभन्दा धेरै सदस्य संख्या भएको दोश्रो ठुलो रोटरी क्लव हो। प्रति सदस्यता शुल्क दश हजार डलर भएको उक्त क्लवमा हाल १ सय १ जना सदस्य रहेका छन् । क्लबमा संस्थापक अध्यक्ष एजाज आलमसहित रामप्रसाद बश्याल, टंकप्रसाद पोखरेल, राजेन्द्र कार्की, बाबुराम भट्टराईले नेतृत्व लिइसकेका छन् । क्लबले बुटवलमा गौतम बुद्ध मुटु अस्पतालको स्थापना गरेर देशका विभिन्न ठाउँमा शाखा विस्तार गरि मिगौलाको समस्याबाट पिडित बिरामीहरुको निःशुल्क डायलाइसिस गर्ने काम गरिरहेको छ ।