बुटवलमा कोभिड खोप लगाउन अनलाइन फारम

मेचीकाली संवाददाता

१८ श्रावण २०७८, सोमबार
533 shares

८० हजारभन्दा धेरैले भरे फारम


रमेश पराजुली
बुटवल, साउन १८ । बुटवल–१० का ५५ वर्षीय भुपेन्द्र खनाल यसअघि कोभिडविरुद्धको खोप लगाउन छुटे । पोष्ट कोभिडले शिथिल बनेका उनी २ पटक खोप लगाउने केन्द्रमा पुगेका थिए । तर, अत्यधिक भीडका कारण सहज पालो पाएनन् । परिवारले फर्काए । मंगलबार तिनै भुपेन्द्रको घरमा उपमहानगरपालिकाका स्वयम्सेवक आए । उनीहरुले अनलाइनमार्फत उनीसहित परिवारको भरिदिए । त्यसकै आधारमा उनीहरु अहिले खोप लगाउने पालो कुरेर बसे खोप लगाए ।

कोभिडविरुद्धको खोपलाई व्यवस्थित गर्न भन्दै बुटवल उपमहानगरपालिकाले अनलाइनमार्फत नाम दर्ता गर्न थालेको छ । ‘नाम दर्ता गर्न नभुलौं, खोप लगाउन नछुटौं’ भन्ने नारासहित बुटवल उपमहानगरका १९ वटै वडामा स्वयंसेवकहरु परिचालन गरिएका छन् । उनीहरुले वडा कार्यालय र टोल समितिमार्फत खोेप लगाउनेहरुको नाम दर्ता गर्छन् । आफ्नै वडा र टोलमा फारम भर्न पाइने भएपछि सर्वसाधरणको पहुँच बढेको छ ।

कोेभिड–१९ को महामारीविरुद्धको अभियानलाई मुलुकमै नमुना रुपमा सञ्चालन गरेकोे बुटवल उपमहानगरपालिकाले खोप कार्यक्रमलाई पनि प्रभावकारी बनाइरहेको छ । यसैकोे पछिल्लोे उदाहरण अनलाइन फारम हो । बुटवल उपमहानगरपालिकाले साउन ७ गतेबाट अनलाइन नामदर्ता अभियान सुरु गरेको हो । ४५ जना युवा स्वयंसेवकहरु वडा कार्यालय र टोलमा पुगेर अनलाइन नामदर्ता गरिहेका छन् । जसमा नाम र परिचय खुल्ने कागजातका आधारमा १८ वर्षभन्दा माथिका सबै नागरिकको नाम दर्ता गरिएको छ ।

उपमहानगर प्रमुख शिवराज सुवेदीले खोप लगाउने कामलाई व्यवस्थित गर्न र खोप लगाएकाको विश्वव्यापी तथ्यांक राख्न अनलाइन फारम दर्ता सुरु गरेको बताए । ‘अघिल्लोपटक खोप लगाउँदा धेरै भद्रगोल भयो । खोप लगाउनुपर्ने पनि छुटे,’ उनले भने, ‘भद्रगोल हटाउन र सबै व्यक्तिका लागि खोपको व्यवस्था गर्न यसो गरेका हौं ।’ बुटवलमा अघिल्लो पटक अस्थायी र विदेशी नागरिक खोप लगाउनबाट छुटेका थिए । अनलाइन फारममा स्थायी वासिन्दासँगै अस्थायी र बुटवलमा बस्ने विदेशी नागरिकको समेत नाम संकलन गरिएको छ । संक्रामक रोग जो कोहीलाई लागेपनि प्रभावित हुने भएकाले बुटवलमा बस्ने सबै नागरिकको नाम संकलन गरिएको प्रमुख सुवेदीले बताए ।

विदेश जानेलाई खोप लगाएको प्रमाण आवश्यक पर्छ । अनलाइन फारमले त्यस्तो प्रमाण राख्न पनि सहज भएको स्थानीयको अनुभव छ । ‘मलेसियाका लागि तयारी गरिहेको थिएँ । खोपविना प्रक्रियाअघि बढेन,’ बुटवल–४ का निमबहादुर थापाले भने,‘खोप लगाएको अनलाइन प्रमाण पठाएपछि बल्ल प्रक्रिया अघि बढेको छ ।’ कोभिडविरुद्ध नाम दर्ता अभियान साउन मसान्तसम्म चल्ने छ । अहिलेम्म ८० हजार २ सयभन्दा धेरैले अनलाइन फारम भरेका छन् । उक्त अवधिमा एक लाख २० हजार नागरिकको नाम दर्ता गरिसक्ने लक्ष्य लिएको छ । अनलाइन नाम दर्ता अभियानमा बुटवल उपमहानगरपालिका र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व स्वास्थ्य संगठन, यूएनडिपीले सहयोग गरेका छन् । १८ वर्षमाथिका सबै व्यक्तिको नाम दर्ता भएपनि सरकारले तोकेको उमेर अनुसारको अभियानमा उनीहरुले खोप लगाउन पाउने छन् । ‘नामदर्तापछि खोप लगाउने व्यक्तिले खोप लगाउन आफ्नो पालो मोबाइल म्यासेजबाट थाहा पाउने छन्,’ उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले भने, ‘पालोअनुसार खोप लगाउनेछन् । कोही खोपबाट बन्चित हुने वा खोप केन्द्रमा भिड हुनेछैन ।’

बुटवलमा यसअघि पनि वडा नम्बर १, ३ र ४ का शहरी स्वास्थ्य केन्द्र एवं मोतीपुर र सेमलारमा अनलाइन .मार्फत नाम संकलन गरेर कोभिड खोप लगाइएको थियो । अनलाइनमार्फत खोप लगाउँदा कुनै व्यक्ति छुट्ने वा लक्षित व्यक्तिबाहेकले खोप लगाउने समस्या नदेखिएको प्रवक्ता रेग्मीले बताए । बुटवलसहित देशका ७ स्थानीय तहमा कोभिडविरुद्ध अनलाइन फारम दर्ता भएको छ । अन्य देशमा जस्तै नेपालमा पनि खोपलाई व्यवस्थित गर्न र खोप लगाएका व्यक्तिको विश्वव्यापी तथ्यांक राख्न परीक्षणका रुपमा ७ स्थानीय तहमा कार्यक्रम चलाइएको युएनडिपिका लुम्बिनी प्रदेश संयोजक सुदीप अर्यालले बताए ।