

काठमाडौं, साउन १८ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने तयारी गरेको छ। प्रतिष्ठानको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले दुर्गेशलाई बहिस्कार निर्णय गरेको हो। यद्यपी निर्णय सार्वजनिक भने गरिसकिएको छैन।
दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए। प्रतिष्ठानले सो गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै दुर्गेशलाई पत्र नै काटेको थियो। तर, प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले गीत सार्वजनिक गरेका छन्।
गीतलाई लिएर सामाजिक सञ्जालदेखि महिला एवं महिलासँग सम्बन्धित संस्थाहरुले आपत्ति जनाएका छन्। प्रतिष्ठानले गरेको आग्रह अस्वीकार गर्दै गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले दुर्गेशलाई संस्थागत बहिस्कारको निर्णयमा पुगेको बताइएको छ।