कोरोना विरुद्धको खोपमा लापरबाही गरेको आरोप

मेचीकाली संवाददाता

१८ श्रावण २०७८, सोमबार
579 shares

नगेन्द्र केसी
भुजौली, साउन १८ । रुपन्देही शुद्धोधन गाउँपालिकामा कोरोनाविरुद्धको १ सय ५५ डोज खोप दुरुपयोग भएको पाइएको छ । स्वास्थ्य निर्देशनालयको नीति विपरीत गाउँपालिका अध्यक्षको दबाबमा बियर फ्याक्ट्री र श्रीनगर एग्रो र्फममा नीति विपरीत गएर खोप लगाएको स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले स्विकार गरेको भन्दै माओवादी केन्द्र र वाइसीएल नेपाल शुद्धोधनले विरोध गरेको छ ।

जनताको अधिकारमाथि कुठाराघात गर्ने नजालमा समेत विरोध गरिएको छ । गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले आफुले कुनै नीति विपरित कुनै पनि काम नगरेको बताएका छन् । उनले बियर फ्याक्ट्री र श्रीनगर एग्रो र्फमबाट मजदुरहरूलाई खोप लगाउन निवेदन आएको कारणले स्वास्थ्य चौकीमा धेरै भिड हुने भएकोले स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीलाई सिफारिस गरी बियर फ्याक्ट्री र श्रीनगर एग्रो फाममा गएर खोप लगाइएको स्वीकार गरे । अबको केही दिनमै गाउँपालिकाका हरेक वडाका टोल टोलमा गएर खोप लगाइने अध्यक्ष चौधरीको भनाइ छ ।

यता माओवादी केन्द्र शुद्धोधन गाउँपालिकाका सचिव रुक्मांगत खनाल वाइसीएल नेपालका केन्द्र कमेटी सदस्य शम्भु चौहान, वाइसीएल जिल्ला सदस्य इन्द्रराज गैरे, अर्जुन थापा, जसपा जिल्ला सचिव ऋषि पाठकलगायतले गाउँपालिकाका अध्यक्ष चौधरीले आफ्नो मनमानी गरेको र स्वास्थ्यकर्मीमाथि लापरबाही गरेको बताएका छन् । स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले गाउँपालिकाका अध्यक्ष र स्वास्थ्यकर्मीको सरसल्लाहमा भिडभाडलाई मध्यनजर गरी मजदुरहरूको हितका लागि फ्याक्ट्रीमा स्वास्थ्य मापदण्डअनुसार खोप लगाइएको बताए ।