

बुटवल । नेकपा एमाले गुल्मी–रुपन्देही सम्पर्क मञ्चको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली महीलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुक्रबार रक्तसञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरीएको हो ।
कार्यक्रममा मञ्चका अध्यक्ष हेम थापाको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य खड्ग केसीको प्रमुख आतिथ्यता, प्रदेश कमिटी सदस्य हिरा एसी, चिन्तामणी पाण्डे, मञ्चका निवर्तमान अध्यक्ष देवराज खनाल, गुल्मी जिल्ला कमिटी सदस्य केदार भुसाल, सत्यवती गाउँ कमिटी अध्यक्ष भिम पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
उक्त रक्तदान कार्यक्रममा ६७ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक लक्ष्मण पन्थले जानकारी दिए । राजनैतिक दल र भातृ संगठनहरुले भाषण र कुरा गर्ने काम नगर्ने भन्ने सोच बढिरहेको बेला मञ्चले बृहत रक्तदान कार्यक्रम संचालन गरेर सबैको मन जितेको प्रदेश सभा सदस्य केसीले बताए । तीजमा दर खाने, नाचगान र अनाबश्यक कुरामा बढी खर्च गर्ने प्रवृती बढीरहेका बेला मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रमले अरु संघसंस्थाहरुलाई पनि सामाजिक काम गरेर फरक तरीकाले चाडपर्व मनाउन सकिन्छ भन्ने सन्देश दिएको उनले बताए ।

पछिल्लो समय अस्पतालहरुमा कोरोना सँगै डेंगुका बिरामीहरुको संख्या बढिरहेको छ । अस्पतालहरुमा रगत अभाव भइरहेका बेला रगत नपाएर कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर तीजको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको मञ्चका अध्यक्ष थापाले बताए ।
नेकपा एमाले–गुल्मी रुपन्देही सम्पर्क मञ्चले राजनीतिक एजेण्डामा मात्र नभई सामाजिक सांस्कृतिक एवं जनजीविकाको सवालमा समेत महत्वपूर्ण योगदान पुर्याउनु पर्छ भन्ने मान्यताका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापाको भनाई थियो । रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने भन्दै उनले रचनात्मक कार्यमा सहयोग गर्ने रक्तदाता लगायत सबैलाई धन्यवाद दिए । कार्यक्रम संयोजक पन्थको स्वागत र सचिव चिरन अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । मञ्चले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कामहरु गर्दै आएको छ ।