एकै वडामा १० वटा जलविद्युत आयोजना

मेचीकाली संवाददाता

१९ श्रावण २०७८, मंगलवार
529 shares
default

बेनी । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा ३०४ मेगावाट क्षमताका दश वटा जलविद्युत आयोजना भित्रिएका छन् । कालीगण्डकी, म्रिस्ती, निलगिरी, घलेम्दी र रेले खोला रहेको नारच्याङमा ४९ मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजना निर्माण सकेर विद्युत उत्पादन गरिरहेका छन् । थप ११६ मेगावाट क्षमताका तीन वटा आयोजना निर्माणाधीन र १३९।९४ मेगावाट क्षमताका चार वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

२०४५ मा नेपाल विद्युत प्राधिकरणले २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना निर्माण गरेको नारच्याङमा वि।स। २०७६ मा म्याग्देलीहरुको अगुवाइमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजना निर्माण भएको थियो ।

२०७३ जेठदेखि माउन्टेन इनर्जी नेपालले निर्माण सुरु गरेको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत आयोजनाले ब्यवसायीक उत्पादन सुरु गरेको छ । निलगिरी खोला हाइड्रोपावर लिमिटेडले एकै साथ ३८ मेगावाट क्षमताको निलगिरी–१ र ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

१३ अर्ब लागत अनुमान गरिएको दुईवटै आयोजना सन २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको इञ्जिनियर केशव वाग्लेले बताए । ह्युम कन्सल्ट प्रा।ली प्रवर्द्धक रहेको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाले नारच्याङको बेसी गाउँको सिरानमा रहेको म्रिस्तीखोला जलविद्युत आयोजनाको आउटलेटदेखि बाँधसम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ ।

कम्पनीका प्रतिनिधि होमनाथ पाण्डेले बाँध, पाइपलाइन र विद्युततगृह निर्माण सुरु गर्ने तयारी भएको बताए । सुपर घलेम्दी हाइड्रोपावर प्रा।लीले बनाउने ९।१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजनाको दुई वर्षअघि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता भएको थियो ।

कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको विद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । कालीगण्डकी गर्ज लगानीकर्ताको खोजीमा छ ।

माउन्टेन इनर्जी नेपालले म्रिस्ती खोलाको विद्युतगृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय अध्ययन थालेको छ । हाइड्रो सपोर्ट प्रा।ली प्रवर्द्धक रहेको ५३।५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताव गरिएको छ ।

प्रशारण लाइन तयार

कालीगण्डकी र आसपासका नदीहरुमा निर्माण भएका र निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युतलाई राष्ट्रिय प्रशारण प्रणालीमा जोड्न नेपाल विद्युत प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा २०७७ माघमा २२० केभी क्षमताको सबस्टेशन बनाएको थियो । दानादेखि पर्वतको खुर्कोट सम्म ११० वटा टावर बनाएर ३९।६ किलोमिटर डबल सर्किटको तार तानिएको छ ।

सबस्टेशन र प्रशारण लाइन बनाएपछि भने कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग बाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहेका घलेम्दीखोलाका सञ्चालक प्रमोद श्रेष्ठले बताए ।

बदलियो गाउँ

निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत आयोजनाले नारच्याङमा चहलपहल र आर्थिक गतिविधि बढाएको छ । जग्गाको भाउ आकासिएको छ । अवसर र रोजगार खोज्दै सहर बजार, पसेका र विदेशिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइसराइ रोकिने क्रममा छ ।

वडाध्यक्ष चन्द्रप्रकाश फगामी जलविद्युत आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिज र भवन लगायत पूर्वाधारले स्थानीयबासीलाई सुविधा पुगेको बताउँछन् । ‘अक्करे भीर छिचोलेर गाडी गुडेका मात्र छैनन् घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ,’ उनले भने ‘गाउँका कच्ची घर पक्किमा रुपान्तरण भइरहेका छन् ।’

उनका अनुसार प्रतिरोपनी ३० लाखदेखि ३५ लाखमा जग्गा खरिद बिक्री हुन थालेको छ । अवसर र रोजगार खोज्दै सहर बजार, पसेका र विदेशिएकाहरु गाउँ फर्किन थालेका छन् ।

जग्गाको मुआब्जा, ब्यापार, कृषि, पशुपालन, होटल, रेष्टुरेन्ट, ठेक्का–पट्टा, ढुवानी, यातायात ब्यवसाय, शेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताए ।

‘प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गाउँमै धेरै सम्भावना र अवसर सिर्जना भएको छ,’ उनले भने ‘आयोजनाहरुले सामाजिक उत्तरदायित्वका कार्यक्रमबाट शिक्षा, स्वास्थ्य, सीप विकास र पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ ।’

निर्माणका क्रममा हुने वातावरणीय क्षतिको असर न्युनीकरणका लागि जलविद्युत आयोजनाहरुले कुल लागतको शुन्य दशमलब ७५ प्रतिशत सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि बिनियोजन र खर्च गर्नुपर्ने हुन्छ । जलविद्युत आयोजनाले सरकारलाई तिर्ने रोयल्टी ९सलामी दस्तुर० मध्ये संघीयले ५०, प्रदेश र पालिकालाई २५र२५ प्रतिशतका दरले बाँडफाँट हुने संवैधानिक व्यवस्था छ ।

सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत नारच्याङका सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता, वृक्षारोपण, सिपमुलक तालिम, जैबिक बिबिधताको खोज अनुसन्धान र संरक्षण, पर्यटन प्रर्वद्धनलाई सहयोग पुग्ने कार्यक्रम गरेका छन् ।

हालै निर्माण सकिएको म्रिस्तीखोला जलविद्युत आयोजनाको वातावरणीय इकाईका प्रमुख रामकुमार खड्काका अनुसार प्रभा माविका तीन जना निजी स्रोतका शिक्षकको लागि सात वर्ष तलबभत्ता उपलब्ध गराएको थियो ।

प्रभा माविले दुई वर्षदेखि हाइड्रो इञ्जिनियरीङ विषयको पठनपाठन सञ्चालन गरेको छ । क्रान्ति, निलगिरी, धवलागिरी र नारच्याङ आधारभूत विद्यालयका प्रावि तहका एकरएक जना शिक्षकलाई सात बर्ष सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत म्रिस्तीखोलाले तलबभत्ता ब्यवस्था गरेको थियो ।

नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न पाँच लाख, शिवालय मन्दिर निर्माणमा पाँच लाख रुपैयाँ सहयोग गरेको म्रिस्तीखोलाले स्थानीयबासीलाई घरबास, च्याउ खेती, सवारी चालक, इलेक्ट्रिसियन सम्बन्धी तालिम प्रदान गरेको थियो । निर्माणाधिन निलगिरीखोला जलविद्युत आयोजनाले प्रभा मावि परिसरमा १५ लाख रुपैयाँ खर्चेर चमेनागृहको भवन निर्माण गरेको छ ।

म्रिस्तीखोला जलविद्युत आयोजनाले बि।स। २०७१ कालीगण्डकी नदी माथि बेलिब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बेसी र पटारको सिमानास्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप दुई वटा बेलिब्रिज बनाएको म्रिस्ती खोलाले १४ किलोमिटर सडक निर्माण गरेको छ ।

रेलेखोला जलविद्युत आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेसीदेखि लेकगाउँ गत वर्ष सडक सञ्जालमा जोडिएको थियो । स्थानीयबासी, तत्कालीन जिविस र गाउँपालिकाले रु। एक करोड भन्दा बढी खर्च गरेपनि बेसी देखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो ।

जलविद्युत आयोजनाले बिस्फोटक पदार्थ र उपकरण प्रयोग गरेर अक्करे पहाड छिचोलेर गाउँमा सडक पुगेको लेकगाउँका श्याम पुर्जाले बताए । ‘पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न सकेका थिएनौ,’ उनले भने ‘आयोजनाले सडक बनाएपछि स्थानीयबासीलाई पनि आवत जावत, ढुवानी र निकासीमा सहज भएको छ ।’

म्रिस्ती खोलाले सेनाको क्याम्प राख्न बेसीगाउँमा बनाएको भवनमा अन्नपूर्ण गाउँपालिकाले गत पुष महिनादेखि २५ शैय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गरेको छ । नारच्याङबासीको आर्थिक हैसियतमा पनि जलविद्युत आयोजनाहरुले परिवर्तन ल्याएका छन् ।

गत वर्ष म्रिस्ती खोला जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाहरुले सत्र लाख तीन सय ५१२ कित्ता सेयर लगानी गरेका थिए । धितोपत्र बोर्डमा गत हप्ता म्रिस्तीको प्रतिकित्ता सेयर ९७० का दरले कारोबार भएको थियो । सेयरको भाउ करिब १० गुणाले बढेपछि लगानी गरेका नारच्याङबासी उत्साहित छन् । संस्थापक सेयर लगानी गरेका उनीहरुले दुई वर्षपछि किनबेच गर्न पाउँछन् । रासस