‘प्रेमगीत ३’ हिन्दी संस्करणलाई विदेशी फिल्म मान्दै सेन्सरको अनुमति

मेचीकाली संवाददाता

६ आश्विन २०७९, बिहीबार
855 shares

काठमाडौं । चलचित्र विकास बोर्डले हिन्दी संस्करणमा तयार भएको फिल्म ‘प्रेमगीत ३’ लाई विदेशी फिल्म मान्दै सेन्सरका लागि अनुमति दिएको छ।

निर्माण पक्षले विदेशी फिल्म सरह १५ प्रतिशत कर तिर्ने भएपछि फिल्मलाई सेन्सरको अनुमति दिइएको हो। यसको नेपाली संस्करण पहिला नै सेन्सर भइसकेको छ। तर हिन्दी संस्करणको आवश्यक कागज नपुगेको भन्दै सेन्सर रोकिएको थियो। ‘नेपाली फिल्मलाई पनि १५ प्रतिशत कर तिर्दा दुःख लागिरहेको छ। तिर्न पर्ने भएपछि हामी तयार भयौं,’ वितरक मनोज राठीले भने।

फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काले नेपाली फिल्मलाई भाषाकै कारण विदेशी मान्यता दिन नहुने भन्दै आपत्ती जनाएका थिए। हिन्दी संस्करणको फिल्मलाई नेपाली फिल्म सरह सुविधा दिन नहुने भन्दै फिल्मकर्मीबीच विवाद भइरहेको थियो। यो फिल्मका वितरक र निर्माताले १५ प्रतिशत कर तिरेपछि मात्रै फिल्मले सेन्सर अनुमति पाएको हो। यो फिल्म असोज ७ गतेदेखि नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुँदैछ।