कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा

मेचीकाली संवाददाता

१९ श्रावण २०७८, मंगलवार
856 shares

पार्बती आचार्य
कपिलवस्तु, साउन १९ । कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम अन्तिम चरणमा पुगेको छ । प्लान्ट निर्माणको काम भइसकेको र केही दिनमै प्लान्ट सञ्चालनमा आउने कपिलवस्तु अस्पतालका मेसु किशोर बञ्जाडेले बताए । फेयर ट्रेड प्रालिले प्रतिस्पर्धामाफर्त १ करोड २८ लाखमा प्लान्ट निर्माणको काम पाएको थियो । गत असार ८ गते कामको सम्झौता भई असार मसान्तसम्म काम सकाउने समय दिइएकोमा केही प्राविधिक कारणले समयमा सो कार्य हुन नसकेको मेसु बञ्जाडेले बताए ।

चीनबाट ल्याइएको सो प्लान्टले प्रतिमिनेट ४ सय १६ लिटर अक्सिन उत्पादन गर्ने बताइएको छ । सो प्लान्टबाट प्रतिमिनेट ४ सय १६ लिटर उत्पादन हुने र दैनिक १२ घण्टा चलाएमा २ लाख ९९ हजार लिटर उत्पादन हुने वताइएको छ । ठेकेदार कम्पनीले सो मेसिन जडान जिसी रिसर्च एण्ड डेभलपमेन्टलाई जिम्मा दिएको थियो । सो कम्पनीका इन्जिनियर देबेन्द्र श्रेष्ठले जडानको काम सकिएको बताए । प्लान्टको पाइपमा केही समस्या देखिएको र त्यो फेर्नेबित्तिकै प्लान्ट सञ्चालनमा आउनेसमेत उनले जानकारी दिए ।

प्लान्टमा ट्रान्सफर्मर, ययर कम्पे्रशर, फ्रिजिङ ड्रायर, एडजसन ड्रायर, फिल्टर, सेप्रेशन सिस्टम, एक्टीभ कार्बन फिल्टर, ग्यास बफर ट्याङक, स्टेरिलाइजीङ फिल्टर रहेको छ । अस्पतालमा सयभन्दा बढी अक्सिजन सिलिन्डर छन् । कोरानाको दोस्रो लहरमा गत जेठमा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो ।

तेस्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने कपिलवस्तु अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लाले बताए । केही दिनमै सञ्चालनमा ल्याइने प्लान्टबाट दैनिक ५० देखि ६० वटा ठुला अक्सिजन सिलिन्डर रिफिल हुने व्यवस्थापक शुक्लाले बताए । प्लान्टको लागि केन्द्रीय सरकारले कपिलवस्तु अस्पताललाई १ करोड ५० लाख रकम छुट्याएको थियो ।