न्यू होराइजन एसईई फेस्ट सुरू

मेचीकाली संवाददाता

२७ जेष्ठ २०८१, आईतवार
715 shares

बुटवल । न्यू होराइजन ईङलिस बोर्डिङ सेकेण्डरी स्कूल बुटवलले एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको होराइजन एसईई फेस्ट सुरू भएको छ । विद्यार्थीहरुकोसर्वाङ्गिण विकास गर्ने उद्देश्य सहित विभिन्न ६ विधाको प्रतिस्पर्धा हुने फेस्टको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले उद्घाटन गरे । शनिबारदेखि सुरू फेस्ट असार २ गतेसम्म सञ्चालन हुनेछ । सो अवसरमा बोल्दै प्राचार्य उपाध्यायले विद्यालयले निरन्तर रुपमा विद्यार्थीहरुका प्रतिभालाई प्रस्फुटन तथा परिस्कृत गर्ने अवसरहरु प्रदान गर्दै जाने बताए ।

होराइजन एसईई फेस्टमा एकल तथा समूहगत कुल ६३ प्रतियोगीहरु सहभागी रहेको एसईई खुल्ला नृत्य प्रतियोगितामा किरण भण्डारी प्रथम, कृपा पौडेल द्वितीय र सुवेक्षा क्षेत्री, तनिशा राना, अस्मिता भुसाल र गिरिशा थापाको समूह तृतीय भएका छन् । उनीहरूले क्रमस १० हजार, ५ हजार र २ हजार ५०० नगद, कप र प्रमाणपत्र प्राप्त गरे । यस्तै ३८ प्रतियोगीहरुबीच भएको गायन प्रतिस्पर्धामा क्रिस विक प्रथम, सोनिया बराल द्वितीय र आरभी आचार्य भएका छन् । उनीहरुले क्रमस ६ हजार, ४ हजार २ हजार नगद, कप र प्रमाणपत्र पुरस्कार हात पारे । उद्घाटन कार्यक्रमको सञ्चालन विद्यालयका कक्षा १० का संयोजक प्रकाश गौतमले गरेका थिए । निर्णायकको भूमिकामा लोकेन्द्र शाह, सुमन पौडेल, कल्पना कुसुम र विशाल थापा रहेका थिए ।

कूल ३९ समूह सहभागी हाजिरीजवाफ प्रतियोगिताबाट ६ समूह असार २ गते हुने अन्तिम चरणमा प्रवेश गरेका छन् । फेस्ट अन्तर्गतका बाँकी प्रतिस्पर्धाहरू भने, जेठ २८ देखि ३० गतेसम्म ३२ टिमकाबीच फुटसल तथा जेठ २९ देखि ३२ गतेसम्म २९ टिमकाबीच टि टेन क्रिकेट प्रतियोगिता सञ्चालन हुने फेस्टका संयोजक प्रकाश खनालले जानकारी दिए । जसमा विजेताले नगद २० हजार, उप विजेताले १० हजार पुस्कार प्राप्त गर्नेछन् ।

सम्पूर्ण प्रतिस्पर्धाहरुमा दर्ता निःशुल्क रहेको कुरा संस्थाका लेखा अधिकृत लिला खनालले जानकारी दिए । असार १ र २ गते रोबटिक्स कार्यशाला एज्गीवेशनसहित कार्यक्रमको समापन गरिने संयोजक खनालले जानकारी दिए । प्रतिस्पर्धीहरुको हौसला बढाउन पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनको उपस्थिति रहेको थियो ।