बुटवल । देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ ले देवीनगरले उपभोक्तालाई शनिबार मोबाइल एप सम्बन्धी अभिमुखीकरण प्रशिक्षण दिएको छ । छिटो छरितो सेवाका लागि संस्थाले हालसालैदेखि दियालो टेक्नोलोजिज प्रालिले विकास गरेको देवसिद्ध खानेपानी मोबाइल एप प्रयोगमा ल्याएको छ । सो अवसरमा अन्तरक्रिया गरेर संस्थाले एपको सही रूपमा उपयोग गर्न आग्रह गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा साधारणसभाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । देवसिद्ध खानेपानी संस्था डिजिटलाइजेसन बनाउनेतर्फ अघि बढेको छ । संस्थाका अध्यक्ष भरत पाठकले रिडिङ, तालिका, स्वचालित रिडिङ, खपत युनिट र आफ्नो स्टेटमेन्ट लगायत एपमार्फत हेर्न सकिने बताए । दियालो टेक्नोलोजिज प्रालिका प्राविधिक अमित चिमोरियाले एपको कार्यान्वनपछि खानेपानी तथा सरसफाई क्षेत्रको विकासमा थप योगदान पुग्ने अपेक्षा लिए ।
कार्यक्रममा बोल्दै डिभिजन खानेपानी तथा सरसफाई कार्यालय योगिकुटीका प्रमुख राजकुमार चौधरीले देवसिद्ध खानेपानी संस्था सबै क्षेत्रमा अब्बल बन्दै गइरहेको बताए । चौधरीले संस्थालाई आवश्यक सहयोग गर्न संस्था सधै तयार रहेको प्रतिबद्धता व्यक्त गरे । त्यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले खानेपानी र सरसफाईको क्षेत्रमा देवसिद्ध नमूनाको रुपमा अघि बढेको भन्दै प्रशंसा व्यक्त गरे ।
संस्थाका सचिव लोकराज शर्माले संस्थाको गुरुयोजना पूरा गर्ने प्रक्रियामा रहेको जानकारी दिए । शर्माले आउँदो वर्ष खानेपानी ल्याब स्थापन गर्ने, कार्यालय भवनको तला थप गरिएको र थप सार्वजनिक शौचालयहरु बनाउँदै जाने बताए । खानेपानी संस्थामा १ हजार ४०० उपभोक्ता सदस्य रहेका छन् । संस्थाका अध्यक्ष भरत पाठकको अध्यक्षता, उपाध्यक्ष लालबहादुर थापाको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।