बुटवल । बुटवल–११ स्थित प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थामा प्रत्यक्ष निर्वाचन गरी उपभोक्ताले चुनेको व्यक्ति नेतृत्वमा आउनुपर्ने माग गर्दै उपभोक्ताहरुले शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
बिसी टोल विकास संस्थाका अध्यक्ष विरबहादुर कुँवरको संयोजकत्वमा विभिन्न १६ वटा टोल विकास संस्थाका अध्यक्ष, प्रतिनिधि तथा उपभोक्ताहरुले खानेपानी संस्थाका सहसचिव टिकाराम सुनारलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रत्येक वर्ष साधारण सभा गरी संस्थाको आयव्यय सार्वजनिक गर्नुपर्ने र २/२ वर्षमा अधिवेशन गर्नुपर्नेमा २०६४ सालयता साधारणसभा र अधिवेशन नगरी संस्था बिधान विपरित चलिरहेको उपभोक्ताहरुको भनाई छ ।
संस्थाका अध्यक्ष जीतवहादुर मल्ललाई पटकपटक साधारण सभा तथा अधिवेशन गर्न अनुरोध गर्दासमेत बेवास्ता गर्दै आएपछि ३५ दिनभित्र साधारणसभा तथा अधिवेशन गर्न माग गर्दै गत असार १९ गते प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित बुटवल उपमहानगरपालिका, खानेपानी डिभिजन कार्यालय, बुटवल ११ वडा कार्यालय र खानेपानी संस्थामा ज्ञापनपत्र बुझाइएको एफ सेक्टर टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर गुरुङले बताए । लामो समयसम्म संस्थाको साधारणसभा तथा अधिवेशन नहुँदा आर्थिक अनियमिततासमेत भएको हुनसक्ने उपभोक्ताहरुको आशंका रहेको उनले बताए ।
सरकारी निकायबाट आएको दवावपछि अधिवेशनको तयारी गरेपनि अध्यक्ष निकटका व्यक्तिलाई प्रतिनिधिका रुपमा छनोट गरी अधिवेशन गर्न लागेको जानकारी पाएपछि बाध्य भएर पुनः ज्ञापन पत्र बुझाउनु परेको संयोजक कुँवरले बताए । उनका अनुसार उपभोक्ताहरुलाई जानकारी नगराई शनिबार प्रतिनिधि छनोट गर्ने तयारी गरिएको छ ।
सोही अवसरमा बोल्दै उपभोक्ताहरु रन्जितसिंह चौधरी, तेजेन्द्र खनाल, शंकर ज्ञवाली, हरि भट्टराई, रेबन्त किश्वकर्मा लगायतले नेपालको संविधान २०७२ पछि बनेको स्थानिय सरकार संचालन ऐन २०७४ बमोजिम पारित भएको बुटवल उपमहानगरपालिका जलस्रोत (उपयोग) ऐन, २०८० लाईसमेत वेवास्ता गरी मनोमानी ढंगले गर्न खोजिएको साधारण सभा प्रति बहुसंख्यक सचेत उपभोक्ताहरुको असहमति रहेको बताए । प्रत्येक सदस्यले साधारण सभामा सहभागि भई प्रतिवेदन उपर छलफल तथा नेतृत्व चुन्न पाउनुपर्ने अधिकार सहितको साधारण सभा आयोजना गर्न आग्रह गरे ।
उता अध्यक्ष संस्थाका अध्यक्ष मल्लले २०६७ सालदेखि साधारणसभा तथा अधिवेशन हुन नसकेको स्वीकार गर्दै तीनपटक साधारणसभा तथा अधिवेशन गर्ने निर्णय भएपनि विभिन्न कारणले सम्पन्न गर्न नसकिएको बताए । २०६२ सालमा स्थापना भएको संस्थामा हाल २ हजार ६४५ घरधुरी उपभोक्ता रहेका छन् ।