बुटवल । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रबेसीतर्फ उडेको एयर डाइनेस्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले पुष्टि गरेका छन् । हेलिकप्टर पाइलट अरुण मल्लसहित अरु चार जना चिनियाँ नागरिक रहेका थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु–महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।
यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो । उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो । घटनालगत्तै सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको थियो भने प्रहरी र सेनाका साथै स्थानीय समेत उद्धारमा खटिएका थिए ।
नेपाली आकाशमा हेलिकप्टर दुर्घटना योसहित ४० वटा भइसकेको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार २७ डिसेम्बर १९७९ मा लेटाङमा भीभीआईपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए । यस्तै त्यसपछि २७ अप्रिल १९९३ मा हिमालयन हेलिकप्टर लेटाङमै दुर्घटना हुन पुग्यो । यद्यपि सो दुर्घटनामा भने कुनै मानवीय क्षति भएको थिएन ।
पछिल्लो पटक मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो । ११ जुलाई २०२३ मा भएको उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।