लोकदोहोरी गीत प्रतिष्ठान रुपन्देहीको साधारणसभा

मेचीकाली संवाददाता

८ भाद्र २०८१, शनिबार
226 shares

बुटवल, भदौं ८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको १६ औं वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ६ जना स्रष्टालाई सम्मान गरेको छ । सो अवसरमा आजिवन सदस्य पुरस्कारबाट प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खेम बहादुर हमाल, स्रष्टा सम्मानबाट दिला गाहा, बाध्यबादक मधु शाही, नव प्रतिभा पुरस्कारबाट निष्ठा पुन तथा संस्थागत योगदान पुरस्कारबाट गायक प्रचण्ड जि.सी.लाई समान्न गरिएको छ । पत्रकार दिनेश कुमार श्रेष्ठलाई लोक पत्रकारिता पुरस्कारबाट नगद राशीसहित सम्मान गरेको छ ।
साधारणसभाको उदघाटन सत्रलाई सम्बोधन गर्दै लायन्स क्लवका डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले लोक सँस्कृति राष्ट्रको पहिचान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए । प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा कार्यक्रममा सम्मान्नित खेम हमालले लोक संस्कृतिको जगेर्नाले मात्रै मुलुको समृद्धि सफल हुने दाबी गरे ।
रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले लोक सँस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनबाट मुलुकलाई आर्थिक समृद्धि प्रदान गर्न सकिने उल्लेख गरे । कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक गैरे, प्रतिष्ठानका केन्द्रीय महिला सचिव सिता राना, निवर्तमान केन्द्रीय सचिव प्रचण्ड जि.सी., केन्द्रीय सदस्यहरु पुरुषोत्तम भण्डारी, डिल्ली नारायण पाण्डे, प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष दिपु मगरलगायतले संस्थागत हित र स्रष्टाहरुको संरक्षणमा लोकदोहोरी प्रतिष्ठानले थप सक्रिय भएर लाग्न आग्रह गरेका थिए ।
प्रतिष्ठान रुपन्देहीका प्रथम उपाध्यक्ष रितु थापाको स्वागत, सचिव विधान कार्कीको सञ्चालन तथा अध्यक्ष विजय सापकोटाको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।