आधाजति खनियो सिद्धबाबा सुरूङमार्ग, दुई बाइपास ‘ब्रेक थ्रू’

मेचीकाली संवाददाता

५ आश्विन २०८१, शनिबार
262 shares

रमेश पराजुली

बुटवल । बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा निमार्णाधीन सुरुङ मार्गको काम धमाधम भइरहेको छ । पहिरोको जोखिमपूर्णमध्येको केही ठाउँमा बनाउन लागिएको सुरूङमार्गको हालसम्म आधाजसो खन्ने काम सकिएको आयोजनाका अधिकारीहरुले बताएका छन् ।

सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका अनुसार हालसम्म दुवैतर्फबाट गरी सुरूङमार्गको ५४५.५७ मिटर लम्बाइ खनिएको छ । कुल १ हजार १२६ मिटर लामो सुरुङमा उत्तरतर्फबाट २३७.८० र दक्षिणतर्फबाट ३०७.७७ मिटर खनिएको सुरूङमार्ग आयोजना प्रमुख इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् । सुरूङमार्गका तीन वटा आपत्कालीन द्वार अर्थात् बाइपाससमेत सँगै निर्माण भइरहेका छन् । बाइपास पहिलो १५१ मिटर, बाइपास दोस्रो १६१ मिटर र बाइपास तेस्रो १३० मिटर लामो हुनेछ । आयोजनाको कुल भौतिक प्रगति २२.८५ प्रतिशत हुँदा वित्तीय प्रगति २६.४ प्रतिशत भएको छ ।

बाह्रै महिना पहिरो झर्ने यो ठाउँलाई सुरक्षित बनाउन ४ माघ २०८० बाट सुरुङ खन्ने काम औपचारिक रुपमा सुरु भएको थियो । आयोजनामा गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो । सुरुङ मार्गमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको छ । ‘ब्लास्टिङ’ गर्न थालेपछि तीव्र रुपमा काम अघि बढेको आयोजना प्रमुख इन्जिनियर ज्ञवालीको भनाइ छ ।

दुई बाइपास ‘ब्रेक थ्रू’
निमार्णाधीन सुरुङ मार्गमा दुई वटा बाइपास ‘ब्रेक थ्रू’ गरिएको छ । सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका अनुसार तीनवटा बाइपासमध्ये पहिलो र तेस्रो बाइपास ‘ब्रेक थ्रू’ गरिएको हो । गत भदौ २६ गते १३० मिटर लम्बाइको तेस्रो बाइपास र असोज ४ गते १५१ मिटर लम्बाइको पहिलो बाइपास ‘ब्रेक थ्रू’ गरिएको सुरूङमार्ग आयोजना प्रमुख इन्जिनियर ज्ञवालीले जानकारी दिइन् । अबको केही दिनभित्र दोस्रो बाइपास पनि छेड्नेगरी तीब्र रुपमा काम भइरहेको इन्जिनियर ज्ञवालीले बताइन् ।

डिसेम्बर (मंसिर) सम्म सुरुङ ‘ब्रेक थ्रू’ हुने लक्ष्य
बहुप्रचारित सुरुङमार्गलाई आगामी मंसिर मसान्तसम्ममा ‘ब्रेक थ्रू’ गर्ने लक्ष्यका साथ काम भइरहेको छ । बिस्फोट गर्ने समयमा सीमित अवधिका लागि मात्र सवारी आवगमन बन्द गरेर चिनियाँ र नेपाली प्राविधकहरुले धमाधम काम गरिरहेका छन् । कुनै आपत सिर्जना नभए अबको तीन महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य पूरा हुने आयोजनाको दाबी छ ।

सुरुङमार्गका दुवैतिरका खण्डमा रकसेट नेटसहितको ढलान
सुरुङमार्गका दुवैतिरका खण्डमा रकसेट नेटसहितको ढलानका काम पनि संगसंगै भइरहेका छन् । सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिममा रहेकाले यो सबै खण्ड कतै सुरुङमार्ग र कतै रकसेट नेटसहितको ढलान गरेर सुरक्षित पार्ने काम भइरहेको आयोजना प्रमुख इन्जिनियर ज्ञवालीको भनाइ छ । कतिपय स्थानमा माथिबाट खस्ने ढुंगालाई सिधै खोलामा खस्नेगरी पनि संरचना निर्माण गरिने भएको छ । यसले सुरुङका अतिरिक्तको सडक खण्डलाई पनि सुरक्षित बनाउने विश्वास छ ।

सुरुङमार्गका दुबैतिरका खण्डमा (यता बुटवलतिर उता दोभानतिर) जोखिमका पहाडमा रकसेट नेट लगाएर खस्न सक्ने जोखिमका ढुंगालाई उतै ब्लक गरिने भएको छ । यसो हुँदा सुरुङमार्गका अतिरिक्त यताउता दुवैतिरको जोखिमको सडकखण्ड पनि सुरक्षित र सहज हुने विश्वास गरिएको छ ।
सरकारले सिद्धबाबा सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएर काम गरिरहेको छ । उपप्रधान तथा अर्थमन्त्री एवम् एमाले नेता विष्णु पौडेलले अगाडि सारेकामध्येको यहाँको अर्को ड्रिम प्रोजेक्ट हो ।

यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी) ले गरिरहेको छ । यो आयोजनाको २०७८ साल फागुनमा सीएससीइसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने सर्त छ ।
यो सडकलाई तराई र पहाड जोड्ने लाइफलाइन सडक मानिन्छ । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायात साधन चल्ने गर्छन् । हरेक जसो हिउँद वर्षा जहिले पनि पहिरो गएर सवारी साधनमाथि झर्ने र जनधन क्षति पु¥याएपछि यसको सुरक्षाको विकल्प खोजिएको थियो । सुरक्षाको एउटा विकल्पमध्ये सुरुङ मार्ग हो । आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ ।

बनिरहेका छन् बैकल्पिक सडक पनि
यस्तै अर्को विकल्पका रुपमा यो सडकखण्डको वैकल्पिक मार्गका रुपमा दुईवटा सडक पनि बनेका छन् । एउटा देवदह–चरङ्गे हुँदै झुम्सा झर्ने र अर्को बेलबास, नुवाकोट हुँदै दोभान झर्ने वैकल्पिक सडक पनि बनिरहेका छन् । यी दुवै सडकलाई स्तरोन्नति गर्ने काम पनि भइरहेको छ तर सुस्त गतिमा । तीनै तहका सरकारले चासो दिएर वैकल्पिक सडकलाई पनि धमाधम बनाउन जरुरी रहेको यसक्षेत्रका नागरिक अगुवा बुद्धबहादुर थापाको भनाइ छ ।