चाडपर्वको मुखमा अस्वभाविक मूल्यवृद्धि

नियन्त्रणका प्रभावकारी उपाय खोज्न आग्रह

मेचीकाली संवाददाता

९ आश्विन २०८१, बुधबार
116 shares

अमृत गिरी

बुटवल । विभिन्न मुलुकको आर्थिक स्थितिका बारेमा अध्ययन गर्दै आएको एसियाली विकास बैंक (एडीबी) ले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेकोे बताएको छ । तर, आम नेपालीको दैनिकी नै कष्टकर हुनेगरी अस्वभाविक मूल्यवृद्धि भइरहेको अवस्था छ ।
दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वभाविक वृद्धि हुँदा त्यसको मार अरु धेरै क्षेत्रमा परिरहेको छ । बजारमा खाद्यवस्तु, दलहन, तेलहुन, तरकारी र उपभोग्य सामग्रीको मूल्य अचाक्ली बढेको छ । चामल, दाल, चिनी, मैदा, वनस्पति घ्यु, तेल, दलहन, तरकारी, माछामासु र अण्डालगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा गत असारयता कैयौं गुणाले वृद्धि भएको उपभोक्ताको गुनासो छ ।
त्यस्तै खुला नाकाको दुरुपयोग गर्दै हुने चोरी निकासीले पनि मूल्यमा प्रभाव पार्ने गरेको छ । थोक व्यापारीहरुले भने अनेक नामका कर, राजस्वका झन्झटिला प्रावधान र उत्पादनमूलक क्षेत्रमा भइरहेको गिरावट र तस्करीका सञ्जालले मूल्यवृद्धि भइरहेको दाबी गर्छन् ।

सोह्रश्राद्ध चलिरहेको छ । लगत्तै पछि दसैँतिहारलगायतका पर्वहरू सुरु हुनेछन् । यो बेलामा खाद्यान्नलगायतका सामानको माग उच्च हुन्छ । माग बढ्ने अधिकांश सामानको उत्पादन नेपालमा हुँदैन र भएको पनि अति न्यून छ । यहीँ उत्पादन हुने सामानको पनि आयात उच्च छ । आयातित वस्तुको भन्सार दर र बजारको मूल्यमा हेराफेरिको गलत प्रवृत्ति छ । माग बढेपछि मूल्य बढाउने उद्योगीदेखि व्यापारीसम्मको प्रवृत्ति छ । उपभोक्ता हीतमा काम गर्नेहरूले जनविश्वास जित्न सकिरहेका छैनन् । जबजब माग बढ्छ तबतब मूल्यवृद्धि अस्वभाविक रुपमा हुने गर्छ । केही वस्तुको दृष्टानत हेरौं–केही दिनको अन्तरमै यसक्षेत्रमा मैदाको मूल्य ५० किलो बोराको मूल्य २९५० बाट बढेर ३३०० सम्म पुगेको छ । वनस्पति घ्यु १३ किलोको जारको मूल्य २९०० हाल ३४०० सम्म पुगेको छ । तेलहन, दलहन, चिनी, आलु, प्याज सबैको मूल्य बढेको छ ।

अहिले कतिपय वस्तुको मूल्य झण्डै दुई गुनाले बढेको छ । अघिल्लो वर्षको यही समयमा ९० रुपैयाँ प्रतिकिलो पर्ने चिनीको मूल्य यतिखेर १५० रुपैयाँसम्म पुगेको छ । त्यहीँ पनि ठाउँपिच्छे मूल्य फरक फरक छ । नेपाल खुद्रा व्यापार संघका अनुसार एक वर्षअघि २०८० भदौ २५ गते चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।

केही दिनको अन्तरमै यसक्षेत्रमा मैदाको मूल्य ५० किलो बोराको मूल्य २९५० बाट बढेर ३३०० सम्म पुगेको छ । गहुँको उत्पादनमा राज्यको ध्यान नजाँदा गहुँ र गहुँजन्य वस्तु आयातबाटै धानिएको छ । मैदा उद्योगी संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्रीकृष्ण पोखरेलका अनुसार अधिकांश मैदा उद्योगका लागि स्वदेशी उत्पादनले पुग्दैन । भारत र तेस्रो मुलुकबाट समेत गहुँ र गहुँजन्य वस्तुको आयात हुँदै आएको छ । यस्तै केही समयको अन्तरालमै वनस्पति घ्यु १३ किलोको जारको मूल्य २९०० हाल ३४०० सम्म पुगेको छ । यसअघिको सरकारले अग्रीम आयकर लगाउँदा त्यसको सिधा असर आयातीत हरेक वस्तुमा परेको र मूल्यवृृद्धिको एउटा कारक बनेको बताइन्छ ।

दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यमा वृद्धि हुँदा आम उपभोक्ताको दैनिकी नै प्रभावित भइरहेको छ । एकातिर आम्दानीका बाटा कमजोर हुनु, अर्कोतिर मूल्यवृद्धि भएको भई हुनुले आम उपभोक्ताको जीवनयापन कष्टकर बन्दै गइरहेको उपभोक्ता हीत संरक्षण मञ्चका अगुवा ऋषि आजादले बताए । खाद्यान्न, मरमसलासहित अधिकांश घरायसी वस्तुको मूल्यमा चर्को वृद्धि देखिएको र त्यसको मारमा न्यून आय भएकाहरु परेको आजादको भनाइ छ । नियन्त्रणका प्रभावकारी उपाय खोज्न आजादले आग्रह गरे ।

बजारको अनुगमन गर्दा पनि न्यून आय भएका उपभोक्ताहरु नै बढी मारमा परेको र व्यापारीहरुले पनि बढिरहेको मूल्यको यथार्थ कारण दिन नसक्ने अवस्था रहेको नागरिक अगुवा समुन्द्र जिसी बताउँछन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारको वस्तुगत अध्ययन गरेर उपभोक्तामा राहत हुनेगरी पालिका स्तरसम्मका योजना बनाउन जिसीले आग्रह गरे ।
राष्ट्र बैंकका एक अधिकारीका अनुसार खाद्यान्नको मूल्य झण्डै १५ प्रतिशतले बढेको छ । त्यसैगरी, दाल तथा गेडागुडीको मूल्य १३ प्रतिशतले बढेको छ भने दुध र अन्डाको मूल्य १२ प्रतिशतले बढेको छ । यस्तै फलफूलको मूल्य १३ प्रतिशतले, चिनी र चिनीजन्य वस्तुको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । अझ दुधलगायतका केही उपभोग्य वस्तुमा अन्तशुल्क लगाउने नयाँ नियम बनाइएपछि मूल्यवृद्धि अझ बढ्ने अनुमान छ ।

पछिल्लो एक÷डेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपियाँका दरले थोकमै वृद्धि भएको छ । यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन ।
नेपाल खाद्य किराना तथा थोक व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले मूल्यवृद्धिको विषय व्यापारीको मात्रै हातमा नहुने दाबी गर्छन् । उनले उद्योगबाटै सिधै थोकमा आउँदा मूल्यवृद्धि भएर आएको र त्यहीँअनुसार आफूहरूले पनि वृद्धि गरेको श्रेष्ठको दाबी छ ।

रुपन्देहीका खुद्रा किराना व्यवसायी संघका अध्यक्ष महेन्द्र पोखरेलको पनि उस्तै धारणा छ । उद्योगबाट, ठूला डिलरबाट र भन्सारबाटै मूल्य बढेर आएका सामानमा सामान्य मुनाफा राखेर बेच्दा पनि उपभोक्ताका लागि महँगो हुन जाने बताउँछन् । उनले त्यो साना व्यापारीको हातमा भने नभएको बताए । उनले उद्योगी र ठूला डिलरबाट आउने सामानमा खुद्रा किराना पसलहरुमा ८ देखि १० प्रतिशत मार्जिन राखेर बेच्ने गरिएको बताए ।

नेपाल खुद्रा व्यापार संघका अनुसार खाने तेलको मूल्य उपभोक्तासम्म पुग्दा ३० रुपैयाँसम्म महँगो भएको छ । केही दिनदेखि सबैखाले खानेतेलको मूल्य प्रतिकार्र्टुन दुई सय रुपैयाँ र प्रतिलिटरमा २० रुपैयाँले बढेर बजारमा आएको व्यापारीहरुको भनाइ छ । हाल सूर्यमुखी तेलको मूल्य प्रतिकार्टुन दुई हजार दुई सय रुपैयाँदेखि दुई हजार चार सय रुपैयाँसम्म र भटमास तेलको मूल्य पनि प्रतिकार्टुन दुई हजार तीन सय रुपैयाँ थोकमा पुगेको छ । रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले मूल्यवृद्धिको सबै विषय व्यापारीको अधिनमा नहुने बताउँदै व्यापारी आफैँले अस्वभाविक मूल्यवृद्धि गरेको पाइएमा त्यसलाई रोक्न आफूहरुले सम्बन्धित निकायलाई सघाउने बताए ।

माग अत्यधिक हुने र उत्पादन सिमित हुने कारणले पनि चाडपर्वका बेलमा मूल्यवृद्धि हुने गरेको पाइन्छ । कतिपय व्यापारीहरुले मौकाको फाइदा उठाउँछन् होला त्यो बेग्लै कुरा भयो तर त्यसको नियमन गर्ने भनेको राज्यले नै हो । उपभोग्य वस्तुको माग बढि हुने समयमा स्वदेशी उत्पादन बढाउने र आपूर्तिका क्षेत्रलाई प्रभावकारी बनाउन जरुरी रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।
रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहोराले कतिपय सामान्यजस्तो लाग्ने विषयमा राज्यका निकायको ध्यान नजाँदा आम उपभोक्ता मारमा पर्ने गरेको बताउँछन् । उनले कतिपय वस्तुको उत्पादन यहाँ नहुने भएपनि अत्यावश्यक वस्तुको आयातमा पनि ख्याल गरेर योजना बनाउनुपर्ने सुझाव दिन्छन् ।