सिद्धार्थ केबलकार लिमिटेडको अध्यक्षमा गुरूङ

मेचीकाली संवाददाता

१७ आश्विन २०८१, बिहीबार
854 shares

बुटवल । बुटवलमा सञ्चालनमा आएको सिद्धार्थ केबलकार लिमिटेडको आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा बिहीबार बुटवलमा सम्पन्न भएको छ । साधारणसभाले चार जना सञ्चालक समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कम्पनीले चार वर्षे कार्यकालको लागि ई.राजेन्द्रसिंह गुरुङलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तैगरी प्रबन्ध सञ्चालकमा नवनिर्वाचित सञ्चालक प्रभुलाल अधिकारीलाई पहिलो बैठकले चयन गरेको निर्वाचन मण्डलका सञ्चालक अधिवक्ता बाबुराम भुसालले जानकारी दिए ।

साधारणसभाले ई. रमेशप्रसाद सापकोटा र शेयरधनीतर्फ माधवप्रसाद नेपाललाई सञ्चालक समिति सदस्यमा सर्वसम्मत निर्वाचित गरेको छ । साधारणसभाले सार्वजनिक शेयर निष्कासन गर्ने सम्बन्धमा पनि काम सुरु गर्ने तयारी भएको कम्पनीले जनाएको छ । बाँकी ३ सदस्यहरुमा १ जना स्वतन्त्र सञ्चालक र दुई जना आइपिओबाट आउने जनाइएको छ ।

अध्यक्ष ई.राजेन्द्रसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोजकुमार खड्काले निर्वाचित सदस्यलाई स्वागत गर्दै शुभकामना व्यक्त गरे । कम्पनीमा २ सय २९ जना शेयर सदस्य रहेका छन् भने कम्पनीले आइपिओ १५ करोड रुपैयाँ बराबरको शेयर खोल्ने तयारी गरेको छ ।