एउटा नमुना सहकारीको ३० वर्षे यात्रा

मेचीकाली संवाददाता

१९ आश्विन २०८१, शनिबार
693 shares

रमेश पराजुली

बुटवल। दीर्घकालीन रणनीति बनाएर सहकारी सिद्धान्तमा आधारित रहेर आपसी एकता र इमान्दारितालाई आत्मसात् गरियो भयो भने सफलता हासिल हुन्छ भन्ने गतिलो उदाहरण बनेको छ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ।

पछिल्लो समय बाहिरबाट आएका केही सहकारीले रुपन्देहीका बिभिन्न क्षेत्रबाट बचतकर्ताको करोडौँ रकम हिनामिना गरिरहेको बेला सामूहिकले राम्रो मुनाफा गरी आफूलाई देशकै अब्बल सहकारीको रूपमा दर्ज गरेको छ । वि.सं. २०५० सालमा २६ जना मिलेर शंकरनगरमा २ हजार ६ सय शेयर पूँजी जम्मा गरेर सहकारी संस्था सुरु गरेका थिए । बचत तथा ऋणको कारोबार गर्ने गरी दर्ता भएको यो नै रूपन्देहीको पहिलो सहकारी थियो । मासिक २ सय रुपैयाँ बचत संकलनबाट सुरु भएको यो सहकारी अहिले शेयर पुँजी र कारोबारका हिसाबले लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो शेयर पुँजी र कारोबार हुने सहकारी बन्न पुगेको छ । सहकारीमा अहिले ११ हजार ७७९ जना शेयर सदस्य पुगेका छन् ।

३० औँ वार्षिक साधारणसभा सम्पन्न
सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाको ३० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेन्द्रकुमार वर्माको अध्यक्षता तथा ज्येष्ठ सदस्य रत्नबहादुर क्षत्रीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि क्षत्रीले सहकारीको मूल्य र मान्यताअनुसार सहकारी अघि बढेकाले नै सहकारीले सफलता प्राप्त गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख वक्ता रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका सांसद बासुदेव घिमिरेले कुशल व्यवस्थापन र नेतृत्वकै कारण सहकारी देशकै नमुना भएको भन्दै यसलाई अब सहकारीको लक्ष्य सदस्यहरुलाई उद्यमी बनाउनु रहेको बताए । सहकारी संस्थालाई सबल र सक्षम बनाउन सहकारीको ऐन नियमलार्ई कडाइका साथ पालना गराउनुपर्ने बताए । सहकारी ऐन र नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्नेमा उनले जोड दिए । सानो पुँजीबाट पनि स्वरोजगार उद्यम गर्न सकिने भएकाले सहकारीले अब गृहिणी महिलाहरुलाई उद्यममा जोड्ने गरी नयाँ कार्यक्रम ल्याउन आग्रह गरे ।

साधारणसभामा संस्थाका अध्यक्ष सुरेन्द्रकुमार बर्माले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । आगामी आ.व. मा भैरहवामा समेत सेवा केन्द्र सञ्चालन गर्ने गरी योजना बनाएको उनले बताए । साथै उनले आफ्नो सहकारीको जग्गामा भवन निर्माण गर्ने लक्ष्य लिइएको बताए । संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने उनको भनाइ थियो ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीका अनुसार आधुनिक बैंकिङ्ग सेवाअन्तर्गत एटिएम, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग क्यूआर कोड, कनेक्ट आइपिएसलगायतका सेवाहरू सञ्चालनमा ल्याएको छ । साथै सदस्यहरूको सुविधाको लागि छुट्टाछुट्टै विभागको समेत गठन गरिएको छ ।
रूपन्देही जिल्लाभरि कार्यक्षेत्र रहेको यो सहकारीले अधिकांश ऋण लगानी व्यवसाय र उद्योग क्षेत्रमा लगानी गर्ने गरेको वरिष्ठ व्यवस्थापक तथा सूचना अधिकारी इश्वरी मरासिनी बताउँछन् । सहकारीले सामाजिक कार्य र शैक्षिक क्षेत्रमा बढी कर्जा लगानी हुने गरेको छ ।

स्थापना कालमा २ हजार ६ सय शेयर पुँजी संकलन गरी सुरु भएको सहकारीमा हाल ३२ करोड ८० लाख ३ हजार एक सय शेयर पुँजी पुगेको छ भने २ अर्ब ७२ करोड ५९ लाख ७४ हजार ५ सय ९३ रुपैयाँ निक्षेप संकलन रहेको छ । तिलोत्तमा शंकरनगरस्थित मुख्य कार्यालय सँगै भलवारी, फर्साटिकर र बुटवल सेवाकेन्द्रमार्फत सदस्यहरुको बचत संकलन हुँदै आएको छ । सहकारीले विभिन्न क्षेत्रमा २ अर्ब ७३ करोड ३९ लाख ८६ हजार ८ सय ८४ रुपैयां कर्जा लगानी गरेको र खराब कर्जा नरहेको कोषाध्यक्ष पार्थमणी आचार्यले बताए ।
कार्यक्रममा सचिवको प्रतिबेदन प्रस्तुत गर्दै मिनप्रसाद पोख्रेलले सहकारीको मूल्य मान्यताअनुसार संचालन नहुने सहकारीहरुका कारण राम्रा सहकारीहरु पनि बदनाम हुने अवस्था आएको भन्दै सदस्यहरु पनि आफूले बचत संकलन गरेको सहकारी कसरी चलेको भन्ने विषयमा सतर्क हुनुपर्ने बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष माधव पाठक, सल्लाहकार दामोदर भुसाल, तिलोत्तमा–११ का वडाध्यक्ष विष्णु बराल, सदस्यको तर्फबाट शारदा पन्थी, कृष्णप्रसाद घिमिरेलगायतले आआफ्नो भनाइ राखेका थिए । कार्यक्रम सञ्चालक समिति सदस्य भूमिलाल सापकोटाको स्वागत तथा सचिव मिनप्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।