वालिङमा पालिका स्तरीय भलिबल प्रतियोगिता सुरु

मेचीकाली संवाददाता

३ कार्तिक २०८१, शनिबार
91 shares

मुक्ती न्यौपाने

वालिङ । वालिङमा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । खेलाडीहरुलाई प्रतियोगितामा समावेश गरिएको हो । प्रतियोगितामा प्रथम हुने पालिकाले एक लाख ५० हजार, द्वितीय हुने पालिकाले एक लाख, तृतीय हुने पालिकाले ७५ हजार र सान्त्वना हुने पालिकाले २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भलिबल खेल संयोजक हिमलाल डुम्रेले बताए । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा वालिङ खेलमैदानमा स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०८१ को शुक्रबार उद्घाटन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा सामाजिक विकास समितिका सभापति भोजराज अर्यालले यस्ता प्रतियोगिताहरुले खेल प्रतिभा प्रष्फुटन गराउनका लागि सहयोग पुग्ने बतए । उनले भने खेलाडीहरुको खेल क्षमताको प्रदर्शनसँगै अन्य खेलका गतिविधिहरुलाईसमेत अगाडि बढ्न महत्वपूर्ण भूुमिका खेल्ने बताए ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद कल्पना तिवारी, पूर्व सांसद मोहनप्रसाद रेग्मी, पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुक्रबार प्रतियोगिताको उद्घाटनसँगै ३ खेलहरु सम्पन्न भएका छन् ।

वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकाबीच भएको खेलमा पुतलीबजार नगरपालिकाले पहिलो जीत निकालेको छ भने बिरुवा र अर्जुनचौपारी गाउँपालिका बीच भएको दोस्रो खेलमा बिरुवा गाउँपालिकाले जितेको छ । त्यस्तै चापाकोट नगरपालिका र हरिनास गाउँपालिका बीच भएको तेस्रो खेलमा चापाकोटले विजयी सुरुवात गरेको छ । यसैगरी फेदिखोला र भीरकोट नगरपालिका बीच सुरु गरिएको खेल भने समय अभावका कारण विहान ७ः३० मा खेलाईने आयोजकले जनाएको छ ।

लिग सिस्टममा खेलाइने प्रतियोगितामा जिल्लाका एघार वटै पालिकाको सहभागिता रहेको छ । सम्बन्धित पालिकाको सिफारिसमा आएका प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई जनही १० हजार नगदसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट सेटर, डिफेन्डर, सर्भिस, ब्लकर, स्पाईकरलाई जनही ५/५ हजार पुरस्कार दिने प्रतियोगिताको सहयोगी संस्था वालिङ भलिबल क्लबका अध्यक्ष दीपेन्द्र खाँणले बताए । प्रतियोगितामा अनुमानित आम्दानी कूल १५ लाख ८५ हजार रहेको छ भने सोही बराबर खर्च हुने आयोजकको अनुमान छ ।