भैरहवा भन्सारले तीन वर्षपछि भेटायो लक्ष्य

मेचीकाली संवाददाता

५ कार्तिक २०८१, सोमबार
39 shares

रमेश पराजुली

बुटवल । मुलुकको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले ३ वर्षपछि राजस्व लक्ष्य भेटाउन सफल भएको छ । विगत ३ वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलनमा असफल हुँदै आएकोमा चालू आर्थिक वर्षको असोज महिनामा भन्सार कार्यालयले लक्ष्यभन्दा बढी (एक सय दशमलव ३९ प्रतिशत) राजस्व संकलन गरेको हो ।

आर्थिक वर्ष २०७८/०७९ को मंसिर महिनापछि राजस्व लक्ष्य भेटाउन नसकेको भन्सारले चालू आर्थिक वर्षको असोजमा भने लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार असोज महिनाका लागि भन्सार विभागले ८ अर्ब ७८ करोड १६ लाख ८६ हजार लक्ष्य तोकेकोमा ८ अर्ब ८१ करोड ५१ लाख २५ हजार राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा शुन्य दशमलव ३९ प्रतिशत अर्थात् ३ करोड ३४ लाख ३९ हजार बढी हो ।

पछिल्लो समय राजस्व चुहावट नियन्त्रण भएको र आर्थिक गतिविधि पनि बढेकोले असोजमा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । ‘राजस्व चुहावट नियन्त्रणसँगै विभागले तोकेको लक्ष्यलाई यसवर्ष भेटाउने गरी काम गरिरहेका छौं ।’ उनले भने । चालू आवका आउने महिनाहरुमा पनि लक्ष्य भेटाउने गरी भन्सारले योजनाबद्धरुपमा काम गरिरहेको प्रमुख रेग्मीले बताए । भन्सार टिमले रातदिन खटेर काम गर्दा सफलता मिलेको उनको भनाइ छ ।

आयात परिमाणका दृष्टिले भैरहवा मुलुकको दोस्रो ठूलो भन्सार नाका हो । भन्सार विभागले लक्ष्य पार नभएपनि चालु आर्थिक वर्षका लागि विगतको वर्ष भन्दा केही लक्ष्य घटाएको छ । विभागले भैरहवा भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा १ खर्ब ९३ अर्ब ३२ करोड २५ लाख राजस्व संकलनको वार्षिक लक्ष्य तोकेको छ । जसमा पहिलो ३ महिनामा २२.९४ प्रतिशत अर्थात् २५ अर्ब ७० करोड ४ लाख ९९ हजार राजस्व संकलन भएको छ । पहिलो महिना साउनमा ८ अर्ब ७७ करोड २२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८३.५४ प्रतिशत अर्थात् ७ अर्ब ३२ करोड ८१ लाख ८२ हजार मात्रै संकलन भएको थियो भने, भदौमा ९ अर्ब ९१ करोड ४४ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ९०.०४ प्रतिशत अर्थात् ८ अर्ब ९२ करोड ७१ लाख ९२ हजार मात्रै संकलन भएको थियो ।

पछिल्ला वर्षमा राजश्व संकलनमा मुख्य योगदान दिने मुख्य वस्तु आयात नै खुम्चिँदा राजश्व संलकन प्रभावित हुँदै आएको छ । बेलहिया नाकाबाट सबैभन्दा बढी आयात हुने जिप, कार, भ्यान, मोटरसाइकल, डिजेल, पेट्रोल, फलामे ब्लेड, मार्बल, खाद्यान्न र अन्य व्यापारिक वस्तुको आयात घट्दा राजस्व संकलनमा प्रभाव परेको छ । साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थको आयातबाट भैरहवा भन्सारको कुल राजस्व संकलनमा झन्डै २५ प्रतिशत योगदान रहने गरेको बताइन्छ । बढी राजस्व असुली हुने मालसामानको आयात नै कम भएका कारणले त्यसको नकारात्मक असर असुलीमा परेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

भैरहवा भन्सारमा गत आर्थिक वर्ष ०८०/०८१ मा लक्ष्यको ६३.२४ प्रतिशत अर्थात् ८० अर्ब ८४ करोड १७ लाख ४८ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । आव ०७९/०८० मा ४९.४१ प्रतिशत र आव ०७८/०७९ मा लक्ष्यको ९०.९४ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो । चालू वर्षमा बेलहिया नाका हुँदै मोटरसाइकल, डबल क्याप पिकअप गाडी, जीप, कार र भ्यान, तयारी कफी, टायल, मार्बल, पेट्रोल, डिजेल, एलपी ग्याँस, बस/ट्रकको टायर, नुहाउने साबुन, इलेक्ट्रिक कार, मोबाइललगायतका बस्तु बढी मात्रामा आयात भइरहेका छन् ।

यस्तै भैरहवा भन्सारबाट सेन्थेटिक यार्न, सिमेन्ट, सिमेन्ट क्लिङ्कर, अल्कीड रेजीन र अन्य पिभिसी रेजीन, खोटो रोजीन, चाउचाउ, नुडल्स, पास्ता, प्लाइउड, जडीबुटी, पिना र अन्य वनस्पतीजन्य उत्पादनहरु निर्यात हुने गर्दछन् ।