बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार: छेउबाट बनाएपछि बिचको पिच फेरिने

मेचीकाली संवाददाता

५ मंसिर २०८१, बुधबार
2899 shares

गाडी गुडाउन मिल्ने ६ वटा अण्डरपास, पैदल यात्रुका लागि १२ वटा अण्डरपास र ११ वटा ओभरहेड ब्रिज, वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा अण्डरपास बनाइने । यताको काम सुरुभएलगत्तै चन्द्रौटासम्मै विस्तार गरिने ।

अमृत गिरी

बुटवल । बुटवल–गोरुसिङ्गे सडक खण्ड विस्तारका लागि निर्माण कम्पनीले काम सुरु गरेको छ । निर्माण सामग्रीहरुको ठाउँठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचनाहरु हटाउने, कटान गर्ने रुखको अन्तिम गणना गर्ने र पुल बनाउने ठाउँको पुनः माटो परीक्षण गर्नेलगायतका काम भइरहेका छन् । सडक विस्तार गर्दा अहिलेको पिच रहेको भागलाई नभत्काई पहिले दुवै छेउबाट विस्तारको काम गर्ने तयारी छ । छेउको बनाएपछि बल्ल बिचको फेर्नेगरी निर्माणको मोडालिटी बनाएर काम सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन गरिएको सडक आयोजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले जानकारी दिइन् ।

धेरैतिरबाट एकैपटक सबै सडक भत्काएर काम थाल्दा धुलो, हिलो र आवागमनमै असहजता उत्पन्न हुने गुनासो आएपछि निर्माण कम्पनीलाई बिचको पिच पहिल्यै नभत्काउने गरी काम गर्न निर्देशन गरिएको इन्जिनियर न्यौपानेको भनाइ छ । यो खण्डको हालै संघीय विभागीय मन्त्री देवेन्द्र दाहालले विभागका सचिव र प्राविधिकहरुलाई लिएर पैदलैसमेत अनुगमन गरेका थिए । मन्त्री र सचिवहरुलाई त्यसक्रममा बाटो पर्ने क्षेत्रका जनप्रतिनिधिले नयाँ ढाँचाबाट काम गर्न अनुरोध गरेका थिए ।

बुटवल, सैनामैना, बाणगंगा र बुद्धभूमिलगायतका जनप्रतिनिधिहरुले संघीय मन्त्री, सचिवहरु, आयोजना कार्यालय प्रमुख, निर्माण कम्पनीका प्रतिनिधिहरुलाई समेत विभिन्न समयमा भेटेर अस्तव्यस्त हुनेगरी एकैपटक सडक नजोती नयाँ तरिकाले बनाउन अनुरोध गरेको सैनामैनाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बताए ।

बुटवल–नारायणघाट खण्ड, बुटवलकै चौराहा–गोलपार्क खण्ड तथा भैरहवा–बेलहिया खण्डमा एकैपटक सबै बाटो उदारेर काम गर्दा न समयमै काम सम्पन्न भयो, न सडकको उपभोग गर्नेलाई नै सहज भयो । बुटवलको मुख्य खण्डको ३ किमी सडक त ८ वर्षदेखि अलपत्र पारेर अहिले बल्ल बनाइँदैछ । धुलो, हिलो, धुवाँ मात्रै होइन, सवारी साधन दुर्घटना पर्ने र मानवीय क्षतिसमेत भइरहेको अवस्था छ । यस्तै लथालिंगको अवस्थाबाट पाठ सिकेर संघीय मन्त्रालयले नै नयाँ मोडालिटीमा सडक बनाउन निर्देशन दिएको हो ।

यो राजमार्ग निर्माण भएको करिब ६२ वर्षपछि अहिले विस्तार हुन लागेको छ । विस्तार गर्दै यसलाई पश्चिम महेन्द्रनगरसम्मै विस्तार गर्ने लक्ष्य छ । अहिलेको चरणमा गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटरमा काम सुरु भएको छ भने लगत्तै चन्द्रोटासम्मको सडक विस्तारको प्रक्रिया अगाडि बढाउने संघीय सरकारको तयारी छ । अहिले गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड १९ किलोमिटरका लागि डिजाइनको काम भइरहेको छ । त्यसउताका खण्डमा विभिन्न परियोजनाको सहकार्यमा नयाँ मोडालिटीमा अगाडि बढाउने गरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चित गर्ने र नयाँ उपायको खोजी गरिरहेका छन् ।

सडक विस्तारका लागि दुई खण्डमा गरी १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४ सय ४१ रुपैयाँको ठेक्का सम्झौता भई तीन वर्षभित्र योजना सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र आशीष निर्माण सेवा नेपाल जेभीसँग सम्झौता भई काम सुरु भएको छ ।

६ ठाउँमा भेहिकल अण्डरपास बनाइने
अहिले विस्तार भइरहेको सडक खण्डमा ६ ठाउँमा ‘भेहिकल अण्डरपास’ बनाइने भएको छ । बाक्लो बस्ती भएका सहरी क्षेत्रका चोकहरुमा सडकलाई ५० मिटरमा फराकिलो बनाइने र रणनीतिक सडकहरु जोडिने क्षेत्रमा अध्ययनपश्चात गाडी नै वारपार गर्न मिल्नेगरी ‘भेहिकल अण्डरपास’ निर्माण गरिने आयोजनाका कार्यालय प्रमुख इन्जिनियर न्यौपानेले बताइन् ।

जितगढी–बेलबास चोक, नयाँगाउँ चोक, तामनगर चोक, सैनामैनाका मुर्गिया बजार र बुद्धनगर चोक तथा कपिलवस्तुको चार नम्बर जीतपुर चोकमा यस्ता ‘भेहिकल अण्डरपास’ बनाउने गरी काम सुरु भएको छ । त्यसका लागि माटो परीक्षणको काम भइरहेको र यस्तो पुल अहिले ललितपुरको ग्वार्कोमा बनिरहेको छ । यस्तै सडक खण्डमा करिब १९ वटा अण्डर र ओभर पासका पुल पैदल यात्रुका लागि बनाइने छ । अहिले निर्माण कम्पनीले पुल बनाउने तिनै चोकहरुमा माटो परीक्षण गरिरहेको छ ।

जंगल क्षेत्रमा वन्यजन्तुमैत्री पुल बनाइने
सडक खण्डमा वनक्षेत्र पनि पर्ने भएकाले वन्यजन्तुमैत्री बनाउने गरी डिजाइनका काम भइरहेका छन् । यो सडकअन्तर्गत सालझन्डी–पिपरा खण्डमा जंगल क्षेत्र छ । बनगाई–गोरुसिंगे सडक खण्डमा पनि जंगल क्षेत्र पर्छ । विस्तारपछि सडक फराकिलो हुने र सवारीसाधनको गति पनि बढी हुने हुँदा वन्यजन्तु आवतजावत गर्दा अवरोध नहोस् र उनीहरूलाई कुनै प्रकारको क्षति नहोस् भनेर अन्डरपाससहित सडक विस्तार गर्न लागिएको हो ।

जंगल क्षेत्रमा १९ वटा अन्डरपास बनाइने भएको छ । १९ मध्ये सालझन्डी–पिपरा खण्डमा चारवटा बनाइने छ । कोइलीघेरुवा–बनगाई–गोरुसिङ्गे जंगलमा १० वटा अन्डरपास बनाइनेछ । जंगल रहेको क्षेत्रमा सडकलाई २४ मिटरको बनाउने र ठाउँ ठाउँमा वन्यजन्तु वारपार गर्न अग्ला पुल बनाइनेछ । वन क्षेत्रका अतिरिक्त बस्ती भएका ठाउँमा भने सडक त्यसको दोब्बर फराकिलो हुनेछ ।

विसं.२०१८ सालमा निर्माण भएको महेन्द्र राजमार्ग (पूर्व–पश्चिम राजमार्गं) लाई अहिले विभिन्न खण्डमा विभाजन गरेर विस्तार गर्ने काम सुरु भएको छ । साँघुरा, कमजोर र अतिक्रमित अवस्थाका सडकलाई चार लेनमा विस्तार गर्ने काम जारी छ ।