काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले चालु आर्थिक वर्षमा विभिन्न राष्ट्रव्यापी खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ । एकेडेमीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि चालु आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराएको हो ।
एकेडेमीले ७ वटै प्रदेशलाई समेटेर विभिन्न १८ प्रतियोगिता सञ्चालन गर्नेछ । पत्रकार सम्मेलनकाबीच चालु आर्थिक वर्ष २०८१/८२ मा हुने प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । सार्वजनिक खेल तालिका अनुसार मदन भण्डारी इन्डो नेपाल पुरुष भलिबल पुस १७ देखि २४ गतेसम्म बुटवल, मदन भण्डारी विश्वविद्यालय स्तरीय फुटसल पुस २८ लेखि माघ ५ गतेसम्म काठमाडौं, मदन भण्डारी राष्ट्रिय तेक्वान्दो माघ ७ देखि ९ गतेसम्म ललितपुर र मदन भण्डारी जुनियर राष्ट्रिय टेबलटेनिस माघ १५ देखि १८ गतेसम्म काठमाडौंमा हुनेछ ।
यस्तै मदन भण्डारी खुल्ला पुरुष बास्केटबल माघ २२ देखि ३० गतेसम्म काठमाडौं, मदन भण्डारी गोल्डकप फुटबल माघ २० देखि २८ गतेसम्म बुटवल, मदन भण्डारी राष्ट्रिय फुल कन्ट्याक कराते माघ ३ देखि ४ गतेसम्म काठमाडौं, मदन भण्डारी राष्ट्रिय खुल्ला कराते माघ २२ देखि २४ गतेसम्म सुर्खेत र मदन भण्डारी राष्ट्रिय रेस्लिङ्ग फागुन २९ गते धनगढीमा हुनेछ ।
चैत ५ देखि ८ गतेसम्म कंचनपुर र सुर्खेतमा मदन भण्डारी राष्ट्रिय ब्याडमिन्टन, पोखरा र काठमाडौंमा चैत २५ देखि वैशाख ३ गतेसम्म केपी ओली राष्ट्रिय पुरुष क्रिकेट, झापामा वैशाख १५ र १६ गते केपी ओली राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय शारिरिक सुगठन र ७ वटै प्रदेशमा चैत २३ गते यु-२० र यु-१६ राष्ट्रिय खुल्ला रोड रेस हुनेछ।
यसैगरी मदन भण्डारी राष्ट्रिय महिला तथा पुरुष खुल्ल चेस वैशाख २ र ३ गते भक्तपुर, मदन भण्डारी राष्ट्रिय खुल्ला आर्चरी वैशाख ५ देखि ६ गतेसम्म पोखरा, मदन भण्डारी राष्ट्रिय पुरुष कबड्डी वैशाख ८ देखि १५ गतेसम्म जनकपुर र बारा, गण्डकी प्रदेश स्तरीय मदन भण्डारी छेलो वैशाख १० गते स्याङ्जा र मदन भण्डारी राष्ट्रिय महिला हक्की र भलिबल पोखरा र सुर्खेतमा हुनेछ ।
तालिका अनुसार प्रतियोगिता सञ्चालन गर्न कुल बजेट १० करोड ६६ लाख ९७ हजार ७ सय ४४ रुपौयाँ लाग्ने एकेडेमीले जनाएको छ । एकेडेमीले हरेक वर्ष वार्षिक क्यालेण्डर नै बनाएर स्थानीयदेखि राष्ट्रियस्तरसम्म विभिन्न प्रतियोगिता गर्दै आएको र चालु आर्थिक वर्षमा पनि सबै उमेर समूहका खेलाडी समेटिने गरि कार्यतालिका तयार पारिएको अध्यक्ष ध्रुब आचार्यले बताए ।
एकेडेमीले राष्ट्रिय खेलकुद परिषद (राखेप), प्रदेश, स्थानीय सरकार र व्यवसायिक घरनासँगको सहकार्य र समन्वयमा बजेटको व्यस्थापन गर्ने पनि अध्यक्ष आचार्यले बताएका छन् ।