आशादेवीको बाँच्ने आश: मृगौलाको पीडामाथि पायल्स र क्यान्सरको चोट

मेचीकाली संवाददाता

२० फाल्गुन २०८१, मंगलवार
8 shares

टोपलाल अर्याल

गुल्मी। गुल्मी धुर्कोट गाउँपालिका–१ नयाँगाउँ मैदानकी ६५ वर्षीया आशादेवि दर्जीलाई १५÷२० वर्षदेखि उच्च रक्तचापको समस्या थियो । उनले नियमित औषधी खान्थिन् । बिस्तारै खाना मिठो नहुने र हातखुट्टा सुन्निने समस्या देखिन थाल्यो । गुल्मी अस्पताल तम्घासमा स्वास्थ्य परिक्षण गर्दा दुवै मृगौला फेल भएको पत्ता लाग्यो । छोरा राजु दर्जीका अनुसार आशादेवी ०७९ सालदेखि मृगौलापीडित छन् । मृगौला प्रत्यारोपणको सम्भावना थिएन् ।

गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा २ बर्षसम्म डाइलाइसिस गरिएको राजुले बताए । पछिल्लो एक बर्षदेखि तम्घासमा तीनदिन शुक्रबार, आइतबार बुधबार डाइलासिस हुन्छ । पछि पायसन्सको समस्या बल्झियो । ‘जहाँ होँचो त्यहीँ घोँचो’ भन्ने नेपाली उखान जस्तै आशादेवीलाई दुई महिनादेखि क्यान्सरसमेथ थपिएको छ । राजुले गाउँबाट आउजाउ सम्भव नभएपछि सदरमुकामै कोठा भाडामा लिएर आमालाई डाइलाइसिस गर्दै आएका छन् । ‘आमालाई अक्सिजनबिना राख्न सकिँदैन । सातामा तीनदिन घरबाट अस्पताल पुग्न अप्ठ्यारो बन्यो,’दर्जीले भने,‘कोठा भाडामा खोजेर अक्सिजनसहित उपचार गरिरहेको छु ।’ दलित विपन्न परिवारमा चोटमाथि चोट परिरहेको छ । राजुका दुई भाइ हुन् । दाजुको केही समय पहिले भारतमा मृत्यु भयो । बुबा बितेका आठ वर्ष भयो । होटलमा काम गरेर परिवारको जोहो गरेका आफू आमाको कारण काममा फर्किन पाएनन् । जीवनभर कमाएको करिव २० लाख आमाको उपचारमा सकिएपछि ओठमुख सुकेको राजुले गुनासो गरे । उनका पाँच छोरी छन् ।

अहिले पनि मासिक १५ देखि २० हजार आमाको उपचार खर्च छ । गाउँको बारीले ६ महिना खान पुग्दैन् । आमालाई फर्काएर घर लैजान पनि राजुको मनले मान्दैन । तर, उपचार र परिवार व्यावस्थापनको उपाय सबै बन्द भएको हुँदै गए । ‘आमालाई रोगमाथि रोग बल्झिएपछि तातो दुध निल्नु न उकेल्नु भइरहेको छ । उपचार गर्ने उपायहरु सबै बन्द हुँदै गए,’उनले भने,‘उपचारमा सम्पती सकिएपनि बचाउने आशा अझै मरिरहेको छैन ।’ उनले सबैसँग सहयोगको याचना गरे । आफ्नो कमाइ उपचारमा सकेका राजुले बाँचुञ्जेल उपचार गर्नुपर्ने भएकाले औषधी किन्न पनि अफ्ठ्यारो परेको बताए । सहयोगको लागि लक्ष्मी सनराइज बैंकमा पीडित आशा देवी दर्जीको खाता नं ११२१३७५७४९२०५००१ म सहयोग गर्न सकिने छ । उपचारमा संलग्न छोरा राजु दर्जीको फोन नं ९८६४४९८५८५ रहेको छ ।