शितगंगामा लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२७ फाल्गुन २०८१, मंगलवार
78 shares

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले लागुऔषध नियन्त्रण गर्नका लागि शितगंगा नगरपालिका गम्भीर भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले मंगलबार शितगंगामा आयोजना गरेको लागुऔषध नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले यस्तो यस्तो बताएका हुन् ।

नगर प्रमुख पौडेलले खुला सिमानाका कारण लागुऔषधको ओसारपसार र प्रयोग बढेको बताउदै लागुऔषधबारे सरकारले कडा कानुन बनाएर लागु गर्नुपर्ने बताए । सिंगो समाज र परिवारलाई लागुऔषधले निकै प्रभावित बनाएको भन्दै साथी संगतका कारण युवाहरु कुलतमा फस्ने गरेकोले सबै सचेत हुनुपर्ने बताए । आगामी दिनमा नगरले लागुऔषधलाई नियन्त्रण गर्न विशेष कार्यक्रमका साथ अगाडी बढ्ने समेत उनले बताए ।

कार्यक्रममा नगर उपप्रमुख गिता भाट क्षेत्रीले लागुऔषधलाई नियन्त्रण गर्न शिक्षा र जनचेतनाको खाँचो रहेको बताइन् । लागुऔषध नियन्त्रण गर्न सचेतना आफुबाट सुरु गनुपर्ने उनले बताईन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन जिसीले लागुऔषध नियन्त्रण गर्न सबै लाग्नुपर्ने र यसको अगुवाईका लागि नगरपालिका जिम्मेवारी भुमिकामा रहने बताए ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले अर्घाखाँची जिल्लामा लागुऔषधको अबस्था, समस्या समाधानका उपाय, कानुनी उपचारको बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले यस्ता समस्या सामाजिक तथा पारिवारीक मुख्य कारण रहेको भन्दै लागुऔषधको परिचय, प्रकार, कारण, निषेध तथा नियन्त्रण, लागुऔषधका स्रोत, अवस्था चुनौती, लगायतका बिषयमा सहजीकरण गर्दै सबै सरोकारवालाले लागु औषध नियन्त्रणका लागि आआफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, समाजसेवी विषयगत शाखाका प्रमुख, सुरक्षा निकायका प्रमुख, वडा सचिवलगायतको सहभागीता रहेको थियो । कार्यक्रम खरिदार कृष्ण ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियोे ।