काठमाडौं मेट्रो अस्पतालको सेवा बुटवलमा

मेचीकाली संवाददाता

२४ जेष्ठ २०८२, शुक्रबार
14 shares

बुटवल, जेठ २४ । मेट्रो काठमाडौ अस्पतालले आफ्नो सेवा बुटवलबाट पनि सुरु गरेको छ । बुटवल सुख्खानगरस्थित प्याराडाइज हेल्थ केयरको सहकार्यमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टरबाट सेवा सुरु गरेको हो । लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्र तथा स्वास्थ्यको हव बुटवल क्षेत्रका विरामी काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै सेवा सञ्चालनमा ल्याएको हो ।
मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर, बुटवलका मेडिकल अधिकृत डा. किरण आचार्यले अब्बल र दक्ष चिकित्सकबाट उपचार हुने बताए । ‘नेपालमा मधुमेह तथा थाइराइडको उपचार सुरु गर्ने डाक्टरहरुमध्येका प्रमुख एक डा. ज्योति भटटराईको सहकार्य र सल्लाह अनुगमन रहने छ’ डा. आचार्यले भने, ‘यस सेन्टरमा मधुमेह थाइराइडसम्बन्धी समस्या, मोटोपन, कम उचाई, कोलेस्टेरोल, यौन दुर्बलता, महिनावारी गडबडी, निसन्तान वा गर्भ नरहने, पीसीओडी भिटामिन डि को कमी युरिक एसिड, बढनेलगायत अन्य हर्मोनसम्बन्धीको उपचार हुन्छ ।’
सेन्टरमा तीन जना विशेषज्ञ डक्टरले सेवा दिनेछन, वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डा ज्योति भटटराई तीन तीन महिनामा आउनेछन । अर्को प्रख्यात इन्डोक्राइनोलोजिष्ट डा. विनय भटटराई हरेक महिना र लामो समय बुटवलमा रहेर मधुमेह विरामीको सेवा गरेका वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. किरण आचार्य हरेक हप्ता चार दिन बुधबारदेखि शनिबारसम्म उपलब्ध हुनेछन । जटिल र अफ्टयारो रोगका विरामीको उपचार तीनैजना डक्टरको सल्लाहमा हुनेछ । भने, काठमाडौं रिफर गर्नुपर्ने बिरामीको लागि मेट्रो काठमाडौं अस्पतालमा रिफर गरी विशेष सहुलियतमा उपचार गरिने डा. आचार्यको भनाइ छ ।