

अमृत गिरी
बुटवल । नेपाली क्रिकेट टोलीको नयाँ यात्राको निर्णायक मोड आजदेखि सुरु हुँदैछ । विश्वकपको सपनालाई यथार्थमा रूपान्तरण गर्ने अवसर लिएर नेपाल आज ओमानमा सुरु हुने सुपर सिक्स चरणमा बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदानमा उत्रिँदैछ ।
सन् २०१४ को टी–२० विश्वकपपछि पुनः अर्को विश्वकप खेल्ने सपना पूरा गर्न नेपाललाई दशकभर प्रतीक्षा गर्नुप¥यो । यी वर्षहरूमा नेपालको क्रिकेटले उतार–चढाव, निराशा र पुनरुत्थानका अनेक चरण पार गरिसकेको छ । विश्वकपको ढोका नजिक पुग्दा पटक–पटक चुक्ने नेपालको इतिहासलाई यसपालि तोड्ने लक्ष्यका साथ टोली ओमान पुगेको छ र समूह चरणका खेलमा अपराजित नतिजा पनि निकालेको छ । तर, अब अर्को खास चुनौतिपूर्ण यात्रा भने आजदेखि सुरु हुँदैछ ।
आजदेखि वास्तविक परीक्षा
आइसिसी टी–२० विश्वकप एसिया एण्ड इएपी छनोटको समूह चरणमा नेपालले अपराजित रहँदै सुपर सिक्समा प्रवेश गरेको हो । समूह चरणमा नेपालले तुलनात्मक रूपमा कमजोर टोलीहरू–जापान, हङकङ र कुवेतलाई पराजित गरेको थियो । तर अबको चरणमा युएई, ओमान, कतार र सामोआजस्ता बलिया टोलीहरूको सामना गर्नुपर्नेछ ।
सुपर सिक्समा नेपाल, युएई र ओमानले २–२ अंकका साथ सुरुआत गर्दैछन् । बाँकी तीन टोली (कतार, जापान र सामोआ) अंकविहीन छन् । यी अंकले प्रारम्भिक लाभ त दिलाउनेछ तर विश्वकप पुग्न अबका चारै खेलमा सशक्त प्रदर्शन गर्नु अनिवार्य छ । यसपटक छनोटमा ९ टोली सहभागी छन् । समूह चरणबाट तीन टोली बाहिरिइसकेका छन् भने सुपर सिक्समा पुगेका ६ टोलीमध्ये शीर्ष तीनले सन् २०२६ को टी–२० विश्वकप (भारत–श्रीलङ्का) मा स्थान पाउनेछन् ।
अहिलेको अवस्था नेपालको लागि निर्णायक छ । सुपर सिक्समा राम्रो प्रदर्शन गर्न सके नेपालको विश्वकप यात्राको ढोका पुनः खुल्नेछ । नेपालका क्रिकेटप्रेमीहरूका लागि यो सातै दिन विश्वकप यात्राको अन्तिम परीक्षा हुनेछ । नेपालले आफ्नो लय, सामूहिक खेल र आत्मविश्वास कायम राख्न सके यो छनोट केवल एउटा प्रतियोगिता होइन, नेपाली क्रिकेटको नयाँ इतिहास लेख्ने अवसर बन्न सक्छ ।
चुनौतीपूर्ण प्रतिद्वन्द्वीः यूएई र ओमान
सुपर सिक्समा नेपालका लागि सबैभन्दा कठिन चुनौती यूएई र ओमान हुन् । नेपालले अघिल्ला तीनवटै टी–२० अन्तर्राष्ट्रिय खेलमा ओमानमै यूएईसँग हार बेहोरेको छ । सन् २०२२ मा ओमानमा भएको टी–२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । त्यसअघि चार देशीय सिरिजमा पनि नेपाल २५ रनले हारेको थियो ।
त्यसपछि पनि सन् २०२४ को एसीसी प्रिमियर कपमा नेपाल फेरि ६ विकेटले यूएईसँगै पराजित भएको थियो । यसपटक भने परिस्थिति केही फरक छ । कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाल सन्तुलित संयोजनका साथ उत्रिएको छ र हालसालै उत्कृष्ट लयमा रहेकोले जितको आशा उच्च छ । समूह चरणमा गुल्सन झाको प्रदर्शन एकदमै लोभलाग्दो रह्यो ।
कप्तान रोहितले जापानविरुद्धको जितपछि भनेका थिए,‘यूएई यो टुर्नामेन्टको उत्कृष्ट टिममध्ये एक हो । तर हामी विपक्षीभन्दा बढी आफ्नै खेलमा केन्द्रित हुनेछौं । यदि हामीले हाम्रो बेसिक र स्ट्यान्डर्डअनुसार खेल्यौं भने जित्न सक्छौं ।’
ओमानविरुद्ध नेपालको अघिल्लो रेकर्ड भने सन्तोषजनक छ । ओमानमै भएको चार भिडन्तमा नेपालले तीन खेल जितेको छ । तर यसपटक ओमान घरेलु मैदानमा खेल्दैछ, जसले उसलाई स्वाभाविक फाइदा दिलाउनेछ ।
कतार र सामोआः सरप्राइज दिने टोली
कतार र सामोआले पनि समूह चरणमा अप्रत्याशित प्रदर्शन गर्दै सुपर सिक्समा स्थान बनाएका छन् । सामोआले पूर्व–न्यूजिल्यान्ड स्टार रोस टेलरको समावेशी टोलीका रूपमा पपुवा न्युगिनीलाई हराउँदै सबैलाई आश्चर्यमा पारेको थियो । कतारले पनि मलेसिया र कुवेतलाई हराउँदै आफ्नो स्तर प्रमाणित गरेको छ । नेपाल र कतारबिचको अघिल्लो रेकर्ड मिश्रित छ । सन् २०१९ मा नेपाल कतारसँग पराजित भएको थियो तर पछिल्ला दुई वर्षमा नेपालले कतारमाथि जित निकाल्दै आत्मविश्वास बढाएको छ ।
‘सुपर–६’ चरणको खेल तालिका
‘सुपर–६’ चरणको पहिलो खेल आइतबार ओमान र कतारबिच हुनेछ । उक्त खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरू हुनेछ । दोस्रो खेल पनि आइतबार नै नेपाल र यूएईबिच खेलिने छ । उक्त खेल नेपाली समयअनुसार १६ः१५ बजे सुरू हुनेछ । ‘सुपर–६’ चरणको तेस्रो खेल पनि आइतबार नै खेलिने छ । तेस्रो खेलमा जापानले सामोआको सामना गर्नेछ । जापान र सामोआबिचको खेल नेपाली समयअनुसार राति २०ः४५ बजे सुरू हुनेछ ।
यसैगरी, सोमबारको पहिलो खेल ओमान र यूएईबिच खेलिने छ । उक्त खेल १६ः१५ बजे सुरू हुनेछ । सोमबारको दोस्रो खेल नेपाल र कतारबिच खेलिने छ । उक्त खेल नेपाली समयअनुसार राति २०ः४५ बजे सुरू हुनेछ । मंगलबार कुनै खेल राखिएको छैन । त्यसपछि बुधबार (असोज २९ गते) पहिलो खेल जापान र कतारबिच, दोस्रो खेल सामोआ र यूएईबिच तथा तेस्रो खेल नेपाल र ओमानबिच खेलिने छ । नेपाल र ओमानबिचको यो खेल पनि राति २०ः४५ बजे सुरू हुनेछ ।
यसैगरी, असोज ३० गते (बिहीबार) दुई खेल खेलिने छ । बिहीबारको पहिलो खेल जापान र यूएईबिच तथा दोस्रो खेल कतार र सामोआबिच हुनेछ । यसैगरी, असोज ३१ गते (शुक्रबार) पनि दुई खेल हुनेछन् । शुक्रबारको पहिलो खेल ओमान र जापान तथा दोस्रो खेल नेपाल र सामोआबिच खेलिने छ । नेपाल र सामोआबिचको खेल नेपाली समय अनुसार १६ः१५ बजे सुरू हुनेछ ।
नेपाली टोली
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलसन झा र लोकेश बम रहेका छन् । आइसिसी टी–२० विश्वकपको १० औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० राष्ट्रको सहभागिता रहने छ ।
विश्वकपको ढोका नजिक नेपाल
यस छनोटबाट शीर्ष ३ टोलीले २०२६ को टी–२० विश्वकपमा स्थान पाउनेछन् । उक्त विश्वकपमा २० देश सहभागी हुनेछन्, जसमा आयोजक भारत र श्रीलङ्का, गत विश्वकपका शीर्ष ७ टोली (अफगानिस्तान, अस्ट्रेलिया, बाङ्लादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज), वरियताका आधारमा छनोट भएका आयरल्यान्ड, न्यूजिल्यान्ड र पाकिस्तान, साथै क्षेत्रीय छनोटबाट छनोट हुने टोलीहरू (युरोपबाट इटली र नेदरल्यान्ड्स, एसिया–प्यासिफिकबाट ३, अफ्रिकाबाट २ र अमेरिकाबाट १) रहनेछन् । गत वर्ष अमेरिका–वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपालको प्रदर्शन प्रशंसनीय रहँदै पनि सुपर ८ सम्म पुग्न नसकेकोले यसपटक पुनः छनोटमा भाग लिनुपरेको हो ।