दीप बोर्डिङमा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

मेचीकाली संवाददाता

३ जेष्ठ २०८३, आईतवार
20 shares

बुटवल । यस क्षेत्रकै पुरानो तथा अब्बल विद्यालयको पहिचान बनाउन सफल दीप बोर्डिङ हाई स्कुल बुटवलले एसइई–२०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । आइतबारमा एक कार्यक्रमको आयोजना गरी विद्यालयले ४ जीपीएसहित उत्तीर्ण सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको हो । विद्यालयबाट आशिका पाण्डे, बृशिका थापा क्षेत्री, डिम्पी केशरी, साहिल मण्डल, समर्पण के.सी, सोमिन पिया र रिजन पोखरेलले ४ जीपीएसहित १३४ जना शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले विद्यालयले महत्वपूर्ण सफलता प्राप्त गरेको भन्दै एसइईमा प्राप्त जीपीएलाई सहज रुपमा स्वीकार गरी उच्च शिक्षामा संकल्प र मेहेनत गर्न विद्यार्थीलाई सुझाव दिइन् । यहाँका विद्यार्थी ४ जीपीए ल्याएर उत्तीर्ण हुँदा उपमहानगरको समेत गौरवको विषय बताउँदै उनले आगामी दिनमा थप शैक्षिक सफलताको शुभकामना दिइन् । बुटवलले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गरीरहेको उपप्रमुख अर्यालको भनाई थियो ।

बुटवल–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले दीप बोर्डिङले शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै निरन्तर गुणस्तरीय शिक्षा प्रदान गरेकाले हरेक वर्ष उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको बताए । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यालयको नजिताले अभिभावक र विद्यार्थीमा उत्साह थपेको बताए । दीप बोर्डिङले सुरु गरेका असल अभ्यास यहाँका अरु विद्यालयहरुले पनि सिक्न जरुरी रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले सफल विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे । उनले दीप बोर्डिङ हाई स्कुल शैक्षिक गुणस्तरसँगै विद्यार्थीको समग्र विकासमा केन्द्रित रहेको बताए ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यालयको गर्विलो शैक्षिक इतिहासलाई अहिलेको नतिजाले अझै उचाइमा पु¥याएको बताए । शिक्षक, विद्यार्थी र अभिभावकको अथक मिहेनतका कारण विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनको भनाई थियो । विद्यार्थीहरूको सफलता विद्यालय परिवारका लागि गर्वको विषय भएको बताउँदै उनले यसले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे ।

शिक्षा क्षेत्रमा नवीन तथा सिर्जनात्मक अभियान सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीको नेतृत्व विकास र व्यक्तित्व निर्माणमा विशेष जोड दिँदै आएको छ । विद्यार्थीहरुलाई किताबी ज्ञान सँगसँगै रचनात्मक ज्ञान, सीप, संस्कार र संकृतिसहितको शिक्षा प्रदान गर्दै आएको प्राचार्य न्यौपानेले बताए । गत वर्ष कक्षा १२ को बोर्ड परीक्षामा यहाँका विद्यार्थी नेपाल प्रथम र द्वितीय हुन सफल भएका थिए । प्राचार्य न्यौपानेले एसइईसँगै विज्ञान संकायतर्फ शतप्रतिशत तथा अन्य संकायतर्फ पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको दावि गरे ।

कार्यक्रममा होटल सोल्टीका डाइरेक्टर डा.रुपेश श्रेष्ठले विद्यार्थीहरूलाई सिप र संस्कारयुक्त शिक्षा दिदै पढाइ र व्यावहारिक क्रियाकलापप्रति उत्प्रेरित गर्नुपर्ने बताए । विद्यालयका उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, विद्यालयका कक्षा ९–१० संयोजक शिक्षक के.बी खाम्चा लगायतले बोल्दै एसइई उत्र्तीण सम्पूर्ण विद्यार्थीहरुलाई आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरे ।

यस्तैगरी अभिभावक बोनिन पिया, दिपा केशरी, रमेश कुँवरलगायतले बोल्दै दीप बोर्डिङले प्रदान गर्दै आएको शिक्षा, संस्कार र अन्य क्रियाकलापहरुबाट सन्तुष्ट रहेको धारणा राखे । ४ जीपीए ल्याउन सफल विद्यार्थीद्वय आशिका पाण्डे र रिजन पोखरेलले अध्ययनका लागि दीपमा उत्कृष्ट शैक्षिक वातावरण रहेको बताए । कार्यक्रम विद्यालयका शिक्षक पुरुषोत्तम पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो । वि.सं २०३७ सालमा स्थापना भएको यस विद्यालयमा २ हजार ६ सय बढी विद्यार्थी अध्ययनरत रहेको शिक्षक विजय सापकोटाले जानकारी दिए ।