रुपन्देहीमा फेरि ट्यांकरबाट इन्धन चोरी, एकजना पक्राउ

मेचीकाली संवाददाता

४ मंसिर २०८३, बिहीबार
1 shares

बुटवल । रुपन्देहीमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरबाट इन्धन चोरी गर्ने घटना पुनः दोहोरिएको छ । ट्यांकरको मुख्य ताला वा सिल नतोडी नयाँ शैली अपनाएर इन्धन निकालिरहेको अवस्थामा प्रहरीले दुईवटा ट्यांकरसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले मंगलबार साँझ पौने ८ बजे तिलोत्तमा नगरपालिका–७ सुनयनापथस्थित नेपाल पेट्रोलियमको प्रांगणमा छापा मारेर इन्धन चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरीका अनुसार नेपाल आयल निगमका ट्यांकरबाट इन्धन चोरी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सो क्रममा दुईवटा ट्यांकरबाट इन्धन निकालिरहेको अवस्थामा एकजनालाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–७ मंगलापुरका ४६ वर्षीय तिलबहादुर फुलाल रहेका छन् । उनलाई लु २ ख २६५५ र लु २ ख ३९४० नम्बरका ट्यांकरबाट इन्धन निकालिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका फुलाल र दुवै ट्यांकरलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मंगलापुरमा बुझाइएको छ ।

ट्यांकर चालक, सहचालक तथा केही पेट्रोल पम्प सञ्चालकको मिलेमतोमा इन्धन चोरी हुने गरेको आरोप यसअघि पनि लाग्दै आएको थियो । प्रहरीले यसअघि समेत इन्धन चोरीमा संलग्नलाई पक्राउ गरी पम्प तथा ट्यांकरमाथि कारबाही गरेको थियो ।

केही महिनाको अन्तरालमै रुपन्देहीमा इन्धन चोरीका घटना दोहोरिनुले पेट्रोलियम पदार्थको ढुवानी व्यवस्थापन र निगरानी प्रणालीमाथि प्रश्न उठाएको छ । भने पटक–पटक यस्ता घटना सार्वजनिक भइरहँदा चोरी नियन्त्रणका लागि अपनाइएका सुरक्षा उपाय प्रभावकारी हुन नसकेको देखिन्छ ।

ट्यांकरको मुख्य सिल वा ताला नखोली माथिल्लो भागको ढक्कन तथा अन्य प्राविधिक संरचनामा चलखेल गरेर इन्धन निकाल्ने गरिएको आशंका छ । यस्तो अवस्थामा बाहिरबाट हेर्दा ट्यांकरको सिल सुरक्षित देखिए पनि भित्रको इन्धन हिनामिना हुन सक्ने जोखिम रहन्छ । पछिल्लो घटनाले ट्यांकरमा जडान गरिएका सिलको सुरक्षा मात्र नभई इन्धन लोडदेखि गन्तव्यसम्मको ढुवानी प्रक्रियामा प्रभावकारी निगरानी र नियमित जाँच आवश्यक रहेको देखाएको छ ।