वाग्ला माविमा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

मेचीकाली संवाददाता

४ जेष्ठ २०८३, सोमबार
101 shares

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ७ मा रहेको वाग्ला माध्यमिक विद्यालयमा शैक्षिक वर्ष–२०८२ को एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको छ । विद्यालयबाट एसइई परीक्षामा २२ जना विद्यार्थी सहभागि भएकोमा शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट जीपीएसहित उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी तथा सफलताका लागि योगदान पु¥याउने शिक्षकहरूलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले विद्यालयले हासिल गरेको नतिजाले गुणस्तरीय शिक्षाका लागि महँङ्गा संस्थागत विद्यालय नै आवश्यक पर्छ भन्ने भ्रम चिरेको बताए । उनले सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले भने, ‘इच्छाशक्ति, मेहनत र सही शैक्षिक वातावरण भएमा गाउँकै सामुदायिक विद्यालयमा पनि सहरका विद्यालयमा भन्दा उत्कृष्ट शिक्षा सम्भव छ भन्ने उदाहरण वाग्ला माविले प्रस्तुत गरेको छ ।’ अध्यक्ष पोखरेलले यस वर्ष धुर्कोट गाउँपालिकाभित्रका तीन वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याएको जानकारी दिँदै आगामी दिनमा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाले लगानी र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष सीता गिरीले विद्यालय, शिक्षक तथा मेहनती विद्यार्थीहरूको उच्च प्रशंसा गर्दै छोरी र छोरा दुवैलाई समान रूपमा उच्च शिक्षाको अवसर दिन अभिभावकलाई आग्रह गरीन् । उनले सफल विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरीन् । कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष लीला बहादुर खनालले वाग्ला माविले हासिल गरेको ऐतिहासिक नतिजाले समग्र वडाको प्रतिष्ठा बढाएको उल्लेख गर्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासमा वडा कार्यालयको निरन्तर साथ रहने बताए ।

विद्यालयका प्रधानाध्यापक भेषराज खनालले विद्यालयको शैक्षिक अवस्था, वातावरण तथा ऐतिहासिक सफलता हासिल गर्न गरिएका प्रयासबारे जानकारी गराउँदै शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यले नै यो सफलता सम्भव भएको बताए । आगामी दिनमा विद्यालयको शैक्षिक साखलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमप्रसाद पन्थीले विद्यालय शैक्षिक गुणस्तरसँगै विद्यार्थीको समग्र विकासमा केन्द्रित रहेको बताए । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक रुमाकान्त खनालले गरेका थिए ।

धुर्कोट गाउँपालिकामा रहेका ११ वटा माध्यमिक विद्यालय मध्ये एसइईमा ३ वटा विद्यालयले मात्रै शतप्रतिशत नतिजा ल्याएका छन् । वाग्ला माविसँगै सोमरभोमर मावि हाडहाडे र हिमालय मावि वस्तुबाट एसइईमा सहभागि भएका सबै विद्यार्थी उत्तीर्ण भएका हुन् ।