नेपाल–चीन व्यापारको नयाँ केन्द्र बन्दै कोरला

मेचीकाली संवाददाता

२६ भाद्र २०८३, शुक्रबार
5 shares

– रसुवागढी–तातोपानी बन्द हुँदा कोरला नाकामा बढ्यो चहलपहल
–यसअघि दैनिक ५–६ वटा गाडी जाँचपास हुने नाकामा अहिले दैनिक ५० वटा कन्टेनर र ६० वटा इभी गाडीको जाँच पास ।
–यसअघि डेढ महिनामा ५२ करोड राजस्व संकलन भएकोमा अहिले १० दिनमा १ अर्बभन्दा धेरै संकलन ।

अमृत गिरी

बुटवल । रसुवागढी र तातोपानीको उत्तरी नाकाको व्यापारिक चाप अहिले मुस्ताङतिर सरेको छ । समुन्द्री सतहदेखि ४,६५० मिटर उचाइमा रहेको यो नाका कठोर मौसममा अवस्थित छ । अहिले यही नाकाले उत्तरी छिमेकसँगको व्यापारलाई धानिरहेको छ । यहाँबाट कन्टेनर र विद्युतीय गाडीको आयात बढेको छ । कोरोना महामारी कालमा बन्द भएको नाका २०८२ भदौ ३० गतेदेखि पुनः सुरु भएको थियो ।

त्यसबेलामा पनि रसुवा र तातोपानीका नामा बाढीले बन्द भएका थिए । चीनसँग नेपालको स्थलमार्ग व्यापारका दुई प्रमुख ढोका बन्द हुँदा मुस्ताङको हिमाली नाकामा भने अचानक चहलपहल बढेको छ । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाले कोरला नाका मात्रै उत्तरी छिमेकी मुलुकसंगको एकमात्रै व्यापारिक केन्द्रका रुपमा बाँकी रहेको बताए । केही दिनयता ठुला भन्सारसरह अधिक चाप बढिरहेको उनको भनाइ छ ।

अन्य ठुला दुई नाकाबाट हुने सामानको आवतजावत रोकिएपछि व्यापारको चाप क्रमशः कोरलातर्फ सर्न थालेको र भन्सार विभागले सोहीअनुसारको सेवा प्रवाहका लागि जनशक्ति व्यवस्थापन गर्ने काम गरेको निर्देशक बर्तौलाले बताए । नेपाल–चीन सीमास्थित कोरला नाकादेखि केही वर लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालय छ । यहाँ भन्सारका आवश्यक जनशक्ति र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पनि जनशक्ति खटाइएको छ ।

कोरला भन्सार कार्यालयका अनुसार भदौ १५ पछि सामान बोकेका कन्टेनरको संख्या उल्लेख्य रूपमा बढेको छ । पछिल्ला दिनमा दैनिक ५० वटासम्म कन्टेनरको जाँचपास हुन थालेको छ भने त्यत्ति नै संख्यामा इभी गाडीहरुको जाँचपास भइरहेको छ । सामान बोकेका कन्टेनर र विद्युतीय गाडीको आयात एकाएक बढेको र चाप थामिनसक्नु भइरहेको बताउँदै त्यहाँको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदूर चुडालले आफूहरु उच्च मनोबलका साथ अधिकतम सेवा प्रवाह गर्नेगरी काम भइरहेको र चापलाई थेग्नेगरी परिचालन भएको बताए । उनी त्यहाँ गत वैशाखमा भन्सार प्रमुख भएर गएका थिए ।

साउन १ देखि भदौ १० गतेसम्म कोरला भन्सारबाट करिब ५२ करोड रुपैयाँ राजस्व संकलन भएकोमा भदौ १२ देखि भदौ २४ गतेसम्म मात्रै एक अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जबकि गत आव २०८२/८३ मा मुस्ताङ भन्सारले रु.छ अर्ब ९२ करोड राजस्व संकलन गरेको थियो । अहिले त्यसैको हाराहारीमा १०/१२ दिनमै राजस्व संकलन भइसकेको छ । भदौ १० गतेसम्म साउन १ यता १३३ वटा सामान बोकेका कन्टेनर कोरला आएका थिए । त्यसपछिको १५ दिनमै करिब १५० कन्टेनर सामान आयात भएको भन्सारको तथ्यांकमा छ । भदौ १० गतेसम्म १२० वटा विद्युतीय गाडी आयात भएकोमा त्यसपछिको १५ दिनमै थप करिब १५० वटा विद्युतीय गाडी भित्रिएका छन् ।

दैनिक पन्ध्र वटासम्म विद्युतीय सवारी र १० वटा बढी मालवस्तु पैठारी गरिएका कन्टेनर कोरला नाकाबाट भित्रिएको छ । चालू आवको साउनदेखि भदौ १० गतेसम्म १६३ विद्युतीय सवारी र १३३ वटा मालवस्तु बोकेको कन्नेटरको भन्सार जाँचपास गरिएको थियो । बढ्दो चाप व्यवस्थापन गर्न भन्सार विभागले पनि जनशक्ति थपेको छ ।

कोरला नाकाको दीर्घकालीन समाधानका लागि एकीकृत भन्सार, गोदाम, पार्किङ, बैंकिङ, सञ्चार, सुरक्षा, क्वारेन्टाइन, आवास र सडक पूर्वाधार एकैपटक विकास गर्न जररी रहेको मुस्ताङकी अगुवा शर्मिला गुरुङ बताउँछिन् । करिब ४,६५० मिटर उचाइमा रहेको यो नाका कठोर मौसमको सामना गर्छ । त्यसैले बाह्रै महिना व्यापार चलाउने हो भने मौसमअनुकूल पूर्वाधार अपरिहार्य हुन्छ ।
कालीगण्डकी करिडोरलाई सुरक्षित, भरपर्दो र बाह्रै महिना सञ्चालनयोग्य बनाउने हो भने कोरला नाका चीनसँगको व्यापारको अर्को महत्वपूर्ण ढोका बन्न सक्ने नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेलको भनाइ छ । दक्षिणतर्फ सुनौलीसम्मको सडक सञ्जालसँग जोडिँदा यसले नेपाल–चीन–भारतबिचको त्रिदेशीय व्यापारिक सम्भावनालाई समेत बलियो बनाउन सक्ने उल्लेख गर्दै अध्यक्ष पोखरेलले कोरला मार्गलाई दीर्घकालीन रूपमा विकास गर्नुपर्नेतर्फ राज्यको ध्यान जानुपर्ने बताउँछन् ।

कोरोना महामारीपछि २०७६ सालदेखि नाका पूर्ण रूपमा बन्द भएको थियो । चार वर्षपछि २०८० मा स्थानीय बासिन्दाका लागि सीमित आवतजावत पुनः सुरु भएको थियो । गत वर्ष २०८२ भदौ ३० देखि कोरला नाका नियमित अन्तर्राष्ट्रिय व्यापारका लागि सञ्चालनमा आएको थियो । त्यसअघि पनि स्थानीयस्तरमा व्यापार मेला र सीमित सीमापार कारोबार हुँदै आएको थियो ।
कोरला नाकाको सम्भावनासँगै सबैभन्दा ठुलो चुनौती भनेको कनेक्टिभिटी हो । नाकाबाट सामान भित्राएर मात्र व्यापार हुँदैन । ती सामानलाई सुरक्षित रूपमा जोमसोम, बेनी, पोखरा, बुटवल हुँदै देशका विभिन्न बजारसम्म पु¥याउन सक्नुपर्छ ।

कोरलादेखि जोमसोम, बेनी हुँदै मालढुंगा र दक्षिणतर्फ जाने कालीगण्डकी करिडोर त्यसका लागि सबैभन्दा महत्वपूर्ण पूर्वाधार रहेको व्यवसायी गुरुङले बताइन् । भीर, पहिरो, कमजोर सडक, साँघुरा खण्ड र मौसमका कारण यो मार्गमा जोखिम अझै कायमै रहेको उल्लेख गर्दै उनले यस्ता खण्डमा तत्काल सडक सुधारका काम गर्न जरुरी रहेको बताइन् । सडक विभागले समेत कालीगण्डकी करिडोरका विभिन्न संवेदनशील क्षेत्रमा सडकको ढलान तथा अस्थिर भीर नियन्त्रणका काम अघि बढाइरहेको छ ।

मुस्ताङ भन्सारका मालबाहक सवारीलाई वैकल्पिक सडकमार्ग
मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु जाँचपास गर्न अब कोरला नाकादेखि काठमाडौंस्थित चोभार सुख्खा बन्दरगाहसम्म वैकल्पिक सडकमार्ग प्रयोग गर्न सकिने भन्दै भन्सार विभागले सूचना जारी गरेको छ । विभागले मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि ल्याइएका वस्तु चोभार सुख्खा बन्दरगाहमा जाँचपास गराउन चाहने पैठारीकर्ताका लागि भन्सार नियमावली, २०६४मा उल्लेखित सर्त तथा प्रक्रिया पालना गर्ने गरी यस्तो सुविधा दिइने उल्लेख गरेको छ ।

विभागका अनुसार मालवाहक सवारीका लागि कोरला नाका–नेचुङ (भन्सार)–घाँसा–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिन–कुरिनटार–नौबिसे–कलेजी–चोभार सुख्खा बन्दरगाह सडकमार्ग प्रयोग गर्न सकिनेछ । त्यस्तै, गुडाएर लैजाने नयाँ सवारीसाधनका लागि यही मार्गसँगै मुग्लिन–नारायणगढ–हेटौंडा–भैँसे–नौबिसे–कलेजी–चोभार मार्गसमेत प्रयोग गर्न सकिने विभागले जनाएको छ । भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउँदै मालसामान ढुवानीमा देखिने कठिनाइ कम गर्ने उद्देश्यले गरिएको यो निर्णयले मुस्ताङ हुँदै आयात हुने वस्तुको ढुवानीमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।